दुई वर्षमा विकासको जग हालेका छौँ : मुख्यमन्त्री भट्ट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई वर्षमा प्रदेश सरकारले विकासको जग हालेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकमा सम्बोधन गदैँ उनले विकास भन्ने कुरा छिनभरमै नुहने बताए।
२ वर्षमा तीन हजारभन्दा बढी योजना कार्यान्वयनमा रहेका उनले प्रदेश सभालाई जानकारी गराए। ‘दुई वर्षको अवधिमा ५ सय ६८ किलोमिटर सडकको ट्रयाक खुलेको, १ सय ८७ किलोमिटर ग्राभेल भएको र ६५ किलोमिटर सडक पक्की भएका छन्’ उनले भने।
डेढ घण्टा गरेको सम्बोधनमा उनले प्रदेशले गरेका काममा बढी जोड दिएका थिए। ‘कृषि, पर्यटन, जलस्रोत र जडिबुटी मात्रैमा काम गर्न सक्यो भने प्रदेश विकासको पथमा लम्किने छ’ उनले भने,‘त्यसका लागि प्रदेश सरकार चरणबद्ध रुपमा अगाडि बढ्ने गृहकार्यमा जुटिसकेको छ।’
मुख्यमन्त्री भट्टले नयाँ व्यवस्थामा जनताका अपेक्षा पुरा गर्नुपर्ने भएकाले विभिन्न समस्याका बाबजुद आफु अगाडि बढेको दाबी गरे। ‘प्रदेश सरकार भन्ने कुरा एकदमै नयाँ कुरा थियो, न भौतिक संरचना थियो न कानुन थियो’ उनले भने‘त्यसका बावजुद पनि धेरै काम भएका छन्।’
उनले प्रदेश सरकारले किसानलाई बाडिएको अनुदानको लेखाजोखा गरीने बताए। ‘किसानहरुलाई दिने अनुदान कसले पाएको छ। त्यसको पनि लेखाजोखा हुन्छ।’ उनले भने,‘अनुदान कति गएको छ ? कहाँ गएको छ ? त्यो बाट कति उपलब्धि भएको छ ? भन्ने कुराको हाम्रोमा कुनै लेखाजोखा छैन। प्रदेश सरकारको तर्फबाट अब पछिल्लो १० वर्षमा कति अनुदान गएको छ। त्यो बाट कतिले लाभ पाएका छन्। हामी यसको लेखाजोखा नभएका कारणले हामी यसको अध्ययन गर्ने प्रक्रियामा छौ।’
उनले सुदूरपश्चिम प्रदेश कृषिमा एकदमै सम्भावना भएकाले प्रदेश सरकारले पनि यसलाई प्राथमिकताका रुपमा राखेको बताए। मुख्यमन्त्री भट्टले पहिलो वर्षमा प्रदेश राजधानी घोषणा गरे पनि कानुनी अड्चनका कारण कार्यान्वय हुन नसकेको बताए। उनले भने,‘प्रदेश राजधानी घोषणा गरेको क्षेत्रको जमिन संघीय सरकारबाट प्राप्त गर्नुपर्ने कानुनी बाध्यता भएकाले जति छिटो हामीले काम गर्न चाहेका थियौ त्यो गतिमा काम हुन सकेको छैन।’