विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा
सन्धिखर्क : घरपायक निःशुल्क प्राबिधिक शिक्षा पढ्न पाएपछि अर्घाखाँची छत्रदेवका विद्यार्थी दंग छन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पढाउन थालेपछि अभिभावक पनि खुशी छन्।
एग्रोफरेस्ट्रि पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययन गर्ने विद्यार्थीको पठन पाठन खर्च जिल्लाको छत्रदेव गाउँपालिकाले व्यहोर्न थालेको हो। सो इन्स्टिच्युटमा कृषि बाली र पशु विज्ञान विषय अध्यापन हुँदै आएको छ। ‘गाउँपालिकाले सहयोग गरेपछि आफूलाई भग्यमानी ठानेको छु, धेरै खुशी छु’, छत्रदेव–७ भगवतीका मनोज पाण्डे भन्छन्। ३ बर्षे कृषि बाली विज्ञान विषयका पाण्डे जस्तै अन्य ४० विद्यार्थीले यस्तो अवसर पाएका हुन्।
छोरा छोरीलाई अन्यत्र पढाउँदा बार्षिक डेढ लाखभन्दा बढी खर्च हुने गरेकोमा आफूहरूका लागि ठूलो न्याय भएको अभिभावक बताउँछन्। बाली विज्ञानका लागि छनोट भएकी एलिना खातुनका बुबा छत्रदेव–२ बल्कोटका नसिबदिन मियाँ भन्छन्, ‘गाँउपालिकाको यो कार्य निकै प्रशंसनीय छ।’ ०७४ देखी बाली विज्ञान अध्यापन थालेको इन्स्टिच्युट छत्रदेवले गत वर्षबाट पशु विज्ञानको अध्यापन पनि सुरू गरेको थियो।
निःशुल्क अध्यापनका लागि गाउँपालिकाले सहयोग गर्ने भएपछि यस वर्ष ४० विद्यार्थी भर्ना गरिएको शिक्षालय प्रमुख डा. राजु भुसालले जानकारी दिए। ‘२५ छात्रा र १५ जना छात्र पढिरहेका छन्, ‘उनले भने,‘शैक्षिक भ्रमण, लाईब्रेरी र परीक्षा फारमको शुल्क समेत गाँउपालिकाले ब्यहोर्ने भएपछी विद्यार्थी खुशी छन्।’ कृषि क्षेत्रका प्राविधिक स्थानीय तहमै उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ।
छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले ६० लाख बजेट छुट्याएर ३ वर्षे कृषि बाली बिज्ञानका लागि ४० विद्यार्थीलाई निःशुल्क सुविधा प्रदान गरिएको बताए। अतिविपन्न र असाहय परिवारका विद्यार्थीलाई यो सुविधाको प्राथमिकतामा राखिएको उनको भनाइ छ। अन्यत्र बाली विज्ञान अध्ययन गर्दा चारदेखि पाँचलाख रुपैंयाँ खर्च हुने प्रमूख प्रसाशकीय अधिकृत खिमानन्द भुसाल बताउँछन्