दुईलाख घुससहित प्राविधिक पक्राउ
सुर्खेत : दुईलाख रुपैयाँ घुससहित सुर्खेतमा एक कर्मचारी पक्राउ परेका छन्।
भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
उपभोक्ता समितिसँग घुस वापतको दुईलाख रुपैयाँ लिंदै गर्दाअख्तियारको टोलीले उनलाई बिहीवार साँझ नियन्त्रणमा लिएको हो।भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ मा रहेको तल्लो बराहमा निर्माण भएको झोलुङ्गे पुलको बील भुक्तानी गराइदिने भन्दै प्राविधिक केसीले उपभोक्ता समितिसँग घुस मागेका थिए।
सोहीक्रममा उनलाई घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
केसीले घुस रकम दिएमात्र पुल सम्पन्न भएको प्रतिवेदन तयार गर्ने र बील भुक्तानीमा पनि सहजिकरण गर्ने अडान लिएका थिए। त्यसपछि स्थानीय उपभोक्ताले अख्तियारको टोलीलाई खबर गरेका हुन्।
घुससहित पक्राउ परेका केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।
यसअघि गत माघ १० गते जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई पनि अख्तियारले वीरेन्द्रनगरमा आठलाख घुससहित पक्राउ गरेको थियो।