चीनमा अनलाइन शिक्षा शुरु
पइचिङ : चीनले सोमबारदेखि प्राथमिक र माध्यमिक विद्यालयको अनलाइन शिक्षा आरम्भ गरेको छ । कोरोना भाइरस (कोभिड २०१९) ले आक्रान्त भएकाले चीनले अनलाइनमार्फत शिक्षा चलाउन थालेको हो ।
कोभिडबाट जनतालाई सुरक्षित राख्न चीनले विभिन्न उपाय अपनाइरहेको छ । महामारी नियन्त्रणका लागि चिनियाँहरू घरबाट बाहिर गएका छैनन् । सरकारले सकेसम्म बाहिर नजान र अनावश्यक भीड नगर्न आह्वान गर्दैआएको छ ।
महामारीले गर्दा नयाँ सत्र आरम्भको कुनै निश्चित मिति बिना स्थगित गरिएको छ । सोमबारबाट आधिकारिक शैक्षिक वेबसाइटमार्फत १८० मिलियन विद्यार्थीले अनलाइन पाठ्यक्रम शुरु गरेका छन् । योसँगै चीनले घरमै रहेर अध्ययन गर्ने परिपाटीको थालनी गरेको छ ।
पइचिङको पइचिङ नेशनल डे स्कूलमा कक्षा आठमा अध्ययनरत नेपाली विद्यार्थी आर्यका श्रेष्ठले पनि पहिलोपटक अनलाइन कक्षा लिएकी छिन् । साबिकको समय आठ बजेको समयमा कक्षा आरम्भ भएको थियो । विद्यालयको आफ्नै एप्समार्फत शिक्षक र विद्यार्थीले अन्तरसंवाद गरेका छन् । ‘आफूले नबुझेको कक्षामा जस्तै सोधेँ तर दिएको कार्य गरिसकेपछि भने फोटो खिचेर पठाएँ’, उनले आफ्नो अनुभव सुनाइन् । खेलकुद बाहेक सबै पढ्ने विषयको कक्षा भएको उनले बताइन् । बिहान आठदेखि दिउँसो साढे तीनसम्म अनलाइन कक्षा चलेको थियो । दैनिक पाँच विषयको कक्षा र हरेक कक्षाको समय पचास मिनेट र दश मिनेटको ब्रेक रहने बताइएको छ । चीनमा एक वर्षमा दुई सत्रको पढाइ हुन्छ । बिदापछि नयाँ वसन्त सत्रमा स्कुल जान नपाएको र साथी भेट्न नपाएकोमा केही खिन्न भए पनि सुरक्षाका लागि एकदम राम्रो भएको उनी बताउँछिन् । ‘यो महामारी पूर्ण रूपमा ठीक नहुन्जेल घरमै बस्नु उपयुक्त हुन्छ । यसरी पनि कक्षामा बसे सरी पढ्न मिलेको छ । पढाइ पनि बिग्रेन र आफ्नो पनि सुरक्षा भयो । अहिलेलाई यो उचित छ’, उनले भनिन् ।
चीन सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका कारण अनावश्यक रूपमा बाहिर नजान आह्वान गर्दैआएको छ । यो रोगबाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ भने १७ सयभन्दा बढीको मुत्यु र १० हजारभन्दा बढीको सफल उपचार भइसकेको छ ।
त्यसै गरी सफान फूस्याउमा दुई कक्षामा अध्ययनरत विद्यार्थी तितीले भिडियो च्याटमार्फत शिक्षकको आदेश पालना गरे । उनले स्कूले पोशाक लगाएर राष्ट्रियगानसँगै झण्डोत्तोलन कार्यक्रममा भिडियोमार्फत सहभागिता पनि जनाए । उनको अनलाइन भिडियो कक्षा आधा घण्टाको भए पनि उनले दिनभर विभिन्न विषयको गृहकार्यसँगै शारीरिक व्यायाम तथा चित्र बनाउने जस्ता काम गरे । तितीका पिताले सबै गृहकार्यका तस्वीर खिचेर शिक्षकलाई पठाएका थिए ।
पछिल्लो समय चीनले नवीन प्रविधिको विकासमा पनि सफलता हासिल गर्दैआएको छ । महामारीको सामना गरिरहेको चीनलाई चुनौतीसँगै प्रविधिमा फड्को मार्ने अवसर मिलेको छ ।