कोरोनामुक्त क्षेत्र घोषणामा अन्योल
काठमाडौं : चीनबाट उद्धार गरिएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) नपाए पनि मुलुकलाई कोरोनामुक्त क्षेत्र घोषणामा अन्योल भएको छ। कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन, नागरिक उड्डनयनमन्त्री योगेश भट्टराईले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। गत मंगलबार छलफल कार्यक्रममा मन्त्री भट्टराईले तीन दिनभित्र अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री तयार गरी सम्प्रेषित गर्न निर्देशन दिएका थिए।
प्रचारात्मक सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग,नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेबसाइट तथा सामाजिक सञ्जालमा समेत राख्न दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन। चीनलगायत मुलुकबाट पर्यटक आवागमन संख्या घटे पनि स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छैन। सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनामुक्त क्षेत्र घोषणा तयारीको विषयमा कुनै जानकारी नभएको बताए। उनले भने, ‘ २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परेको छ। चीनबाट मात्र होइन भारत, अमेरिका, जापानबाट पनि संक्रमण आउन सक्छ। अहिले नै कोरोनामुक्त क्षेत्र घोषणा गरिहाल्न सकिँदैन।’ पर्यटकलाई आवागमनमा कुनै बन्देज नलगाइएको उनले बताए।
चीनबाट आएका एक विद्यार्थीमा भाइरस संक्रमणको देखा परे पनि अहिले उनी स्वस्थ छन्। स्वास्थ्यसचिव खगराज बरालका अनुसार शंकास्पद व्यक्तिको स्वास्थ्य जाँच गर्दा सबैको भाइरस नेगेटिभ देखा परेको छ। ‘कोरोनाबाट डराउने स्थिति छैन। पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य हो’, उनले भने।
अन्य मुलुकमा भाइरसको संक्रमण भइरहेकाले नेपालमा कुनै व्यक्तिलाई संक्रमण भइहालेको अवस्थामा अन्योल सिर्जना हुने भएपछि स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ। सचिव बरालले भने, ‘एक जनामा पनि संक्रमण देखियो भने असुरक्षित मुलुक रहेछ भन्ने देखिन सक्छ।’ नेपालले अपनाएको निगरानी, नियन्त्रण र रोकथामको विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रशंसा गरेको सचिव बरालले बताए।
डब्लुएचओले अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्धको सिफारिस गरेको छैन। माघ १६ गते स्वास्थ्य आपतकालीन घोषणा गरिएको थियो। फागुन ४ गते चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ नेपालीको नाक र घाँटीको स्वाव परीक्षण गर्दा भाइरस नेगेटिभ देखिएको छ। मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पुनः सबैको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरिने भएको छ। उद्धार गरिएका नेपाली भक्तपुर खरिपाटीको नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रस्थित क्वारेन्टाइनमा बसिरहेका छन्।
कोरोना भाइरसका लक्षण
· ज्वरो आउने
· रुघाखोकी लाग्ने
· घाँटी÷टाउको दुख्ने
· श्वाप्रश्वासमा समस्या आउने
कसरी जोगिने ?
· नियमित साबुनपानीले हात धुने
· खोक्दा/हाच्छिउँ गर्दा नाक मुख छोप्ने
· फ्लुको लक्षण पाइए चिकित्सकसँग परामर्श गर्ने
· जंगली तथा घरेलु पशुपक्षको असुरक्षित सम्पर्कबाट टाढा हुने
· पशुजन्य मासु/अन्डा राम्रोसँग पकाएर मात्र खाने