दुर्गममा ११ देशका १५ मूर्तिकार
बागलुङ : जिल्लाको दुर्गम गाउँ गल्कोटको हरिचौर टेउवा। ३,११० मिटर उचाइमा रहेको पर्यटकीय लेक घुम्टेको ठीक तलको गाउँ। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ५५ किलोमिटरको दूरी। गल्कोट नगरपालिकाबाटै आधा घण्टा उकालो सवारीसाधनको यात्रामा टेउवा पुगिन्छ।
विदेशी रेमिट्यान्स मोहका कारण उदास बन्दै गरेको यही दुर्गम गाउँमा यतिबेला छुट्टै रौनक र उत्साहसहित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ। दुई वर्षअघिदेखि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर व्यापक तयारीपश्चात् आयोजित कार्यशालाको उद्घाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री हेलिकप्टरमार्फत कार्यक्रमस्थल पुगे। ‘यस्तो अनकन्टार बस्तीमा यति बृहत्तर सोचको कार्यक्रम र योजना सुन्दा झट्ट विश्वास लागेको थिएन’, कार्यशालाको उद्घाटन पछि मुख्यमन्त्री गुरुङले भने, ‘यहाँ आउँदा अग्लो पहाडको फेदमा सुन्दर मनोरम दृश्य हेर्दै कलाकृति बनाउने कार्य प्रशंसनीय छ।’ उनले लमजुङको घलेगाउँ जस्तो दुर्गम टेउवा गाउँ पर्यटकीय हब बन्न सक्ने सम्भावना रहेको समेत बताए।
गल्कोट नगरपालिका–५ टेउवामा १५ दिनसम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन्। मूर्तिकारले १५ दिनको अवधिमा १७ वटा आकर्षक मूर्ति बनाउनेछन्। कार्यशालामा बनाइने मूर्ति सोही स्थानमा अन्तर्राष्ट्रिय स्तरको खुला मूर्तिकला संग्रहालय तथा अनुसन्धान केन्द्र बनाएर राखिेनछ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्। यस्तै जुनीचिरो सुगिमोतो (जापान), ल्यु यांग (चीन), बिटिनो फ्रान्सेनी (इटली), जिवियर गोन्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युडमाइला माइस्को कार्यशालामा सहभागी छन्।
ऐतिहासिक महत्त्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र पर्यटक तथा कला पारखी आकर्षित गर्ने महत्त्वाकांक्षी लक्ष्यसहित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको गलकोट कला प्रतिष्ठान बागलुङका अध्यक्ष पूर्णबहादुर रानाले बताए। गलकोटमै जन्मिएका मूर्तिकार ओम खत्रीको सोचमा प्रतिष्ठानले योजनाबद्ध काम थालेको उनले बताए। अध्यक्ष रानाका अनुसार, उनीहरूले ढुंगा कुँदेर बनाउने मूर्ति मानव सभ्यता, भेषभूषालगायत हुनेछन्।
कार्यशाला स्थलमा तारबार, सडक, खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोज स्थल, शौचालयलगायतका संरचना तयार भइसकेको छ। मूर्ति बनाउन योग्य दुई टनभन्दा ठूला ३० वटा ढुंगा संकलन गरिएको छ। डीपीआरसहित तयारीका लागि हालसम्म एक करोड खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ।
‘यो हाम्रो बृहत्तर योजना हो, अहिलेको कार्यशाला शुभारम्भ हो’, गल्कोटका सामाजिक अगुवा तथा प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीषले भने, ‘तीन लाख रुपैयाँमा डीपीआर तयार गरेर १२ करोडको लागतमा योजनाबद्ध काम गर्ने सोच छ।’ पर्यटकीय सहर पोखरा र नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने र गल्कोटमा मूर्तिकलालाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न खोजिएको उनले बताए।
कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ संकलनको काम दुई वर्षअघि देखि सुरु गरिएको थियो। कार्यशालाका लागि गत आर्थिक वर्षमा संघीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट छुट्टिएको थियो।
कार्यशालास्थल निर्माणका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क प्रतिष्ठानलाई उपलब्ध गराएका छन्। कार्यशालाको डीपीआरका लागि गल्कोट नगरपालिकाले तीन लाख रुपैयाँ छुट्ट्याएको थियो। उक्त बजेटबाट डीपीआर बनाइएको छ। यो कार्यशाला सम्पन्न गर्न थप एक करोड ४१ लाख बजेट लाग्ने आयोजकको अनुमान छ।
आयोजक गलकोट कला प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी दुई सय पाँचजना मूर्तिकारले आवेदन दिएकोमा ११ देशका १५ मूर्तिकार छानिएका थिए। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयवल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकार छनोट गरेको थियो।