शिवरात्री, सेना दिवस र सुधारका प्रयास

शिवरात्री, सेना दिवस र सुधारका प्रयास

आज महाशिवरात्री र सेना दिवसको पावन अवसर। यी दुई अवसर एकै दिन पर्नुलाई अर्थपूर्ण संयोग पनि मान्नुपर्छ। शिव कुनै वस्तु वा व्यक्ति नभएर सूक्ष्म चेतना तथा बोधतत्व भएको र यसैबाट ऊर्जा र त्यसबाट पदार्थको संरचना हुने हुँदा यसलाई निराकार र साकार दुवै रूपमा मानिन्छ। शिवरूपी चेतनामा शक्ति पनि जोडिएर आउँछ। नेपाली सेनाको लोगोमा अंकित डमरु र त्रिशूल त्यही शिवशक्ति अर्थात् चेतनातत्वलाई शक्तिसँग पनि जोडेर होस र जोसको प्रतीकात्मक रूपमा आत्मसात गरिएको अर्थमा बुझ्नुपर्छ।

नेपाली सेनाको शाख, गौरव र कार्यदक्षतालाई अक्षुण्ण राख्न विगतदेखि नै समग्र संगठन र नेतृत्वले गरेका कार्य तत्परताबाट सम्भव भएको छ। यसैक्रममा वर्तमान प्रधानसेनापतिले जिम्मेवारी सम्हालेको वर्ष दिन पुगेको अवसरमा सुधारका कार्यक्रम र भावी कार्यदिशाबारे समेत आफ्नो सम्बोधनमा सुशासन र पारदर्शितालाई प्रमुख ध्येयका रूपमा प्रस्तुत गरेका थिए। अहिले नेपाली सेनामा मात्र नभएर सरकारका सबै अंग तथा निकायहरूमा यही कुरा खटकिएको छ। प्रधानसेनापतिले त्यस अवसरमा आवश्यक परेमा संगठनभित्रका घाउको शल्यक्रिया गरी रोग निको पार्नेतर्फ आफू कठोरसमेत बन्न सक्ने संकेत गरेका थिए।

आफूले संगठनको प्रमुख भई जिम्मेवारी बहन गर्दा समय कटाउने सरल र सहज मार्गभन्दा संगठनको हितमा केही गर्ने तत्परताको कठिन बाटो रोजेको प्रस्टैसँग भनेका थिए। अरूले गरेका पापहरूको भारी आफूले नबोक्ने भन्दै उनले संगठनभित्रका मुख्य समस्या औंल्याएका थिए। उनको कार्यकालको करिब आधा खण्ड व्यतीत भइसकेको छ। यसबीच उनले औंल्याएका केकति कार्य भए र कति हुन पूरा बाँकी छन्, त्यो कुराको लेखाजोखा र मूल्यांकन पनि हुँदै जाला र आशा गरौं- प्रधानसेनापतिको दृढ ध्येयले सफलता पाओस्। सबल नेतृत्व पाउनु पनि एउटा अवसरको संगठनका लागि।

कुनै पनि संगठनमा प्रगतिका लागि नेतृत्व र नीतिको महत्व हुन्छ र त्यसपछि व्यवहार तथा कार्यान्वयनका लागि नियत। वर्तमान नेतृत्व सुधारवादी नीतिसहित अघि बढेको विषयलाई मनन भइरहेका बेला केही नकारात्मक टिप्पणी र समाचार सम्प्रेषण पनि नभएका होइनन् तर राम्रा कामको प्रशंसा र कदर हुनु राम्रो गर्नेलाई थप उत्प्रेरणा जगाउन सहायता पुग्ने र भविष्यका लागि मार्गनिर्देशन पनि हुन्छ।

प्रधानसेनापतिको भूमिका, कार्यशैली, क्षमता र छविले संगठनको समग्र छवि र उत्थानलाई भविष्यसम्म प्रभाव पार्छ। विगतदेखि विभिन्न अवस्था र उतार-चढाव पार गर्दै आजसम्म आइपुग्दा सेना संगठन दुई महत्वपूर्ण भूमिका र जिम्मेवारीमा उभिएको छ। एकातर्फ राष्ट्रिय सुरक्षाका बहुकारक अवस्था बुझ्दै आफ्ना कार्यभार पूरा गर्न र थप दक्षता हासिल गर्नका लागि व्यावसायिकताको प्रवद्र्धनमा लाग्नुपर्ने छ भने अर्कातर्फ अपमानित, अवहेलित हुन पुगेका राष्ट्रिय स्वाभिमान, गौरव, धर्म-संस्कृति र इतिहास संरक्षणमा सकेसम्म जुट्नुपरेको छ।

ऐतिहासिक दायित्व निर्वाहका लागि त्यसैले स्वार्थी तत्वहरूका वक्रदृष्टि र कपटबाट राष्ट्रलाई जोगाउन र आफूसमेत जोगिन निकै होस र जोसको आवश्यकता रहेको तर्फ नेपाली सेनाले स्मरण गरी बुझ्नैपर्ने हुन्छ आजका दिनमा। राष्ट्रिय सुरक्षाका सरोकार अनि राजनीतिक वृत्तका विभिन्न प्रभावका कारण यदाकदा देखिने बेमौसमी छाल, कम्पन, कपट र तरंगहरूमा सेनाले आफूले बुझ्ने, अरूलाई बुझाउने र समझमा राख्ने परम्परा र परिपाटी पनि छ। यही महत्वका कारण पनि सैनिक संगठनसँग छिमेकीलगायत शक्तिराष्ट्रहरूले समेत पहुँच राख्न खोज्ने र सहकार्य गर्ने चाख राख्छन्। त्यसैले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थिति भएको मुलुकमा बदलिँदा परिप्रेक्ष्यहरूमा यो संगठन र यसको नेतृत्वको महत्वलाई सबैले बुझेकै हुनुपर्छ।

नेतृत्व समयको अन्तरालमा आउँछ र जान्छ तर उसले संगठनका लागि के गर्‍यो ? कस्तो योगदान पुर्‍यायो भन्ने महत्वपूर्ण हुन्छ।

राष्ट्र निर्माणको इतिहास नै मास्ने र तोडमोड गर्ने अनि देखावटी राष्ट्रियताको छद्म, कपटपूर्ण र उत्तेजक लेप लगाएर व्यावहारिकता र वास्तविकतालाई थिचिकिची हुर्मत लिने तमोगुणीहरूको बिगबिगी भएका बेला नेपाली सेनाले राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई जीवन्त राख्न निर्वाह गरेको कर्तव्यपूर्ण भूमिकाको हार्दिक सराहना पनि गर्नु नै पर्छ। त्यसैले भविष्यमा राष्ट्र, जनता, राष्ट्रिय एकता, धर्म-संस्कृति र राष्ट्रिय गौरवको रक्षामा नेपाली सेनाले आफ्नो गौरवमय इतिहास, संरक्षणका लक्ष्मण रेखाहरू र कर्तव्यका पदचिह्न बुझी अक्षुण्ण राख्न सक्नुमै यो संगठनको महत्व र वास्तविक शक्ति छिपेको छ।

नेपाली सेना संगठित भएको इतिहास नेपाल राष्ट्रको एकीकरणसँग आबद्ध छ। १८०० सालमा पृथ्वीनारायणको नेतृत्वमा गोर्खाली फौजले नुवाकोट कब्जा जमाएपछि सो फौज नेपाली सेनाका रूपमा रूपान्तरण भयो। त्यसपछि भएका अंग्रेज र तिव्बतसँगको युद्धमा नेपाली सेनाले जनताको सहयोग र समर्थनमा देशलाई विदेशी अतिक्रमण र उपनिवेश हुनबाट जोगाएको छ। खम्पा निःशस्त्रीकरण र अन्य प्रतिविद्रोहका कारबाहीहरूमा नेपाली सेनाले मातृभूमि र राष्ट्रिय गौरवहरूको रक्षार्थ निरन्तर कार्य गरेको छ। २०१५ सालदेखि हालसम्म अटुट रूपमा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वमा शान्ति स्थापनार्थ गरेको योगदान नेपालको परराष्ट्रनीति सञ्चालनको एउटा उल्लेख्य तथा महत्वपूर्ण औजार र उपलब्धिका रूपमा रहिआएको छ।

विभिन्न कालखण्डमा शासक फालिँदा र फेरिँदा सेनाले आफूलाई समयानुकूल जनता तथा देशका पक्षमा उभ्याएको छ। देशको संविधान र कानुन, जनताका भावना र समयको मागलाई सेनाले आत्मसात गर्न समर्थ भएकाले नै इतिहासका विभिन्न कालखण्डमा खरो उत्रँदै आफ्नो उत्तरदायित्व र साखलाई जोगाउन सकेको हो। राज्यका सबै अंगभन्दा दृढ र दलगत राजनीतिक प्रभावबाट धेरै हदसम्म जोगिन सकेको छ सेना। यसमा महत्वपूर्ण पक्ष भनेको सेनाको व्यावसायिक क्षमता, नेतृत्वको सुझबुझ, संगठनात्मक स्मरण क्षमता, समग्र उत्प्रेरणाको निरन्तरता आदि विषय छन् यो संगठनको कार्यकुशलता र दृढ भूमिका कायम राख्नका लागि।

चेन अफ कमान्ड र कठोर अनुशासनमा आबद्ध रहने महत्वपूर्ण संगठनका हकमा नेतृत्वको भूमिका, स्वच्छता, दृढता र विवेकपूर्ण हैसियतले झनै महत्व राख्छ। नेतृत्व समयको अन्तरालमा आउँछ र जान्छ तर उसले संगठनका लागि के गर्‍यो ? कस्तो योगदान पुर्‍यायो भन्ने महत्वपूर्ण हुन्छ। यसले छाडेको छाप र स्थापित गरेको संस्कारले विशेष महत्व राख्छ। निष्पक्ष रूपमा भन्नुपर्दा वर्तमान नेतृत्वमा संगठनका लागि र सबैका लागि गरौं भन्ने भावना देखिएको छ र राम्रा काम कुराको प्रशंसा हुन उचित र यथोचित हुन्छ। प्रधानसेनापतिबाट दृढ इच्छाशक्ति र अठोट अनि सकारात्मक सोचसहित संगठनका हितमा जेजति कदम चालिएका छन्, तिनले संगठनका हितमा तथा सबलीकरणमा पर्याप्त योगदान पुग्न सक्नेमा संगठन आशावादी देखिन्छ।

प्रधानसेनापतिले नेतृत्व तह ठीक नभए अरू ठीक हँुदैनन् भन्ने विश्वासलाई चरितार्थ गर्न नै बहुपक्षीय कदम र प्रयत्न चालेको पक्षलाई नदी सफा हुन मूल नै सफा हुनुपर्छ भन्ने दृष्टान्त आत्मसात हुनु संगठनका लागि शुभलक्षण पनि हो।

०६२ सालको भूकम्पपछिका दिनमा संगठनभित्रका निर्माण कार्यमा सेनाले उल्लेख्य रूपमा कार्य गरेको देखिन्छ।

नेपाल राष्ट्रको एकीकरण अभियान र त्यसपछि पनि देशको सार्वभौमसत्ता तथा सम्प्रभुता बचाउँदै विदेशी उपनिवेश हुनबाट बचाएको इतिहासका स्मरण ताजा राख्न सेनाबाट गरिएका कार्य प्रशंसनीय छन्। राष्ट्रिय सुरक्षालाई सुदृढीकरण गर्न र सेनाको कार्यकुशलता-क्षमता अभिवृद्धि गर्न स्पष्ट भिजनसहित विभिन्न निर्देशिका, आचारसंहिता, सैनिक ग्रन्थ आदिको निर्माण र पुनरावलोकन कार्य वर्तमान प्रधानसेनापतिको प्राथमिकताका विषय हुनुले सेनाको व्यावसायिकता, दक्षता र उत्प्रेरणा बढाउँदै संगठनको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने कुरा सकारात्मक पक्ष छन्। शान्ति सेना छनोटमा पारदर्शिता, दुरुपयोग हुने जनशक्तिको सदुपयोग र त्रिभुवन आर्मी क्लबमा अशोभनीय रूपमा पार्टी भोजका लागि भाडा लगाई सुरक्षा जोखिमको अवस्थासमेतबाट त्यस स्थानलाई मुक्त राख्न चालेको कदमलाई एउटा सानो उदाहरणका रूपमा लिन सकिन्छ।

विभिन्न सञ्चारमाध्यमबाट विगतदेखि नै सेनाभित्र बारम्बार उठ्ने विषय भनेको आर्थिक सुशासनको अभाव, नक्कली शैक्षिक प्रमाणपत्र, उमेरका संशोधनहरू, किर्ते कागजात, रासन र भ्रमणभत्तामा अनियमितता आदि विषय हुन्। यसमा वर्तमान प्रधानसेनापतिको सक्रिय चासो एवं अग्रसरतामा यस्ता कार्यको धेरै हदसम्म नियन्त्रण कायम हुँदै गएको भन्ने बुझिए पनि थप अग्रसरता र निरूपणको आवश्यकता भने अझै रहेको भुक्तभोगीहरूको ठम्याइ छ।

सेनालाई संविधानले प्रदत्त गरेको जिम्मेवारीलाई नियाल्दा राष्ट्रघात र राष्ट्र विप्लवजस्ता दुष्कर्म र कुनै स्वार्थी मनमस्तिष्कमा उठ्न सक्ने काला धब्बा र बैमौसमी बाछिटाबारे चनाखो भई बेतुकका नाटकहरूसमेत सर्तकतापूर्वक नियाल्न आवश्यक छ।

सेनामा आर्थिक क्रियाकलाप पारदर्शी र स्वच्छ छैन, त्यहाँ भ्रष्टाचार छ र यसलाई हेर्ने ठोस निकाय छैन, अख्तियारले सेनालाई छुँदैन भन्ने तर्क, धारणा र बुझाइ अझै पनि छ। अख्तियारले सेनालाई किन हेर्दैन ? हेर्नुपर्ने हो होइन ? यो विषय पनि चर्चामा आइरहन्छ। सेना कठोर अनुशासनमा चल्ने, स्थायी, दृढ र संवेदनशील जिम्मेवारी बोकेको राज्यको महत्वपूर्ण अंग भएकाले र यसको स्थिरता र व्यावसायिकता विकासमा आँच कसैले पुर्‍याउन नसकोस्, कुनै प्रकारको राजनीतिक तथा गैरप्रशासनिक घुसपैठ र चक्रव्युहमा नफसाइयोस् भन्ने संवेदनशीलतालाई ध्यानमा राखेर सेनाभित्रका अनियमिततालगायतका कार्य हेर्न सैनिक ऐनले बेग्लै प्रकृतिको सैनिक विशेष अदालतको व्यवस्था गरेको हो। तर यो भनेजति र सोचेजति व्यवहारमा प्रभावकारी हुन नसकेको यथार्थलाई राम्ररी मनन गरी थप प्रभावकारी बनाउने उपायको अवलम्बन गरिनुपर्छ। यदाकदा देखिने अवस्था र छुटफुट घटनाहरू देखाएर समष्टिमै सेनामा माथिल्लो दर्जाले तलका दर्जालाई समुचित व्यवहार गर्दैनन्, त्यहाँ बोल्न र भन्न सक्ने अवस्था पनि हँुदैन, सुनुवाइ हुँदैन भन्ने आक्षेपबारे यथार्थ के हो ? यसलाई यथार्थपरक ढंगले बुझ्ने विषय पनि थप जरुरी महत्वको छ अझै सेनाको संगठनभित्र। यो आक्षेपको यथार्थबारे सेनाको नेतृत्व तहबाटै सूक्ष्म अध्ययन भई निराकरण हुनु वाञ्छनीय र महत्वपूर्ण विषय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.