नेताका नामका प्रतिष्ठान गुटका घर !

नेताका नामका प्रतिष्ठान गुटका घर !

पुरानो ढंगले ती प्रतिष्ठान चल्न हुँदैन। हाम्रोजस्तो पार्टीमा प्रतिष्ठानसम्बन्धी सही नीति आवश्यक छ।


नेकपा बैठकमा दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको अखडा बनेको कुरा चर्काे रूपमा उठ्यो। पार्टी एकताको २१ महिनासम्म ‘जनवादको प्रयोग’ गर्न नपाएका केन्द्रीय सदस्यहरूले ‘गुटबन्दीले पार्टीलाई खाएको’ भन्दै चिन्ता व्यक्त गरे।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रस्तावमा समूहगत छलफल गरी निष्कर्ष सुनाउने सबैजसो समूह नेताको सामूहिक निष्कर्ष थियो, ‘पार्टी नेताका नाममा खोलिएका संघ–सस्था र प्रतिष्ठानले पार्टीमा गुटबन्दी झाँगियो।’

त्यस्ता प्रतिष्ठानहरू कि पार्टीले व्यवस्थित गरी एउटा नीतिभित्र चलाउनुपर्ने कि बन्द नै गर्नुपर्ने आवाज धेरैले उठाए पनि। अधिकांश प्रतिष्ठान, अध्ययन केन्द्र या फाउन्डेसनका नाममा खोलिएका संस्था ‘गुटका घर’ भएको निष्कर्ष समूह नेताहरूले पार्टी नेतृत्वकै सामुन्ने प्रस्तुत गरे।

नेताहरूले केन्द्रीय समिति बैठक समापन गर्दा यो विषयमा सम्बोधन नै गरेनन्। केन्द्रीय सदस्य युवराज चौलागाईं भन्छन्, ‘विषय बैठकमा सबैजसो समूह नेताहरूले उठाउनुभयो, तर नेताका नामका प्रतिष्ठानमार्फत मौलाइरहेको गुटबन्दीको जवाफ पार्टी नेताहरूले दिनु भएन।’

पार्टी अध्यक्षद्वय (केपी ओली र पुष्पकमल दाहाल) कै राजनीतिक दस्ताबेजमा पार्टी संस्थागत नभएको, बरु विभिन्न प्रकारका गुटहरू सक्रिय रहेको र पार्टी अनुशासनको स्तर दयनीय बन्दै जान थालेको उल्लेख हुँदासमेत नेताहरूले समूह नेताहरूले उठाएको ‘प्रतिष्ठान गुटका घर’ का विषयमा कुनै जवाफ दिन चाहेनन्।

किन त ?  नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘यो आफूअनुकूलको गतिविधि बढाउने वैधानिक औजार (संस्था) हो। महाधिवेशन मिति तोकिएका बेला आफू र आफ्नो समूह बलियो बनाउन पनि यस्ता संघसस्था प्रभावकारी बनिदिन सक्छन्। अनि कहाँ त्यसरी पार्टी नीतिभित्र बाँध्ने या बन्द गर्ने कुरा नेतृत्वबाट आउन सक्छ र ? ’

गुटबन्दी पार्टीभित्र माथिल्ला शीर्ष नेतृत्वबाटै भएको र उनीहरूले आफ्नो गुट रक्षाका लागि यस्तो मोर्चालाई उपयोग गर्ने गरेको आरोप नेताहरूमाथि थियो। प्रधानमन्त्रीसमेत रहेका ओलीले नेताहरू एक ढिक्का रहेको तर सञ्चारमाध्यमले अंशबन्डा गरिदिएको भन्दै चित्त दुखाइ पार्टी बैठकको समापन गरेका थिए। उनले त्यसमा थप केही व्याख्या गरेनन्, तर अध्यक्ष प्रचण्डले पार्टी बैठक समापनमा जवाफ दिने क्रममा यति मात्र भने, ‘गुटबन्दी माथिबाट भएको कुरा ठीक छ तर सबै दोष माथि मात्र पनि नलगाउनुहोस् न। केही न केही हिस्सा तपाईंहरू (केन्द्रीय सदस्य) ले पनि लिनुपर्छ। नेताहरू गुटबन्दी गर्न आए, किन जवाफ फर्काउनु हुन्न यसो गर्नु हुन्न भनेर। फर्काउने गर्नुस्। त्यसो गर्दा नेताहरू पनि हच्कियून्।’

प्रतिष्ठान कति ?  

नेकपाभित्र नेताहरूले आफ्नो गुटगत राजनीति गर्ने माध्यम बनाउन प्रतिष्ठान र संघसंस्था बनाउने होडबाजी छ। त्यस्ता प्रतिष्ठान गुटगत राजनीतिको केन्द्र बन्न थालेको चिन्ता नेताहरूले पार्टी बैठकमा गरेका हुन्। पार्टीभित्र यति नै संख्याका यस्ता संघसस्था र प्रतिष्ठान छन् भन्ने तथ्यांक छैन। तत्कालीन एमालेभित्र पार्टीकै निर्णयमा पाँचवटा मात्र प्रतिष्ठान रहेको र अन्य भने पार्टीको निर्णयमा नखोलिएको वरिष्ठ नेता माधव नेपाल स्विकार्छन्।

उनका भनाइमा पुष्पलाल प्रतिष्ठान, मदन–आ िश्रत स्मृति प्रतिष्ठान, तुलसीलाल स्मृति प्रतिष्ठान, मोतीदेवी स्मृति प्रतिष्ठान र मनमोहन स्मृति प्रतिष्ठान मात्र पार्टीको मार्गदर्शनमा खोलिएका प्रतिष्ठान हुन्। ‘पूर्वएमालेभित्र पाँचवटा मात्र पार्टीको मार्गदर्शनमा खुलेका प्रतिष्ठान छन्, अरू पार्टी योजनामा खोलिएका होइनन्, पूर्वमाओवादीतिर पनि केही होलान्, पोष्टबहादुर बोगटी, निर्मल लामालगायतका नाममा छन् कि, मलाई उताका धेरै जानकारी छैन। तर पूर्वएमालेको मलाई जानकारी छ। अरू पार्टीका निर्णयबाट खुलेका होइनन्’, वरिष्ठ नेता नेपाल भन्छन्।

दिवंगत राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताका नाममा खोलिएका प्रतिष्ठानले पार्टीमा ‘गुटबन्दी’ लाई मलजल गरेको विषय नेकपा बैठकमा चर्काे रूपमा उठ्यो। ती प्रतिष्ठानका सन्दर्भमा के गर्ने भन्नेबारे बैठकमा नेताहरूले कुनै जवाफ दिएनन्। दिऊन् पनि कसरी ? मिति तोकिएको पार्टी महाधिवेशनका लागि आफ्नो समूह बलियो बनाउन नेताहरूलाई तिनै प्रतिष्ठान मुख्य हतियार बनाउनु छ।

पार्टी एकतापछि अहिलेसम्म पार्टीका निर्णयमा खोलिएका प्रतिष्ठान, संघसंस्थाको तथ्यांक एकत्रित नेकपाले गरेको छैन। मदन भण्डारी फाउन्डेसन, पुष्पलाल प्रतिष्ठान, तुल्सीलाल फाउन्डेसन, मनमोहन अधिकारी स्मृति प्रतिष्ठान, भरतमोहन अधिकारी प्रतिष्ठान, पासाङ ल्हामु शेर्पा, रवीन्द्र अधिकारी, प्रकाश दाहाल, साहना प्रधान, नेत्रलाल अभागी, पुष्पलाल मित्रता केन्द्रलगायतका नाममा पनि प्रतिष्ठान सञ्चालन भइरहेको छ । यसमध्ये केही पार्टी योजनामा खोलिएका छन् भने केही नेताहरू जोडिएर खोलिएका हुन्। मदन भण्डारीका नाममा त एउटा मात्रै होइन, अन्य धेरै खालका संघसंस्था पनि नेकपा नेतासँग जोडिएर खोलिएका छन्। मदन भण्डारी, पुष्पलाल, तुल्सीलाल, पासाङ ल्हामुलगायत प्रतिष्ठानलाई सरकारले वार्षिक निश्चित रकम अनुदानसमेत दिँदै आएको छ । पासाङ ल्हामु प्रतिष्ठानका नाममा रहेको घरमा अहिले नेकपाको केन्द्रीय कार्यालयसमेत छ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा माधव नेपाल आफैं अध्यक्ष छन्। तत्कालीन एमालेको पार्टी नीतिअनुसार नै बनाइएको यो प्रतिष्ठानको जिल्ला–जिल्लामा शाखा विस्तार गरिएको छ। तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले गोपाल शाक्य अध्यक्ष छन्। यसले तत्कालीन एमालेमा पार्टी स्कुलिङ सञ्चालनको कामसमेत गरेको थियो। मोतीदेवी स्मृति केन्द्रमा अष्टलक्ष्मी शाक्य अध्यक्ष छिन्। यसले ज्येष्ठ नागरिक आवास गृह सञ्चालनमा ल्याएको नेकपा नेताहरू बताउँछन्। सहाना प्रधान अध्ययन प्रतिष्ठानमा नेतृ रामकुमारी झाँक्री अध्यक्ष छिन्। मनमोहन स्मृति प्रतिष्ठानमा पहिले भरतमोहन अधिकारी अध्यक्ष थिए। उनको निधनपछि यो प्रतिष्ठानको कार्यवाहक अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल रहेको नेताहरूको भनाइ छ।

तत्कालीन माओवादीतर्फ पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान, सहिद प्रतिष्ठानलगायतका संघसंस्था छन्। जुन पार्टीसँग बढी नजिक छन्, त्यहाँ पनि नेताविशेषले खोलेका अन्य संघसंस्था र प्रतिष्ठान पनि छन्। यी संघसस्थाले आफूअनुकूल पार्टी गतिविधि गर्न खोज्दा पार्टीमा गुटबन्दी बढेको नेताहरूको जिकिर छ।

एउटा संस्थाले एउटै मात्र समूहका आधारमा तलसम्मै संस्थालाई विस्तार गर्ने र राजनीति गर्न थालेपछि अर्काे संस्थाले पनि सोही शैली अपनाउन खोज्दा नेकपाभित्र प्रतिष्ठान गुटका घर बन्न थालेको प्रश्न उठेको नेताहरूको भनाइ छ।

वरिष्ठ नेता नेपाल नै भन्छन्, ‘मदन भण्डारी फाउन्डेसनसँग जोडिएका विषय बैठकमा बढ्ता उठेको हो। तलसम्म उसका गतिविधिलाई लिएर उठेका होलान्। जे होस्, यी सबै व्यवस्थित गर्नुपर्छ। होइन भने मदन भण्डारी फाउन्डेसनका नाममा तलसम्म गतिविधि बढाउने अनि पुष्पलाल मैत्री केन्द्र किन नखोल्ने ? यसरी जाँदा समानान्तर रूपमा जान सक्छ। अहिले दुइटा तलसम्म प्रतिस्पर्धामा गइरहेको छ– मदन भण्डारी फाउन्डेसन र पुष्पलाल मैत्री केन्द्र। यसले केही समस्या छ। यसलाई पार्टीले गम्भीरतापूर्वक सोचेर एउटा टुंगोमा पुर्‍याउनुपर्छ।’

केन्द्रीय सदस्य खिमलाल भट्टराईका भनाइअनुसार गुटबन्दी पार्टीमा तलबाट गरिने कुरा होइन, तलबाट गुटबन्दी भइहाल्यो भने पनि त्यसले सिंगो पार्टीलाई प्रभावित गर्न सक्दैन। तर माथिबाट हुने गुटबन्दीले सिंगो पार्टीलाई ध्वस्त बनाउँछ।

‘आज हाम्रो पार्टीको समस्या भनेको गुटबन्दी माथिबाट भइरहेको छ। केन्द्रीय सचिवालय, स्थायी समितिलाई मात्रै गुटबन्दी मुक्त बनाउन सक्यौं भने सिंगो पार्टी राम्रो हुन्छ। मुहान संग्लो बनाउने कुरामा पहिला पार्टी केन्द्रीय सचिवालय लाग्न जरुरी छ।’ नेता भट्टराई भन्छन्।

मदन भण्डारीकै नाममा कति–कति ?  

जननेता मदन भण्डारीकै नाममा नेकपाभित्र धेरै संघसंस्था खोलिएका छन्। ती सबैमा पार्टीका कुनै न कुनै तहका नेताहरूले नेतृत्व गरिरहेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठान पार्टीको निर्णयमै बनाइएको हो। यसका अध्यक्ष छन् नेता प्रदीप नेपाल। यसले भारतीय दूतावासबाट समेत सहयोग लिएर कार्यक्रम गरेको भनी पार्टीभित्र विवादमा पनि परेको थियो।

अर्काे संस्था हो– मदन भण्डारी फाउन्डेसन। मदन भण्डारीकै छोरी अर्थात् राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी यो फाउन्डेसनको अध्यक्ष छिन्। उनी अहिले सक्रिय राजनीतिमा छन्। पार्टीको महिला संगठनको उनी केन्द्रीय सदस्य बनेकी छन्। यसका सबै जिल्लामा कमिटी पुगेको छ। एनजीओका रूपमा दर्ता भएको यसमा प्रधानमन्त्री ओली पक्षका नेताहरू मात्र संगठित देखिन्छन्।

मदन भण्डारी अध्ययन केन्द्र पनि नेकपाभित्र छ। यसका अध्यक्ष भने पर्यटनमन्त्री योगेश भट्टराई छन्। एनजीओका रूपमा दर्ता भएको यसका पनि कतिपय जिल्ला तहसम्मै कमिटी छन्। यसमा माधव नेपाल पक्षका नेताहरू संगठित छन्।

पछिल्लो चरण पुष्पलाल मित्रता केन्द्र पनि सक्रिय छ। जगन्नाथ खतिवडा अध्यक्ष, जयन्ती राई उपाध्यक्ष, रविन कोइराला महासचिव रहने गरी यो संस्था सक्रिय बन्न थालेको छ। यसमा माधव नेपाल पक्षका नेताहरू समेटिएका छन्। यो केन्द्रले पनि अहिले सातवटै प्रदेश र ७७ ओटै जिल्लामा शाखा विस्तार गरिरहेको छ। झलनाथ खनालका नाममा समेत प्रतिष्ठान छ नेकपाभित्र– झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान। सरकारले यो प्रतिष्ठानलाई पनि यस अगाडि नै पैसा दिइसकेको छ।

यसका अलावा जिल्ला तहमा पनि संघसंस्था र प्रतिष्ठान नेकपाका नेताहरूले उत्तिकै मात्रामा बनाएका छन्। रत्न वान्तवा स्मृति प्रतिष्ठान इलाम, सुखानी सहिद स्मृति प्रतिष्ठान झापा, हरि नेपाल स्मृति प्रतिष्ठान संखुवासभा, पाण्डवराज घिमिरे र विनोद घिमिरे स्मृति प्रतिष्ठान जनकपुर, सहिद ऋषि देवकोटा (आजाद) स्मृति प्रतिष्ठान सिन्धुली, एकदेव आले चिन्तन प्रतिष्ठान तनहुँ, सहिद उमेश थापा स्मृति प्रतिष्ठान दाङ, यदु स्मृति प्रतिष्ठान रुकुम, रामनाथ दाहाल स्मृति प्रतिष्ठान झापा, नेपाल अध्ययन केन्द्र, माक्र्स द्विशतवार्षिकीलगायतका नाममा पनि नेकपाका नेताहरू जोडिएका संघसंस्था पार्टीभित्र छन्।

कसरी व्यवस्थित गर्ने ?  

तत्कालीन माओवादीतिरका भन्दा पनि एमालेतिरका नेताहरू जोडिएर खोलिएका संस्था नेकपाभित्र धेरै देखिएका छन्। यस्ता संघसंस्थाले पार्टीभित्र विवाद बढाउने काम मात्र गरेको आवाज बेलाबखत नउठेका होइनन्। यसअघि पनि पार्टी नेताका नाममा खोलिएका प्रतिष्ठान पार्टीको हो भने नेतृत्व पार्टीले तोक्नुपर्ने माग तत्कालीन एमालेमा उठेको थियो। प्रचार विभाग उपप्रमुख तथा अहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले यो बहसका लागि तत्कालीन एमाले छँदै लिखित प्रस्ताव पार्टीमा राखेका थिए।

थापाले पार्टी नेताका नाममा प्रतिष्ठान/फाउन्डेसन/केन्द्र इत्यादि आफूखुसी गठन गरी गुटबन्दीको खेलमैदान बनाउन बन्द गरिनुपर्ने, पार्टीको स्वीकृतबेगर गठन भएका/खोलिएका यस्ता संरचनाहरू पार्टीका दायरा र संस्थागत योजनामा देश, जनता, समाज र सम्बन्धित नेता/अग्रज र सहिदको प्रतिष्ठा र सम्मान अभिवृद्धि गर्ने गरी सञ्चालन गर्नुपर्ने भन्दै बहसका लागि पार्टीमा माग गरेका थिए।

त्यसपछि नै एमालेले प्रतिष्ठान हेर्ने गरी नेता वेदुराम भुसाललाई इन्चार्ज बनाएको थियो। उनले प्रतिष्ठान सञ्चालन निर्देशिकाको मस्यौदा बनाई तत्कालीन महासचिव ईश्वर पोखरेललाई बुझाएको नेकपा नेताहरू बताउँछन्। तर पार्टी एकतापछि त्यो पार्टीभित्रै त्यसै थन्किएको नेताहरूको भनाइ छ। अब यस्ता संस्थालाई नयाँ परिवेश र आधारमा व्यवस्थित बनाउनुपर्ने केन्द्रीय सदस्य युवराज चौलागाईं तर्क गर्छन्। उनी भन्छन्, ‘नयाँ आधारमा पार्टी एकता भइसकेपछि पुराना गुटहरू अन्त्य गर्ने हो भने ती प्रतिष्ठानहरूलाई या पार्टीले स्वामित्व लिएर सञ्चालन गर्नुपर्छ या पार्टी कार्यकर्ताभन्दा बाहिरका मान्छे बसेर स्वतन्त्र र व्यावसायिक ढंगले गतिविधि गर्न दिनुपर्छ। पुरानो ढंगले ती प्रतिष्ठान चल्न हुँदैन। हाम्रोजस्तो पार्टीमा प्रतिष्ठानसम्बन्धी सही नीति आवश्यक छ।’


टिप्पणी


नेताहरूका बोली र व्यवहार दाँज्नुपर्छ

– गणेश शाह, स्थायी समिति सदस्य, नेकपा

पार्टीको भर्खर सम्पन्न केन्द्रीय समिति बैठकमा गुटबन्दीसँग जोडेर दिवंगत राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताहरूका नाममा खोलिएका संघसंस्था र प्रतिष्ठानका विषयमा प्रश्न उठे। समूह नेताहरूले आफ्नो रिपोर्ट राख्ने क्रममा प्रतिष्ठानहरू गुटबन्दी गर्ने घर बने भनेर आफ्ना कुरा राखे। समूह नेताहरूले प्रतिष्ठानहरू गुटबन्दीको थलो बने, यसलाई नियन्त्रण गर्नुपर्‍यो या पार्टीको एउटा नीतिभित्र ढालेर सञ्चालन गर्नुपर्‍यो भनेर प्रश्न उठाए पनि जवाफ दिने शीर्ष नेताहरूले यसबारेमा खास केही टिप्पणी गरेनन्। अर्थात् भनौं, यस विषयमा कुनै जवाफ नै दिएनन्।

तर नेताहरूले पार्टी दस्ताबेजदेखि अभिव्यक्ति दिँदासम्म गुटबन्दी अन्त्य गर्ने कुरा गर्नुभएको छ। प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। नेतृत्वले त्यस्तो प्रतिबद्धता व्यक्त गरेपछि समूह नेताहरूले उठाएको प्रतिष्ठान गुटका घर भए भन्ने विषय पनि व्यवस्थित हुन्छन् र गुटका थलो बन्दैनन् अब भन्ने ढंगले बुझ्नुपर्‍यो। मुख्य कुरा हाम्रा नेताहरूले बोलेका कुरा व्यवहारतः कति कार्यान्वयन गर्छन् ? नेताहरूका बोली र व्यवहार नेता–कार्यकर्ताले कत्तिको विश्वास गर्छन् ? त्यो मुख्य हो। यो परीक्षाको विषय छ– नेताहरूका बोली र व्यवहार कत्तिको कार्यान्वयन हुन्छ ?  

नेताहरूले जसरी गुटबन्दी नगर्ने भनेर पार्टी बैठकमा प्रतिबद्धता जनाउने र नेता–कार्यकर्तामा आश्वासन दिने काम गर्नुभएको छ, त्यो सकारात्मक छ। अहिले जति पनि नेताहरूका नाममा खोलिएका संघसंस्था र प्रतिष्ठानहरू छन्, त्यो अहिल्यै कसैले भन्दैमा सीधै विघटन हुने भन्ने हुँदैन। यो पार्टीको निर्णयमा भन्दा पनि नेताविशेषले आफ्नै किसिमले, विभिन्न समूहले गठन गरेका हुन्, त्यस्ता संघसंस्था र प्रतिष्ठानहरूको नामाकरण जे गरे पनि। खासगरी यस्ता प्रतिष्ठानहरू एनजीओका रूपमा खोलिएका देखिन्छन्।

२०४८ सालपछि धेरै एनजीओ/आईएनजीओहरू नेपालमा देखा परे। खासगरी सुरुआतीका बेला मानव अधिकारलगायतका क्षेत्र समेटेर त्यसका आवरणमा पश्चिमाहरूको लगानीमा ती संघसंस्था चलेका देखिन्थे। पछि यो पार्टी नेता–कार्यकर्तामा पनि मोह जाग्यो। पार्टी नेताहरूले नै व्यक्तिगत रूपमा या समूहका रूपमा त्यस्ता एनजीओहरू खोल्ने, राज्यबाट भरथेक सहयोग पनि लिने र चलाउने पनि गर्न थाले। त्यही क्रममा जन्मिएका हुन्, दिवंगत नेताका नाममा खोलिएका संघसंस्था र प्रतिष्ठानहरू।

प्रधानमन्त्री केपी ओली पहिलोपटक प्रधानमन्त्री भएर आएपछि र त्यसभन्दा पनि अगाडि पनि नेताका नाममा संस्था खोल्ने लहर पार्टी नेताहरूमा अलिक बढी देखा परेको देखिन्छ। कोहीले प्रतिष्ठान, समाज कसले के भनेका छन्। मदन भण्डारी, पुष्पलाल आदि नेताका नाममा खोलेका छन्। त्यति मात्र होइन, झलनाथ खनालका नाममा पनि स्वास्थ्य केन्द्रका रूपमा संस्था खोलिएको रहेछ। यस्ता संस्था प्रतिष्ठानमा सरकारले पैसा दिने चलन चल्यो भने चहलपहल झाँगिदो रहेछ, नत्र सानो संस्थाका रूपमा मात्र रहिरहन्छ। तर मलाई सोध्नुहुन्छ भने यस्ता संस्थाहरूलाई राज्यले पैसा दिने काम बन्द गर्नुपर्छ।

दिवंगत नेताका नाममा संघसंस्था खोल्ने काम अन्यत्र देशमा पनि छन्, नभएका होइनन्। भारतमै पनि छ। तर अन्य देशमा यस्ता संघसंस्था खासगरी थिंक ट्याङका रूपमा अगाडि आएको देखिन्छ। हामी कहाँ समूहबन्दी राजनीतिका रूपमा आएको चर्चा नेताहरूले बैठकमा गरेका छन्। कांग्रेसमा पनि गणेशमान सिंहलगायतका नाममा संस्था खोलिएको देखिन्छ। नवीन्द्रराज जोशीले त्यसलाई चलाइरहेका छन्। अन्य पनि होलान्, त्यसले पार्टीमा कति गुटबन्दी गरेको छ थाहा छैन। नेपालको राजनीतिमा यो एउटा कमजोरी हो। राजनीति गर्नेको चरित्र अहिले कुनै स्थापित लिडर अहिले वा दिवंगत भएका नेताका पछि लागेन भने आफ्नो क्षमता देखाउन सक्ने अवस्था देखिँदैन।

नेपालको सामाजिक बनावट, राजनीतिक कार्यकर्ताको संस्कार नै बस्यो कि दिवंगत नेताहरूका नाम र वर्तमान नेताहरूलाई अगाडि राखेर गतिविधि गर्ने। पार्टीभित्र वैचारिक संघर्ष नै छैन अहिले। जहाँसम्म महाधिवेशनवाट नेतृत्व कसले हत्याउने भन्ने प्रश्न हो, त्यसबेला पार्टीभित्रको जनमतले कुन अवस्था लिन्छ, त्यसैले निर्धारण गर्ने हो। हामीले दुई नेता (अध्यक्षद्वय ओली र प्रचण्ड) प्रति जति असन्तुष्टि लिए पनि केन्द्रीय समितिले अन्ततः दुवै नेतालाई ‘एसेप्ट’ गर्नेतिर गयो।

हामी धेरै उपभोक्तावाद र सुखसयलमा छौं। ‘सर्कसको सेर’ जस्तो सत्ता सुविधामा हुर्केका मान्छेमा जुझारुपन, संस्कार हराउँछ। हामी त्यस्तै भएका छौं। अवसर लिन कसका पछि लाग्ने भन्ने हुन्छ। उपभोक्तावादले गाँजेको छ। यस अर्थमा पनि केही मनोविज्ञान त्यस्तो बन्न जाला। तर यस्ता संघसंस्था र प्रतिष्ठानहरू कति चल्ने र नचल्ने भन्ने विषयमा राज्य र पार्टी नेतृत्वले सोच्नुपर्छ। राज्यले पैसा दिने काम बन्द गर्नुपर्छ। मुख्य लिडरसिपले चासो देखाउनु हुन्न विस्तारै यी संघसंस्था आफैं साइजमा आइहाल्छन्।

  गुटले पार्टी खाएपछि यो पार्टी हो कि होइन ?  

लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य नेकपा

गुटले पार्टी खायो। गुटले खाएपछि पार्टी हो कि होइन थाहा भइहाल्छ। गुटको नेतृत्व माथिबाट भयो। गुट परिचालन मरेका राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताहरूका नाममा भइरहेका छन्, त्यसको मूल्यांकन कसरी गर्ने ?  गम्भीरतापूर्वक प्रश्न उठेको छ। नेताहरूका आचरण, शैली, स्वभाव बदल्न जरुरी छ। बुर्जुवाकरण पार्टीभित्रको गम्भीर समस्या छ। यसले पार्टीलाई पार्टी जस्तो ओइन, गुटहरूको फेडेरेसनजस्तो बनाइरहेको छ। नेताहरूले बेलैमा नसोच्ने हो भने गुटले पार्टी खाइदिन्छ।

गुट र झूटबाट पार्टी चलाउन खोज्ने प्रवृत्ति अन्त्य गरिनुपर्छ

राजेन्द्र राई, केन्द्रीय सदस्य, नेकपा

पार्टी गुट–उपगुटमा अलमलिएको, पूर्वएमाले र माओवादी हुँदैदेखि गुटबन्दी, एकतापछि पनि गुट–उपगुट कायमै, पूर्वएमाले र माओवादीको भावना पनि कायमै रहेको, गुट–उपगुटका स्रोत र कारण नेताहरू हुन्, त्यसैले नेताहरू नसच्चिएसम्म गुटबन्दी अन्त्य हुन सक्दैन। नेतृत्वले गुटगत भावनाभन्दा माथि उठेर काम गर्नुपर्‍यो, नेतृत्वले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गर्नु हुन्न। गुट र झूटबाट पार्टी चलाउन खोज्ने प्रवृत्ति अन्त्य गरिनुपर्छ, गुट बचाउने, गुट पचाउने तरिकाको अन्त्य हुनपर्छ। विभिन्न दिवंगत राष्ट्रिय, अन्तर्राष्टिय नेताहरूका नाममा प्रतिष्ठान, अध्ययन केन्द्र, फाउन्डेसनजस्ता संस्थाहरू खोलेर गुटका अखडा बनाउने प्रयास भएको छ। ती सबै बन्द गरिनुपर्छ नत्र पार्टीका निर्णयभित्र पारी तोकेका व्यक्तिले तोकेअनुसार ती संस्था चलाउनुपर्छ।

पार्टीमा प्रतिष्ठानसम्बन्धी सही नीति आवश्यक छ

युवराज चौलागाई, केन्द्रीय सदस्य नेकपा

पार्टी नेताहरूद्वारा चलाइएका र ठूलो मात्रामा कार्यकर्ताहरू सहभागी समेत रहेका प्रतिष्ठानहरूलाई व्यवस्थित गरौं। यस्ता प्रतिष्ठानमार्फत् गुटबन्दी फैलाउने काम भइरहेको छ। पार्टी नयाँ आधारमा एकतामा गइसकेपछि पुरानो गुटहरू अन्त्य गर्ने हो भने ती प्रतिष्ठानहरूलाई या त पार्टीले स्वामित्व लिएर सञ्चालन गर्नुपर्छ या पार्टी कार्यकर्ताभन्दा बाहिरका मान्छे बसेर स्वतन्त्र र व्यावसायिक ढंगले गतिविधि गर्न दिनुपर्छ।

पुरानो ढंगले ती प्रतिष्ठान चल्न हुँदैन। हाम्रो जस्तो पार्टीमा प्रतिष्ठानसम्बन्धी सही नीति आवश्यक पनि छ। धेरै प्रतिष्ठान बनेका छन्। त्यहीमार्फत एनजीओकरण भएर पार्टीमा समस्या आइरहेको हो।

समस्या तल होइन, माथि नै खोजिनुपर्छ

ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा

पार्टीभित्र पूर्वसमूहको मानसिकता र पूर्व समूहका पनि गुटका प्रशाखाहरू चुनौती बनेका छन्। अनुशासनहीनता, अराजकता झाँगिँदै जाने, गुटबन्दीलाई संस्थागत गर्दै जाने मात्र होइन, पार्टी गुटहरूको फेडेरेसन बन्ने त होइन भन्ने चिन्ता छ। तर गुटबन्दी कहाँबाट भएको छ ? कसले र किन यसको नेतृत्व गर्दै छ ? समस्या के हो ? समस्याको समाधान यसरी गर्न सकिन्छ भन्ने समाधानसहित पार्टी नेतृत्व प्रस्तुत हुनुपर्छ। समस्या तल होइन, माथि नै खोजिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.