बिजुलीका तार भूमिगत

बिजुलीका तार भूमिगत

काठमाडौं : काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने काम सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार महाराजगञ्जबाट तार भूमिगत गर्ने कार्य सुरु गरेका हुन्। विद्युतीय तार भूमिगत गरिने कामको सुरुवातलाई प्रधानमन्त्री ओलीले विकासकै एउटा नमुना भएको बताए। ‘पोलमा गुजुल्टिएका तारले सहरको सुन्दरता ह्रास गरेको छ। भूमिगत तारले सहरको सुन्दरता बढाउनेछ’, ओलीले भने, ‘बिजुलीको आपूर्ति पनि नियमित हुन्छ।’ तार खुला हुँदा पानी पर्दा, हावाहुरी चल्दा पनि विद्युत् प्रसारणमा अनियमित हुने गरेको थियो। तार भूमिगत गर्दा यस्ता समस्या भोग्नु पर्दैन। अत्याधुनिक मेसिनबाट ड्रिल गरेर तार भूमिगत गरिने भएकाले सर्वसाधारणले धुलोका कारणबाट हैरानी खेप्नुनपर्ने उनको दाबी छ। सरकार विद्युत् आपूर्ति र उपयोग बढाउने योजनामा छ।

मुलुकमा उपयोग हुन नसकेको विद्युत् निर्यात पनि गर्नुपर्छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट राष्ट्रिय प्रसारण लाइन बनाएर विदेशमा विद्युत् निर्यात गरिनेछ। उनले जनताको क्रय शक्ति बढाउन पूर्वाधार विकास र कृषिको आधूकिरण गर्नुपर्नेमा जोड दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विगतमा नेपालमा उज्यालो नै ठूलो रहेको उनको भनाइ छ। उनले भने, ‘अहिले सरकार विश्वासिलो र भरपर्दो उज्यालो अभियानमा लागेको छ। ४० जिल्ला पूर्णविद्युतीकरण भइसकेको छ।’ यो वर्ष थप १००० मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनको दाबी छ।

नेपाल विद्युत् प्राधिकरणले उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदुढीकरण र स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा सुरुवात गरेको हो। यी दुई क्षेत्रका लागि २०१९ मार्चमा केईआई इन्डस्ट्रिजसँग २०२१ अक्टोबरमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। एसियाली विकास बैंकको सहुलीयत पूर्णऋण र सरकार तथा विद्युत् प्राधिकरणको लगानीमा आयोजना सञ्चालन गरिएको हो।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्र बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधार, धर्मस्थली, टिचिङ हस्पिटललगायत स्थानको २ सय ५० किमि र ११०० भोल्टेजको भूमिगत तार बिछ्याइनेछ। करिब ४०० किमिमा ४०० भोल्टेजको भूमिगत लाइन निर्माण गरिने र २५० किमि अप्टिकल फाइबर बिछ्याइनेछ।

यस्तै रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्र रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड, अनामनगर, जलम, लैनचोर, ठमेल, सोह्खुट्टे, नयाँ बजार, खुसिबु, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, नक्साल, लाजिम्पाट, गौशाला, एयरपोर्ट, चाबहिल, बौद्ध, जोरपाटीलगायत स्थानको २ सय किमि र ११ सय भोल्टेजको भूमिगत तार बिछ्याइनेछ। करिब ४ सय किमिमा ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने र २ सय किमि अप्टिकल फाइबर बिछ्याइनेछ।

दोस्रो चरणमा काठमाडौंका अन्य क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने बोलपत्र आह्वान गरी मूल्यांकनका क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ। यसका लागि एडीबीले ऋण दिने प्रतिबद्धता जनाएको छ। कास्कीको पोखरा महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा पनि विद्युतीय तार भूमिगत गर्न अध्ययन भइरहेको छ।

हाल प्रयोगमा आइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको दाबी छ। ‘तारको जालोबाट सहर मुक्त हुनेछ। हावाहुरी, पानी, चट्याङलगातय कारणले प्रसारणमा अवरोध हुँदैन’, घिसिङले भने, ‘भूमिगत प्रविधिको विद्युतीय सेवा दिगो र भरपर्दो हुनेछ।’ परम्परागत प्रणालीभन्दा सुरक्षित हुने भएकाले विद्युतीय लाइनबाट हुने जनधनको क्षति पनि न्युनीकरण हुने उनको विश्वास छ। तार भूमिगत गर्दा सडकमा न्यूनतम क्षति हुने गरी होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ प्रविधि प्रयोग गरिनेछ। भूमिगत गर्दा क्षति पुगेको बढीमा १० दिन भित्रमा पुनस्र्थापना गरिने प्राधिकरणले जानकारी दिएको छ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकले पनि सुविधा उपयोग गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.