रोल्पामा जनयुद्धको झल्को

रोल्पामा जनयुद्धको झल्को

रोल्पा : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले रोल्पाको थबाङमा जनयुद्ध दिवस भव्य रूपमा मनाइरहेको छ। विप्लव नेतृत्वको नेकपाको आधारभूमि दाबी गरिने थबाङमा खुला रूपमा नेकपाले २५ औं जनयुद्ध दिवस मनाइरहेको छ ।

फागुन १ गते भव्य समारोहबीच जनयुद्ध दिवस उद्घाटन गरियो। थबाङको ठूलो गाउँको छेउँमा रहेको खुलामञ्चमा हसिया–हथौडा अंकित रातो झण्डा लस्करै फहराइएका छन्। चौरका भित्ताभरी हसिया–हथौडासहितका पोस्टर टाँसिएका छन्। जनयुद्धताका मनाइने दिवस कै झझल्को दिइएको छ। सत्ताधारी नेकपाले भने थबाङमा दिवस मनाएन ।

दिवसको सन्दर्भ पारेर साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरिएको प्रतिबन्धित नेकपाका एक स्थानीय नेताले जानकारी दिए। ‘करिब ४ सय घरको एउटै बस्ती रहेको थबाङ ठूलो गाउँका अधिकांश घरका छानामाथि झण्डा फहराइएको छ’, नेकपाका थबाङी एक नेताले अन्नपुर्ण पोस्टसँग टेलिफोन कुराकानीमा भने, ‘जनयुद्धमा थबाङीले ठूलो योगदान दिए। थुप्रैको बलिदानी दिए। त्यही इतिहासको सम्मान स्वरूप दिवस मनाइँदै छ ।’

नेकपा थबाङ स्थानीय कमिटीको आयोजनामा खेलकुद र साँस्कृतिक प्रतियोगिता भइरहेको छ। पुष्पकमल दाहालको नेतृत्वमा रहेको तत्कालीन विद्रोही नेकपा माओवादीले चलाएको जनयुद्धमा थबाङमा मात्र २३ जनाको ज्यान गएको छ। सत्ताधारी सुरक्षाफौजले दर्जनौं घरमा आगजनी गरेको थियो। विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि जनयुद्ध दिवस मनाउने क्रम घट्दै गए पनि विगतदेखि नै थबाङमा दिवस भव्य रुपममै मनाइने गरिएको छ ।

नेकपाका एक कार्यकर्ताले भने, ‘विगतको भैंm यसपाली पनि दिवस मनाइँदै छ ।’ नेकपाका केन्द्रीय सल्लाहकार पूर्णबहादुर रोका ‘गोरे’ को अध्यक्षतामा दिवसको उद्घाटन गरिएको थियो। युद्धका बेला गोरे इमान्दार थबाङी नेता मानिन्थे। नेकपाकै तत्कालीन केन्द्रीय सदस्य प्रवेश रोकामगर ‘छिरिङ’ कार्यक्रमको प्रमुख अतिथि रहे। दिवसमा अजम्बरी साँस्कृतिक परिवारले प्रगतिशिल साँस्कृतिक प्रस्तुति दिँदै आएको छ ।

राता ब्यानर र झण्डाले सजिएको खुला चौरमा पुरुष र महिला भलिबल प्रतियोगिता चलिरहेको छ। कवडी, ब्याडमिन्टन, घैंटा फोड, दोहोरी गीतलगायतका प्रतियोगिता राखिएको छ। भलिबल प्रतियोगिताका लागि प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५०, ३० र २० हजार नगदसहित प्रमाण पत्रको व्यवस्था गरिएको छ। पुरस्कारको प्रायोजन स्थानीय व्यापारी र शुभचिन्तकले गरेको नेकपाले जनाएको छ ।

नेकपामा रोल्पा जिल्ला इन्चार्ज रहेकै बेला थबाङका नेता जयप्रकाश रोका ‘प्रताप’, हितबहादुर रोका र अमित घर्ती विभिन्न ठाउँबाट पक्राउ परेका थिए। उनीहरू हाल कारागारमा छन्। थबाङका मूल नेतृत्व पक्राउ परे पनि स्थानीय नेता र कार्यकर्ताको सक्रियतामा प्रतिवन्धित अवस्थामै पनि दिवस भव्य रूपमा मनाइँदैछ। यसअघि नेकपालाई झण्डा र ब्यानरसमेत देखाउन नमिल्ने भन्दै आएको सुरक्षा निकायले दिवस मनाउन अवरोध नगरेको नेकपाको एक नेताले बताए ।

पञ्चायतदेखि चर्चामा आईरहने थबाङ युद्धकालभरी माओवादी गढको रूपमा चित्रित भइरह्यो। शान्तिकालको चुनावमा कहिले सतप्रतिशत मतदान गरेर त कहिले शून्य मतदान गरेर अलग्गै पहिचान बनाएको थबाङ बेलाबेलामा चर्चामा आइरहन्छ। २०७४ सालको स्थानीय चुनावताका विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कारको नीति लिए पनि यहाँका नेकपा नेताले कांग्रेससँग प्यानल खडा गरेर चुनावमा भाग लिएका थिए ।

स्वतन्त्रबाट चुनावमा भाग लिएको नेकपा प्यानल वडा–२ मा विजयीसमेत भएका थिए। वडा अध्यक्ष फर्कबहादुर बुढाको निधनपछि सम्पन्न उप–चुनावताका अन्य वडा सदस्यलेसमेत राजिनामा दिएका छन् ।

पक्राउ परेकाले कारागारमै दिवस मनाए

देशका विभिन्न जिल्लाबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेताले रोल्पा कारागारमै २५ औं जनयुद्ध दिवस मनाएका छन्। नेकपाका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठामगर ‘सुवास’सहितका नेताले दिवस मनाएका हुन् ।

उनीहरूले कारागारमै एकआपसमा अविर लगाएर शुभकामना साटासाँट गरे। नेकपाका तत्कालीन जिल्ला इन्चार्ज प्रताप, नेता सन्तोष सुवेदी ‘प्रयास’, पुष्टमान घर्तीसहितका १२ जनाले कारागारमै दिवस मनाएका हुन्। आस्थाका बन्दीका रूपमा कारागारमा रहेको भन्दै उनीहरूले दिवस मनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.