कोरोनाबारे सचेत गराउँन प्रदर्शनी
राजविराज : कोरानो भाइरस र जिका भाइरसबाट सावधान गराउँदै राजविराजका विद्यार्थीहरुले बुधबार प्रदर्शनी र अन्तरक्रिया गरेका छन् । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको सुक्ष्म-जीव विज्ञान विभागद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरुले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको संक्रमणबाट बच्न सकिने भन्दै सचेत गराए।
कोरोना भाइरस र जिका भाइरस संक्रमणको परिचय, लक्षण, उपचार र बच्ने उपायका बारेमा जानकारी विद्यार्थीहरुले जानकारी दिए। सुक्ष्म विज्ञानकी विद्यार्थी अञ्जली ठाकुरले रुघाखोकीजस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वासबाट, रोगीले प्रयोग गरेको सामान प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने बताइन्।
कार्यक्रममा सहभागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका डा. दिनेश उप्रेतीले विशेषसरसफाइमा ध्यान दिने, मास्क लगाउने, भीडभाडमा नजाने, बिरामीलाई छोएमा हात राम्ररी सफा गर्ने लगायतका सावधानी अपनाए कोरोना भाइरसबाट जोगिन सकिने बताए ।
सुक्ष्म-जीव विज्ञान विभागद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा कोरोना भाइरस र जिका भारइसबारे जानकारी दिदै सुक्ष्म विज्ञानका विद्यार्थी अञ्जली ठाकुर । तस्विर : मनोहर पोखरेल
संक्रमण भएमा भाइरसबारे तत्कालै पहिचान गर्ने, व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाय अपनाएर नियन्त्रण गर्न सकिने डा. त्रिपाठीले जानकारी दिए।
क्याम्पस प्रमुख प्रा. डा. सर्वेचन्द्र मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, परिवार नियोजन संघका कार्यालय प्रमुख बिद्याकिशोर सिंह, नेपाल प्राध्यापक संघका सचिव उमेशप्रसाद यादव, राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासलगायतले विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए।