बागमती प्रदेशको विकास नहुनुमा हाम्रो दोष छैन : मुख्यमन्त्री पौडेल
नुवाकोट : मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको विकास नहुनुमा आफुहरु दोषी नरहेको बताएका छन्। शुक्रबार शिवपुरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रदेशको विकास निर्माणले तीव्रता नपाउनुमा आफुहरु दोषी नरहेको भन्दै विधि, प्रक्रिया र व्यवस्था दोषी रहेको आरोप लगाए। प्रदेशमा भएको विकास निर्माणको लागि जनताले प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने उनले दाबी गरे।
अब सरकारको गति बढ्ने बताएका छन्। दुई वर्षमा सरकारले विकासका मार्ग रेखा कोरेको र अब विकासले उचाई छुने उनले बताए।
पुर्वी भेग शिवपुरीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले जनताकै प्रतिनिधि भएका कारण आफुहरुले जनताको शिर निहुरीने काम नगर्नेसमेत बताएका छन्। पौडेलले दुई वर्षको अवधिमा प्रदेश सरकारले बागमती प्रदेशका जनताले शिर निहुराउने काम नगरेको दावी गरे।
आफुहरुले चाहेअनुसार काम गर्न नसकेको भए पनि जति काम गरेका छौं, त्यो धेरै र उपलब्धीमुलक भएको उनले दाबी गरेका छन्। मुख्यमन्त्री पौडेलले बागमती प्रदेशले ५० वटा कानुन बनाइसकेको बताउँदै कानुन निर्माणमा बागमती प्रदेश अन्य प्रदेशको तुलनामा अघि रहेको उनको दाबी थियो।
फरक प्रसंगमा मुख्यमन्त्री पौडेलले विकास निर्माणका काममा सबै पार्टी र दलभन्दामाथि उठेर काम गरे मात्र विकास निर्माणका कामले गति लिने बताए। उनले कर्मचारीहरुले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सहयोग गर्नु पर्ने आग्रह गरे।