लामातालमा पुग्यो विजुली
सन्धिखर्क : सितगंगा नगरपालिका- ७ जलुके लामातालका स्थानीय निकै खुसी भएका छन्। टुकीको भरमा जिविका चलाउँदै आएका जलुके लामातालका ६५ घरपरिवार लाभान्वित भएको वडा अध्यक्ष मोहन पन्थीले बताए। वडाको पहलमा धेरै प्रयत्न गरेर विजुली बत्ती बलेको पन्थीले बताए। 'टुकीका भरमा नै जिविका चलाएका यहाँका बासिन्दा अब विजुली बत्तीमा बस्न पाउने भएका छन।' अध्यक्ष पन्थीले भने चुनावी एजेण्डामा बोलेका कुरा पुरा गर्दै जनताको हितका लागि लागिरहेको बताए।
जनजातिहरुको ९० प्रतिशत भन्दा बढी बाहुल्यता रहेको लामातालबासीहरु विद्युतबाट बन्चित भएका थिए। जिल्लाकै विकट क्षेत्रको रुपमा चिनिने लामातालबाट नगरपालिकाको केन्द्र ठाडामा आउन पनि तीन घण्टा गाडीमा यात्रा गर्नु पर्छ। हिउँदमा गाडी चल्ने र वर्षामा पानी परेपछि गाडी चल्दैन। स्थानीय विमल गरौजाले पैदल सात घण्टा हिडेर नगरपालिकाको केन्द्र रहेको ठाडामा जानु पर्ने बाध्यता रहेको बताए।
नेपाल विद्युत प्राधिकरण र विश्व बैंकको चार करोडको लगानीमा जलुकेका २ सय ५० घरमा विजुली बल्न लागेको हो।