१० वर्षपछि नवराज घोरासैनीको 'कमब्याक'
काठमाडौं : चर्चित लोकगायक नवराज घोरासैनीले करिब १० वर्षपछि आफूलाई ‘कमब्याक’ गरेका छन्। गायक घोरासैनीले ‘मिरमिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएका हुन्। आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिरमिर कपालैमा’ ल्याए।
‘मिरमिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन्। गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताए। 'लामो समयको अन्तरालपछि ‘मिरमिर कपालैमा’ ल्याएर आएको छु', उनले भने, ‘गीत सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।'
यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो...’ बोलको गीत ल्याएका थिए। त्यसबेला यो गीत लोकप्रिय भएको थियो। उनले थुप्रै गीतहरूमा स्वर पनि दिए तर उनको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन। उनले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिरमिर कपालैमा’ गीत ल्याएका छन्। काँठे भाकाको ‘मिरमिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरे।
गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन्। एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ।