प्रधानमन्त्री ओलीले कहाँबाट देखे सरकार ढाल्ने षड्यन्त्र ?
काठमाडौं : झण्डै ६ महिनापछि गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी ओलीले आइतबार दमक नगरपालिकाले आयोजना गरेको सभालाई सम्वोधन गदैं अर्थपूर्ण दुईटा तर्क अगाडी सारे ।
पहिलो, – नेकपासँग बहुमत भए पनि कतिपय शक्तिहरु अझै फर्कि–फर्की यो सरकारलाई असफल पार्न, ढाल्न र बद्नाम पार्न लागेका छन् । र दो श्रो,–मलाई केही गर्दा रोक्न नसक्नेहरू मेरो मृत्यु पर्खेर बसेका होलान् । मर्न त मर्छु तर अलि पछी, बोलेका र नागरिकमा प्रतिबद्धता गरेका कुरा पुर्याएर मात्रै मर्छु ।’
२०७४ फागुन ३ यता सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले बलियो सरकारको नेतृत्व गरिरहँदा पनि किन गृहजिल्ला पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिए ? अहिले राजनीतिक वृत्तमा चर्चा छ ।
झापाको दमकमा ४८ मिनेट भाषण गरेका ओलीले सरकार ढाल्ने षडयन्त्र भइरहेको मात्र वताए, तर त्यस्तो षडयन्त्रका वारेमा थप संकेत केही गरेनन । संसदमा नेकपा एक्लैको झण्डै दुई तिहाई वहुमत (६३ दशमलव २७ प्रतिशत) रहेको, पार्टीभित्र गत मंसिर ४ मा अध्यक्षद्दय (ओली –प्रचण्ड)को सरकार र पार्टी सञ्चालनका सन्र्दभमा प्रष्ट कार्यविभाजन पछि ५ वर्ष नै सरकार सञ्चालनमा झन सहज वतावरण वनेको र प्रतिपक्ष काग्रेससँग संसदमा अविश्वास प्रस्ताव दर्ता गराउन चाहिने आवश्यक मत (एक चौथाई) समेत नरहेको अवस्थामा प्रधानमन्त्रीले सरकार ढाल्ने षड्यन्त्र काहाँबाट देखे ?
राजनीतिक विश्लेषक कृष्ण पोखरेलको भनाईमा, दुई वर्षसम्म निर्वाध पार्टी र सरकारको कमाण्डमा आफ्नै ‘होल्ड’ कायम राख्न सकेका प्रधानमन्त्री ओलीको चाहनामा पछिल्ला दिनमा उल्झन आउन थालेपछि प्रधानमन्त्रीले मनोवैज्ञानिक संसयको अभिव्यक्ति दिएका हुन् । पोखरेलले अन्नपूर्णसँग भने,– ‘पहिले प्रधानमन्त्रीले फ्रि ह्यान्ड काम गर्न पाउनुभयो । तर आसातित परिणाम उहाँले दिन सक्नुभएन । त्यसले गर्दा मैले राम्रो सँग काम गर्न नसकेको कारणले मप्रति एक किसिमको वितृष्णा छ भन्ने कही न कही उहाँको मनमा संसय देखिन्छ । अर्को काम गर्न उहाँले चाहेको वातावरणमा पनि लिंगरिङ हुन थाल्यो, त्यसले गर्दा उहाँको मनमा भएको मनोवैज्ञानिक संसयले कँही मलाई नै असफल पार्न वा अपदस्थ गर्न खोजिराखिएको त छैन ? भन्ने उहालाई लागेर त्यो अभिव्यक्ति आएको हुन सक्छ ।’
प्रधानमन्त्री ओलीको चाहना विपरित सभामुखमा अग्नि सापकोटा चयन हुनु, एमसीसी सहज अगाडी वढाउन आफुले चाहेको चाहनामा कार्यदल वनेर लिङगरिङ हुनु र पार्टीभित्र इतर समुहमा नेताहरुको वढदो मोर्चाबन्दी हुनुले पनि प्रधानमन्त्री ओलीलाई सशंकित बनाएको हुन सक्ने बुझाइ पोखरेलको छ ।
‘आफुलाई असफल पार्ने काममा पार्टीभित्रकै नेताहरु लागेको हुन सक्ने उहाँलाई लागेको हुन सक्छ । उहाँले सभामुख आफुले चाहेको व्यक्तिलाई बनाउन चाहानुभयो, खुलेर बोल्नुभयो, त्यो भएन, एमसीसीमा पार्टी केन्द्रले एउटा निर्णय लियो, उहाँको चाहना अर्को थियो, कार्यदललाई नै बेकारसम्म भन्नुभयो, त्यसैले कतै आफुविरुद्ध खेल भइरहेको त छैन भन्ने उहाँलाई परेको हुनसक्छ’ पोखरेल भन्छन् ।
संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर त्यो आफुसँग बहुमत नपुगेको अवस्थामा मात्र सोही धाराको उपधारा ४ मा प्रतिनिधीसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरुमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्री माथी सदनको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव पेश गरेको खण्डमा मात्र उनले विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न नपाइने व्यवस्था पनि संविधानमै छ । तर अविश्वास प्रस्ताव कसैले राखेमा संविधानको धारा १०० को उपधारा ५ मा त्यस्तो प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनु पर्ने पनि व्यवस्था छ ।
प्रतिपक्ष काग्रेससाग संसदमा जम्मा ६३ सांसद छन् । त्यसमा पनि विजय गच्छेदार र अफताव आलाम दुईजना निलम्वित अवस्थाका छन् । कुल ६३ मा पनि सवै गर्दा काग्रेससाग अविश्वास प्रस्ताव दर्ता गराउन एक चौथाइ सदस्य संसदमा पुग्दैन । उसको जम्माजम्मी २२ दशमलव ९० प्रतिशत मात्र सदस्य हुन्छ ।
त्यसमाथि अविश्वास प्रस्ताव दर्ता गर्नेले प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम पनि उल्लेख गरेर अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने कानुनी व्यवस्थाका कारण पनि प्रतिपक्षका कारण प्रधानमन्त्रीलाई अहिले कुनै डर छैन ।
अविश्वास प्रस्ताव दर्ता उसले गराउनै चाहे पनि संसदका अन्य साना दलहरुको पनि साथ लिनुपर्ने हुन्छ । तर त्यसो गर्दा पनि नेकपा एक्लैको झण्डै दुई तिहाइ मत रहेको अवस्थामा नेकपाभित्र चलखेल नगरिकन अविश्वास प्रस्ताव पारित गराउन सक्ने हैसियत अन्य संसदमा रहेका राजनीतिक दलहरुसँग छैन । यस्तो बेला प्रधानमन्त्रीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको भनी किन बोले भन्ने रहस्यको विषय छ । त्यो उनले आफ्नै पार्टी नेतामाथी सांकेत गर्दै दिएको अभिव्यक्तिका रुपमा राजनीतिक विश्लेषकहरुले लिएका छन् ।
‘उहाँ (प्रधानमन्त्री)ले आफैँले पार्टीका नेताहरुलाई प्रभावित पार्न पनि खोजनुभयो, सँगै सारंगी र बाँसुरी पनि बजाउनु भयो, त्यसबाट उहाँले खोजेको जस्तो कुरा नपाउनु भएको हुनसक्छ । दुई वर्षसम्म आफ्नै इच्छा अनुसार चलाउन पाउनुभयो । पार्टीलाई समेत मतलव नै नराखी उहाँले चलाउनु भयो,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्,–‘पार्टी र सरकारका दुवै नाऊमा खुट्टा हालेर न यता पर्फमेन्स दिन सक्नुभयो, न पार्टी एकीकरण का सम्पूर्ण काममा ब्रेक थ्रु गर्न सक्नुभयो । अहिले उहाँको इच्छा अनुसार पार्टी चलेको देखिएन । त्यो कुरालाई लिएर उहाँलाई लागेको हुनसक्छ ।’
नेकपाभित्र अहिले नयाँ समिकरण देखिएको छ । खासगरी गत पुस २३ को उपाध्यक्ष वामदेव निवासमा भएको वहुमत सचिवालय सदस्यको प्यानल जमघटपछि प्रधानमन्त्री ओली ‘किनारा’मा देखिएका छन् । सचिवालयमा उनी अल्पमतमा देखिन्छन, स्थायी समितिमा पनि उनको त्यस्तै अवस्था छ । केन्द्रीय समितिमा झन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल मिल्दा सहज अल्पमतमा छन् ।
यो अवस्थामा उनले भेसेपाटी गठबन्धन भत्काउन अनेक प्रयास नगरेका पनि होइनन् । असन्तुष्ट नेतालाई फकाउन पनि ओलीले केही गृहकार्य गरेका छन् । उनले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरुसँग एक्ला–एक्लै लामो छलफल समेत गरेका थिए । आफु निकट नेताहरुको छलफल समेत राखेर उनले पार्टीभित्र देखा पर्न थालेको समिकरणका बारेमा समिक्षा गर्न लगाएका थिए । तर पनि पार्टीभित्र दाहाल र नेपालका बीच बढ्दो हिमचिम तोड्न उनी सफल हुन सकिरहेका छैनन् ।
यसले पनि ओलीलाई झस्काएको हुनसक्ने विश्लेषण नेकपाभित्र हुन थालेको छ । सोमबार मात्र पनि दाहाल र नेपालले वानेश्वरस्थित होटल अर्यालमा झण्डै एक घण्टा छलफल गरेका थिए ।
नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेल भने प्रधानमन्त्रीले कुन सन्दर्भमा त्यस्तो अभिव्यक्ति दिए भन्ने बारे बुझ्न नसकिएको बताउँछन् । ‘उहाँले किन त्यस्तो बोल्नुभयो, अहिले के अवस्था आइलाग्यो वा कुन सन्दर्भमा त्यसरी बोल्नुभयो, यस बारेमा थाहा पाउन सकिएको छैन,’ गजुरेलले अन्नपूर्णसँग भने,–‘प्रधानमन्त्रीले किन त्यसरी बोल्नुभयो, उहाँले नै प्रष्ट संकेत नगर्दासम्म कसरी थप बोल्न सकिएला र ? ’
अर्का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले पनि यस बारेमा पार्टीमा कुनै छलफल नभएको र थाहा हुन नसकेको सामान्य प्रतिक्रिया मात्र दिए ।