खरिपाटी लाइभ : भाइरसभन्दा भ्रमले भय !
चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना नेपालीले भक्तपुरको खरिपाटी टेकेको दुई घण्टा पनि बितेको थिएन।
आइतबार बिहान ७:४५ बजे नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र आसपास प्रहरी टोली तैनाथ थियो।
खरिपाटीका केही स्थानीय बासिन्दाका घरमा ताल्चा लागेका थिए। कोही भने झ्यालबाट चिहाइरहेका थिए।
त्यस दिन स्थानीय भागरती चन्द, ७०, लाई निन्द्राले सबेरै छोडेको थियो। बिहान उठेपछि टेलिभिजन हेर्ने उनको बानी छ। त्यस दिन पनि उनले टेलिभिजन खोलिन्। टेलिभिजनमा ‘चीनबाट आएका नेपालीलाई खरिपाटीतिर लगिँदै’ भन्ने समाचार आयो। त्यसको केही क्षणमै बाहिर हल्लीखल्ली सुरु भयो। गाडी र मानिसहरूको चर्काे आवाज सुनिन थाल्यो। तर, भागरतीले बाहिर निस्किएर त्यो दृश्य हेर्ने आँट गरिनन्। ‘हावाबाट रोग सर्छ भनेको सुनेर झ्यालढोका सबै थुनेर भित्रै समाचार हेरेर बसेँ,’ उनले ‘अन्नपूर्ण सम्पूर्ण’सँग भनिन्, ‘अब यो १४ दिनसम्म हाामीसँग डराएर बस्नुबाहेक अर्को उपाय छैन।’
उनी नातिनी साहारिकालाई स्कुल पठाउने तयारीमा थिइन्। कहिल्यै मास्क लगाएर नपठाउने नातिनीलाई उनले त्यस दिन मास्क लगाइदिइन्। ‘हिजो भर्खरै बजारबाट किनेर ल्याइदिएको,’ उनले भनिन्, ‘हामी डाँडापारिको घाम भइसकेकालाई जेसुकै भए पनि यी केटाकेटीलाई चाहिँ केही नहोस्।’
भक्तपुर, सूर्यविनायकको महेन्द्र विद्या आश्रममा चार कक्षामा पढ्ने उनकी नातिनी स्कुल जान तयार भइन्। सधैँ विद्युत् प्राधिकरणको गेटअगाडिबाट गाडी चढ्ने उनी त्यो दिन प्राधिकरणको गेटमा अडिइनन्। गेटलाई उछिनेर दौडिँदै केही मिटर अगाडि गएर टक्क रोकिइन्। उनीसँगै अन्य स्कुलका बालबालिका पनि उनीहरूका अभिभावकसँग आए। उनीहरू सबैले मास्क लगाएका थिए। मास्क नलगाउने केही अभिभावकले नाक थुन्दै दौडादौडी गरेर आफ्ना छोराछोरीलाई स्कुल बस चढाएर हतार–हतार घरतिर फर्किए।
गाडी चढ्ने बेला हात हल्लाउँदै भागरतीले नातिनीलाई भनिन्, ‘स्कुलमा पनि मास्क नखोल्नू है, नानी !’
नातिनी स्कुल गएपछि भागरतीले लामो निःश्वास छोड्दै भनिन्– ‘हुने हार दैव नटार भन्छन्। अब जे होला–होला।’
०००
प्राधिकरणको गेटनजिकै ७० वर्षीया कृष्णमाया थापामगर चियापसल चलाएर बसेकी छिन्। उनलाई नातिले पसलमा सघाउँछन्। ‘वरपरका सबै कोही घर छाडेर गए, कोही पसल,’ उनले भनिन्, ‘हामी त जे–जे पर्छ, टर्छ भनेर बसेका छौँ।’
चियापसलको ठीक अगाडि रहेको बन्द मासु पसल देखाउँदै कृष्णमायाले भनिन्, ‘यो पसल दशैँको टीकाको दिन पनि बन्द हुँदैनथ्यो। मासुपसले बरु टीका लगाउन पाइएन भनेर थकथक गरेर बस्थ्यो, तर पसल बन्द गर्दैनथ्यो। चीनबाट मानिस ल्याउने भनेपछि पसलमा ताल्चा मारेर हिँड्यो। तीन वर्षमा एक दिन पनि पसल बन्द गरेको थिएन। न बिदा भन्थ्यो, न शनिबार, न चाडबाड। भाइरसको डरले सुइँकुच्चा ठोक्यो।’
कृष्णमायाका छोरा–बुहारी काठमाडौँमा बस्छन्। उनीहरूले उनलाई १४ दिन आफ्नोमा आएर बस्नू भनेका पनि थिए। तर, उनले मानिनन्। ‘हुने कुरा जहाँ गए पनि हुन्छ,’ उनले भनिन्, ‘‘नआउने भए मास्क चाहिँ लगाएर बस्नू है भनेका थिए। मैले मास्क सास्क पनि केही लगाइनँ। दिनरात मास्क लगाएर बसेर के साध्य !’
खरिपाटीमा कोरोना आतंक
स्थानीय बासिन्दा कल्पना रिमाल, ३०, का श्रीमान् शिक्षक हुन्। काम विशेषले उनी दोलखा गएको हप्तादिन भयो। कल्पना १४ महिने छोरी र १० वर्षका छोरालाई च्यापेर एक महिनाका लागि माइती जाने तयारीमा थिइन्। ‘डर लागिरहेको छ,’ कल्पनाले ढोकामा ताल्चा लगाउँदै भनिन्, ‘यिनीहरूको बाबाले यहाँ बस्दै नबस् भनेपछि जान लागेका हौँ। बच्चालाई झन् छिटो रोग सर्छ भन्ने सुनेका छौँ। अब यिनीहरूलाई यहाँबाट हटाएपछि मात्र आउँछौं।’
स्थानीय शारदा सापकोटा, ५०, ले उनलाई सम्झाइन्। ‘भए सबैलाई हुन्छ, नभए कसैलाई हुँदैन, नजाऊ,’ कल्पनालाई सम्झाउँदै उनले भनिन्। तर, कल्पना मानिनन् । छोरीलाई काखी च्यापेर छोरालाई हातमा डोर्याउँदै उनी माइतीतिर लागिन्।
उनी त्यहाँबाट निस्किएपछि शारदाले भनिन्, ‘मास्टरले नै त्यसो भनेपछि कसको के लाग्छ ? मास्टरकी श्रीमती रोग सर्छ भनेर हिँडिन्। अरूको त के कुरा भयो र ?’
क्वारेन्टाइनमा राखिएका सबै जना राम्रोसँग घर फिरून् भन्ने चाहाना छ, शारदाको। ‘उनीहरूका पनि आमाबाउ चिन्तामा होलान्,’ उनले भनिन्, ‘उनीहरू सबैलाई राम्रो होस्। आफ्ना जहानपरिवारसँग भेट्न पाऊन्। त्यहाँ भित्र भएका पनि हाम्रै छोराछोरी हुन्।’
शारदाको घरनजिकै एउटा किरानापसल छ। पसलकी साहुनी हुन्, लक्ष्मी खत्री। सधैँ बिहानै आँखा मिच्दै पसल खोल्ने उनले त्यस दिन ९ बजिसक्दा पनि पसल खोलेकी थिइनन्। पसलको एउटा झ्याल भने खोलिएको थियो।
उनी केही दिन चिनेजानेकालाई मात्र सामान बेच्ने सोचमा छिन्। तालिम केन्द्र भित्र छिरेर आउने कसैलाई पनि पसलमा आउन नदिने उनले बताइन्। ‘रोग सर्यो भने को जिम्मेवार ?’ उनले भनिन्, ‘अब १४ दिन नचिनेका मान्छेलाई मेरो पसलमा पाइला हाल्नै दिन्नँ।’
सरकारले स्थानीय बासिन्दालाई मास्क दिनुपर्ने उनको माग छ। ‘भित्र बस्नेलाई मात्र सुरक्षाको व्यवस्था गरेर हुन्छ ?’ उनले प्रश्न गरिन्, ‘हामी बाहिर बस्नेलाई पनि मास्क दिनुपर्छ। कसैलाई केही लक्षण देखियो भने सरकारले उपचार गर्ने व्यवस्था पनि मिलाउनुपर्छ।’
क्वारेन्टाइनमा कसैलाई केही भए पनि स्थानीय डराउलान् भनेर सरकारले कसैलाई केही नभन्ने हो कि भन्ने डर पनि छ उनलाई। ‘भित्र कसैलाई जान दिएको छैन,’ उनले भनिन्, ‘भित्र कसैलाई भाइरस भयो तर हामी डराउँछाँै भनेर भनेनन् भने त हामी बर्बाद हुन्छाँै।’
लक्ष्मीलाई सरकारमाथि कुनै भरोसा छैन। ‘चीनजस्तो देशको त त्यो ताल छ,’ उनले भनिन्, ‘त्यहाँको सरकारले त यो रोगलाई रोक्न सकेन, हाम्रो सरकारले झन् के नै गर्ला र ? अब त भगवान् भरोसा !’
स्थानीय राजन मगर पनि त्रासमा छन्। ‘के रोग हो, कस्तो रोग हो, डर लागिरहेको छ,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘मान्छेहरू भटाभट मरिरहेका छन् भन्ने सुनिन्छ। समाचार त्यस्तै आइरहेका छन्। हाम्रा बच्चा छन्। एकैठाउँमा बसिराख्दैनन्, गोठालो लागेर साध्य हुँदैन, हिँडिरहन्छन्, डुलिरहन्छन्। उनीहरूलाई केही भयो भने हामी कहाँ जाने, के गर्ने ?’
खरिपाटीका केही घरमा ताल्चा मारिएका छन्। कोही भने केही समयका लागि बसाइ सर्ने तयारीमा छन्। ‘कोही माइती गए, कोही ससुराली,’ राजनले भने, ‘कोही चाहिँ केही दिनको लागि भनेर डेरामा बस्न गए। ज्यानको माया हामीलाई पनि नभएको होइन। तर, के गर्नु, जाने ठाउँ कहीँ छैन। केही भयो भने सरकारलाई हामीले हेर्नुपर्छ।’
अर्का खरिपाटीवासी राम केसीले बाहिर जिल्लामा घर भएकाहरू आ–आफ्ना घर गए पनि आफूहरू ‘लोकल’ भएकाले कतै जान नसकेको गुनासो गरे। ‘बाहिर घर भएकाहरू भटाभट गए, हाम्रो जाने ठाउँ कतै छैन,’ उनले भने।
हेम बस्नेत भारतमा रोजगारी गर्छन्। उनी नेपाल आएको एक महिना भयो। हप्तादिनपछि फर्कंदै छन्। उनका दुई छोरा, एक छोरी छन्। ‘यस्तो बेला परिवारलाई छोडेर जान मन छैन,’ उनले भने, ‘नछाडेर पनि के गर्नु ? यसपालि आधा मन गरेर फर्किंदै छु। हुने कुरा भइहाल्छ। तर, असाध्यै चिन्ता लागेको छ।’
रामेछाप घर भएका हेमलाई छोराछोरी च्यापेर गाउँतिर जाऊँ कि भन्ने पनि लागेको थियो। तर, छोराछोरीको पढाइ सम्झिएर उनी रोकिए। ‘छोराछोरीको पढाइ नभएको भए हामी उहिल्यै यो ठाउँ छाडेर हिँडिसक्थ्यौँ।’
उता, राधिका डिसीको पनि आफ्नै गुनासो छ। ‘खरिपाटीबाट आएको भनेपछि बाहिरका मानिसले हामीलाई रोग लाग्ला भनेर टाढै राख्न खोज्लान्,’ उनले भनिन्, ‘हामी र हाम्रा छोराछोरीलाई पनि रोगीको जस्तै व्यवहार गर्लान्। यस्तो सहेर कसरी बाँच्ने ?
डाक्टर भन्छन्– ‘डराउनुपर्दैन’
काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग केन्द्रमा इरुशा अधिकारी, दिनु राउत, रमेश डंगोल र श्रीदेशना अधिकारी लगायतको टिम अस्पतालमा इन्टर्न गर्न आएको छ। उनीहरूले अझै एक हप्ता अस्पतालमा काम गर्नेछन्। सुरुमा आउँदा उनीहरूलाई पनि डर नलागेको होइन। तर, अस्पतालले राम्रोसँग काउन्सिलिङ गरेपछि उनीहरू काम गर्न तयार भएका छन्।
तैपनि, उनीहरूको परिवार भने छोराछोरीको विषयलाई लिएर चिन्तित छ। ‘घरमा एकदमै चिन्ता गरेर बसिरहनुभएको छ,’ इरुशाले भनिन्, ‘उहाँहरूलाई सम्झाएर हामी यहाँ आएका छौँ। सुरुमा केही डर लागे पनि अहिले भने खासै डर लागेको छैन।’
केन्द्रका प्रवक्ता डा. अनुप बास्तोलाले खरिपाटीका स्थानीय बासिन्दा डराउनुपर्ने अवस्था नभएको बताए। ‘बिरामीलाई केही हुनेबित्तिकै फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने हामी डाक्टरले हो,’ उनले भने, ‘उहाँहरूभन्दा डराउनुपर्ने हामी हो। तर, हामी कसैलाई केही भइहाल्यो भने उपचारका लागि पूर्णतः तयारी अवस्थामा छौँ। अहिले भाइसरले भन्दा धेरै अफवाहले गर्दा त्रास निम्तिरहेको छ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ पनि उस्तै छ। ‘विश्वमा सार्स र मर्सले धेरै तहल्का मच्चाएका थिए,’ उनले भने, ‘तर, कोरोना भाइरस (कोभिड–१९) को मृत्युदर एकदमै थोरै भएकाले डराउनुपर्ने अवस्था छैन। कोरोनालाई सार्सले जित्यो भन्ने कुरा आएको छ। त्यो अफवाह हो।’
मानिस स्वभावैले जिज्ञासु हुने भएकाले कुनै नौलो कुरा देख्नेबित्तिकै त्यसमा जिज्ञासा बढ्नुलाई सामान्य मान्छन्, डा. पुन। ‘त्यही जिज्ञासा अहिले आम मानिसमा देखिएको हो,’ उनले भने, ‘समाजमा त्रास फैलाउने समूह हाबी हुनेबित्तिकै विभिन्न किसिमका भ्रम फैलिन्छन्। यस्तो अवस्थामा डराउने होइन, सतर्क भएर बस्ने हो।’
रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिने र ज्वरो आउनेबित्तिकै नआत्तिन उनको सल्लाह छ। केही दिनअघि उनीकहाँ आएका एक जना बिरामीलाई सामान्य रुघाखोकीले झण्डै मानसिक रोगी बनाएको उनले बताए। उनका अनुसार ती बिरामी केही दिनपहिले एउटा अस्पतालमा रुघाखोकीको उपचारका लागि गएका थिए। अस्पतालमा उनलाई ‘वरपर कोही चीनबाट आएको छ’ भनी सोधियो। केही दिनअघि उनको घरभन्दा केही पर एक जना चीनबाट आएका हुनाले उनले ‘एक जना आएको छ’ भनेर जवाफ फर्काए। उनको जवाफ मुखबाट निस्किन पाएको थिएन, अस्पतालमा हंगामा मच्चियो। त्यहाँ भएभरका सबैले सबैलाई मास्क लगाउन भने। ‘‘कोरोना भएको बिरामी आयो’ भनेर अस्पतालभरि हल्लीखल्ली भएछ,’ डा. पुनले भने, ‘यतिबेलासम्म बिरामीलाई त्यहाँ के भइरहेको छ, थाहा थिएन। त्यसपछि उनलाई अस्पतालले यहाँ पठाएछ। उनी हस्याङफस्याङ गर्दै यहाँ आइपुगेका थिए।’
चेकजाँच गरेर हेर्दा उनलाई सामान्य रुघाखोकी देखियो। ‘शहरका शिक्षित मानिसहरूको त्यो ताल छ, अरूको के होला,’ डा. पुनले भने, ‘‘यो कुराले मलाई साह्रै मानसिक तनाव भयो’ भन्दै उनी घर गए।’
अहिले नेपालमा धेरैलाई ‘कोरोना फोबिया’ भएको उनले बताए। ‘सिरिन्ज आतंक मच्चिएको बेला धेरैलाई ‘सिरिन्ज फोबिया’ भएको थियो,’ उनले भने, ‘कतै चसक्क दुख्नेबित्तिकै मान्छे कुदेर आउँथे। पैतालामुनि पनि सिरिन्जले घोच्यो भन्दै आउँथे। उनीहरूलाई बुझाएर बल्ल पठाइयो। फेरि कोरोना आइपुग्यो।’
नयाँ रोग बाजा बजाएर नआउने भएकाले त्यसका लागि तयार भएर बस्नुपर्ने उनले बताए। ‘यस्ता खालका संक्रमणका लागि हामी बाह्रै महिना तयार भएर बस्नुपर्छ,’ उनले भने, ‘नेपालीहरू विश्वव्यापी रूपमा फैलिएका छन्। अफ्रिकामा देखिएको रोग सजिलै केही क्षणमा नेपालमा आइपुग्न बेर लाग्दैन। त्यसैले सम्बन्धित निकाय तम्तयार भएर बस्नुपर्छ।’
विश्वमा देखिने यस्ता प्राणघातक सरुवा रोगबाट बच्नका लागि जनता सुसूचित हुनु जरुरी भएको डा. पुनले बताए। ‘खरिपाटीमा ल्याइएका मानिसलाई धेरैले रोगी नै मानिरहेका छन्,’ उनले भने, ‘तर, उनीहरू रोगी होइनन्। लक्षण देखिन्छ कि भनेर निश्चित अवधिका लागि उनीहरूलाई त्यहाँ राखिएको हो।’
यसले बालबालिकालाई खासै असर नगर्ने भएकाले आत्तिनुनपर्ने उनले बताए। ‘बालबालिकामा यसले खासै असर गरेको छैन भनेर अनुसन्धानले देखाएको छ,’ डा. पुनले भने, ‘वृद्ध र दीर्घरोगीलाई धेरै छोएको देखिन्छ। हरेक दिन कोरोनाका बारेमा नयाँ–नयाँ जानकारी आएका छन्।’
शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग केन्द्रमा आइसोलेसन वार्डकी इन्चार्ज÷नर्स हुन्, बेली पौड्याल। उनले त्यहाँ काम गर्न थालेको २२ वर्ष भयो। ‘रोगसँग डराउनु मानवीय स्वभाव हो,’ उनले भनिन्, ‘आम मानिसले त्यो डरको अनुभव गरे पनि हामीलाई त्यसको डर हुँदैन। काम गर्ने बेला हामी केही सोच्दैनाँै।’
कसैलाई केही लक्षण देखिनेबित्तिकै बिरामीलाई आइसोलेसन वार्डमा ल्याइन्छ। उनीहरूसँग प्रत्यक्ष रूपमा उपचार सेवामा खटिनका लागि तयार छिन् उनी। ‘हामी उहाँहरूसँग प्रत्यक्ष काम गर्ने स्टाफहरू डराएका छैनाँै,’ उनले भनिन्, ‘अरू मान्छे झन् डराउनुपर्ने कुनै कारणै छैन।
दुई छोराकी आमा हुन्, बेली। उनका श्रीमान् डाक्टर हुन्। श्रीमान्ले उनको पेशालाई बुझे पनि परिवार उनलाई होशियार भएर काम गर्न सुझाउँछ। ‘यस्तो अवस्थामा डराउनेभन्दा पनि होशियार भएर काम गर्ने हो,’ उनले भनिन्।
केन्द्रका अर्का चिकित्सक डा. विकेश श्रेष्ठ कसैलाई केही भएको खण्डमा उपचारका लागि तयार भएर अस्पताल बसेको बताए। ‘पहिला–पहिला पनि यस्ता संक्रमणमा धेरै काम गरियो,’ उनले भने, ‘त्यो बेला आइसोलेसन वार्ड पनि थिएन। अहिले धेरै सुविधा आइसकेका छन्। हामी जुनसुकै अवस्थाका लागि पनि तयार भएर बसेका छौँ।’
‘भाइरसलाई जस्तापाताले छेक्न सकिन्न’
नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले खरिपाटीमा क्वारेन्टाइन स्थल बनाएर मानिसहरू राख्न नहुने बताए। ‘वास्तवमा यो एकदमै गलत काम हो,’ उनले ‘अन्नपूर्ण सम्पूर्ण’ सँग भने, ‘अहिले पनि स्थानीयले त्यसको विरोध गरिरहेका छन्। भाइरस सुरक्षा र पर्खालले रोकेर रोकिने कुरा होइन। यसलाई जस्तापाताले छेक्न सकिन्न। त्यो जहाँ जतिसुकै बेला पनि फैलिन सक्छ।’
चीनबाट आएका मानिसलाई खरिपाटीमा राख्नु भनेको नगरकोटको पर्यटन व्यवसाय सुकाउने र त्यहाँका स्थानीयलाई भगाउने उपाय भएको उनले बताए। ‘उनीहरूलाई त्यस्तो घना बस्तीबाट टाढा राख्नुपर्ने हो,’ उनले भने, ‘उपत्यकामा ८० लाख मानिस बस्छन्। दिनमा चार–पाँच लाख मानिस आवतजावत गरिरहन्छन्। यहाँ एक जनालाई केही भयो भने धेरैको जीवन क्षति हुन सक्छ।’
‘भाइरसले होइन भ्रमले त्रास फैलाइरहेको छ’
डा. अनुप बास्तोला प्रवक्ता, शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग केन्द्र, टेकु, काठमाडौँ
नयाँ रोग देखा परेपछि भ्रमहरू सिर्जना हुनु स्वाभाविक हो। अहिले भाइरसका कारणभन्दा पनि भ्रमका कारण धेरै डराइरहेका छन्। अन्य भाइरसको तुलनामा कोरोनाको मृत्युदर एकदमै कम छ। त्यसैले कोही पनि आत्तिहाल्नुपर्ने अवस्था छैन। वुहानबाट आएका नेपालीलाई हामीले निगरानी गर्यौँ, ४८ घण्टासम्म अस्पताल राख्यौँ। ‘नेगेटिभ’ देखिएपछि घर पठाइदियौँ। हामी उपचारमा संलग्न कसैलाई केही भएन।
नेपालमा कोरोना (कोभिड–१९) मानिसबाट मानिसमा सरेको अहिलेसम्म एउटा पनि घटना छैन। कोरोनाको परीक्षण टेकुमा मात्र हुन्छ। हाम्रोमा अहिलेसम्म सयभन्दा बढी मानिस डराएर जाँच गराउन आइसके। यहाँ मौसमी रुघाखोकी लाग्नेदेखि चीनबाट फर्किएकाहरू प्रत्येक दिन आउँछन्। एक जनाबाहेक उनीहरूमध्ये कसैलाई पनि ‘पोजिटिभ’ देखिएन।
कोरोना ज्यानमारा रोग भनेर प्रचारबाजी भएको छ। त्यसैले आम मानिस डराएका छन्। हाम्रोभन्दा चीनको स्वास्थ्य सेवा राम्रो छ। केही हुनेबित्तिकै जाँच गरेर हेर्छ। उताबाट केही भएको छैन भनेर पठाएका मानिसहरूसँग किन डराउनु ?
यो नेपालका लागि इतिहास हो। हामी इतिहासका साक्षी हौँ। चीनमा थुनिएका १ सय ७५ जनालाई एयर लिफ्ट गरी यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नु चानचुने कुरा होइन। सरकारले ठाउँ खोजेर व्यवस्थापन गरेर उनीहरूलाई ल्याएको छ। यो सरकारको राम्रो कदम हो।
क्वारेन्टाइनमा राखिएकामध्ये कथंकदाचित कसैलाई केही भइहाले सबभन्दा पहिले उनीहरू हाम्रै अस्पताल आउँछन्। डराउनुपर्ने हामी हो। तर, हामी उपचारका लागि तयार भएर बसेका छौँ। अनावश्यक डर र त्रासले सबै कुरा बिगारिरहेको छ। हावाबाट आएर मानिसमा छिर्ने रोग होइन। भाइसरले होइन, भ्रमले त्रास फैलाइरहेको छ।
सिन्धुपाल्चोकमा भएको मौसमी फ्लूसँग पनि मानिसहरू कोरोना भनेर तर्सिएका थिए। यो मौसमी रुघाखोकीको समय भएकाले रुघाखोकी हुनेबित्तिकै पनि आत्तिहाल्नुपर्ने अवस्था छैन। मानिसहरू आत्तिएर अहिले अस्पतालमै ‘एन नाइन्टी फाइभ’ मास्क अभाव हुन थालेको छ। विद्यालयमा पढ्ने विद्यार्थी मास्क लगाएर पढ्न थालेका छन्। अरू केही नभएर अहिले नेपालमा ‘कोरोना फोबिया’ चलिरहेको छ।
चीनबाट आउने व्यक्तिका लागि हामीकहाँ दुइटा विकल्प छन्। हाम्रोमा दुइटा वार्ड छन्। एउटा शंकास्पद अथवा संक्रमित व्यक्तिलाई राख्ने ‘आइसोलेसन वार्ड’ छ। त्यसमा पाँच वटा कोठा छन्। शंकास्पद र लक्षण देखिएका बिरामीलाई हामी त्यो वार्डमा राख्छाँै। तर, कोही लक्षण नभए पनि डराएर आउने हुन्छन्। तिनलाई हामी ४० जनाको क्षमता भएको सामान्य वार्डमा राख्छौँ। त्यहाँ हामीले चौबीसै घण्टा सेवा दिने हिसाबले काम गरिरहेका छौँ।
शंका लागेर अस्पताल आउने तर बस्न नचाहनेलाई हामीले ‘होम क्वारेन्टाइन’मा कसरी बस्ने भनेर सिकाएका छौँ। परिवारका मानिससँग दूरी कायम गर्नुहोस्, आफ्ना सामान आफैँ मात्र प्रयोग गर्नुहोस्, मास्क लगाएर बस्नुस्, खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भयो भने तुरुन्तै अस्पताल आउनुहोस् भनेर पठाएका छौँ। पठाएकामध्ये अहिलेसम्म कोही पनि लक्षण देखियो भनेर अस्पताल आएका छैनन्।
‘उच्च सतर्कतासाथ विशेष व्यवस्था गरेका छौँ’
महेन्द्र श्रेष्ठ, स्वास्थ्य मन्त्रालय, प्रवक्ता
भक्तपुर, खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको चार वटा ब्लकमा ६० वटा कोठामा चीनबाट उद्धार गरेर ल्याइएका नेपालीलाई राखिएको छ। उनीहरूका लागि खाना, पानी र ‘इन्फेक्सन कन्ट्रोल’ सबैको व्यवस्थापन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छ। विशेष किसिमको क्लिनिक, हरेक व्यक्तिलाई छुट्टाछुट्टै मास्क र स्यानिटाइजरको व्यवस्था छ। त्यहाँ हरेकका लागि छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ। उनीहरूका लागि स्वास्थ्यकर्मीसहितको २४ घण्टे एम्बुलेन्सको पनि व्यवस्था छ। त्यस्तै, हामीले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेका छाँै।
क्वारेन्टाइनमा राखिएका र विमानका ‘क्रू मेम्बर’लगायत सबैलाई हरेक दिन जाँच गरिन्छ। यीमध्ये कसैमा ज्वरो देखिएमा एम्बुलेन्समार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिन्छ। त्यहाँ उनीहरूलाई आइसोलेसन वार्डमा राखिन्छ। क्वारेन्टाइनमा राखिएकाहरूको निगरानी गर्न सेना र प्रहरीका ८० जना स्वास्थ्यकर्मी खटाइएका छन्। उनीहरूले पालैपालो निगरानी गर्नेछन्। हामीले उच्च सतर्कतासाथ विशेष व्यवस्था गरेका छौँ।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/)