घरसँग लगनगाँठो
माघ, फागुन, वैशाख, जेठ, असार र मंसिर।
अचेल यी महिना मेरा लागि शत्रुजस्तै भएका छन्।यी महिना त नआइदिए नि हुन्थ्योजस्तो लाग्छ।झोक चल्छ, ‘क्यालेन्डरबाटै हटाइदिन्थेँ, मेरो वशमा हुँदो हो त।’
पहिले-पहिले दिदीहरू भन्थे, ‘हुर्केकी छोरीलाई यो समाजले देखिसहँदैन।’ हिजोआज मलाई त्यही महसुस भइरहेको छ।
भेट्नेबित्तिकै ‘बेला भएन ? ’ प्रश्न तेस्र्याउनेहरूको कमी छैन।मुखै फोडेर ‘अब त बेला भयो होला नि बिहे गर्ने ? ’ भन्नेहरू पनि छन्।
‘अब ढिला गरिस् भने घरजम गर्न गाह्रो हुन्छ है, छोरी’, आफन्तले सुझाउने गर्छन्।
‘छोरीको बिहे भइदिए हुन्थ्यो’मा घरपरिवार पनि पुगिसक्यो।‘नातिनीको बिहे भए हाइसन्चो हुने थियो’, हजुरआमा बारम्बार दोहोर्याई रहनुहुन्छ।उहाँले यसो भनिरहँदा मलाई चाहिँ अपराधबोध हुन्छ, ‘७० वर्षीया बूढी हजुरआमाको सबैभन्दा ठूलो चिन्ताको विषय मै रहेछु।’
बिहेसँग विमति होइन।‘विवाह संस्था’माथि म पनि विश्वास गर्छु।तर, बिहे गर्नु मेरो नितान्त व्यक्तिगत निर्णय हो।
‘बिहे कोसँग ? ’
केही वर्षयता म लमीहरूको ‘निगरानी’मा छु।उनीहरू मेरो घरवरिपरि डुलिरहन्छन्।बिहेको महिना लागेसँगै अलग-अलग केटाका लागि नयाँ-नयाँ ‘बम्पर अफर’सहितका प्रस्ताव लिएर घरमा बारम्बार आइरहन्छन्।उनीहरूले विभिन्न प्रलोभन दिने गरेका छन्- केटाको काठमाडौंमा घर छ, गाडी छ, सरकारी जागिर छ अथवा केटा विदेशमा छ, पैसावाल छ आदि इत्यादि...।
तर, उनीहरूले मलाई भन्दैनन्, ‘केटाचाहिँ कस्तो छ ? ’ न सोध्छन् नै ‘तँलाई कस्तो जीवनसाथी चाहियो ? ’
म रनभुल्लमा पर्छु, ‘मैले कोसँग बिहे गर्ने हो- केटासँग कि केटाको घर, गाडी, जागिर वा पैसासँग ? ’
केटो बेरोजगार होस्, ‘ओके’।उमेरमा दोब्बर होस्, ‘ओके’।अशिक्षित होस्, ‘ओके’।कुलतमा होस्, ‘ओके’।चरित्रहीन होस्, ‘ओके’। नहुनुपर्ने नराम्रा गुण सबै भए पनि, ‘ओके’।तर, काठमाडौंमा घर भने हुनुपर्यो।
हालै आएको एउटा बिहे प्रस्ताव !
जो एक जना नातेदारले ल्याएका थिए।स्वीकार गरेको भए म कसैकी ‘दोस्री श्रीमती’ हुन्थेँ।पहिलो श्रीमती बितिसकेकी रहिछन्।बिहे प्रस्ताव सुनाइरहँदा मेरा अनुहारका हाउभाउ देखेर नै नातेदारले मेरो जवाफ बुझिहाले ‘नो’।त्यसपछि उनले भने, ‘नानी यो प्रस्ताव मन परेन भने अर्को पनि छ।’ कुनै व्यापारीले ग्राहकलाई सामान मन नपर्दा जसरी ‘अप्सन’ दिन्छ, त्यसै गरी नातेदारले पनि मलाई छनोटको सुविधा दिए।अर्को प्रस्ताव नि खासै फरक थिएन।त्यसमा पनि उनले मलाई ‘दोस्री श्रीमती’ नै बनाउन खोजेका थिए।यस प्रस्तावमा चाहिँ पहिलो श्रीमती छोडेर गएकी रहिछन्।
‘ श्रीमती बितेको वा छोडेको भएर के भो त ! काठमाडौंमा एकजनाको तीनतले र अर्काको दुईतले घर छ’, मेरा नातेदार आफूले बनाउन खोजेका ‘ज्वाइँ’को योग्यता बयान गर्दै थिए, ‘लौ भन कुनचाहिँ रोज्ने दुईतले कि तीनतले ? ’
त्यतिखेर महसुस भयो, ‘बिहे कोसँग ? केटा कि घर ? ’
मेरा केही साथी पनि मजस्तै ‘कन्फ्युज्ड’ छन्, ‘केटा कि घर ? ’
पछिल्लो समय भेट हुँदा एक जना साथीले आफ्नो दुःखेसो पोखेकी थिइन्।‘केटो धनी छ, काठमाडौंमा घर छ, यति भए के चाहियो ? ’ घरबाट बिहे गर्न दबाब दिइरहेका छन्’, साथीले सुनाएकी थिइन्, ‘मैले केटासँग पो बिहे गर्ने हो उसको घरसम्पत्तिसँग होइन।आमाबुवाले कस्तो नबुझेको।उहाँहरूले त केटा होइन, तलाअनुसारको घर रोज्न लगाइराख्नुभएको छ।मैले केटा रोज्नु कि घर ? ’
‘केटो असल छ, ज्ञानी छ, कुनै कुलतमा छैन, व्यावहारिलो छ, छोरीलाई सुख दिन्छ’ भनेर बिहे प्रस्ताव आउँथे।अहिले परिस्थिति फरक छ।‘काठमाडौंमा घर छ, सम्पत्ति छ’ भनेर बिहे प्रस्ताव आउने गर्छन्।
काठमाडौंमै घर भएको ज्वाइँ पाउने लालसाले अचेल मेरा आफन्त र नातेदारलाई दपेट्नु दपेटेको छ।केटो बेरोजगार होस्, ‘ओके’।उमेरमा दोब्बर होस्, ‘ओके’।अशिक्षित होस्, ‘ओके’।कुलतमा होस्, ‘ओके’।चरित्रहीन होस्, ‘ओके’।नहुनुपर्ने नराम्रा गुण सबै भए पनि, ‘ओके’।तर, काठमाडौंमा घर भने हुनुपर्यो।फेरि, अरू ठाउँमा होइन देशको राजधानीमै घर हुनुपर्यो।यही नै उसको ‘महान् गुण’ हुनेछ।
अपेक्षा आआफ्ना
हजुरआमाको नातिनीको बिहे देखेर मर्ने धोको छ।आमाबुवालाई ‘काठमाडौंमा घर भएको ज्वाइँ’को चाहना छ।दिदीले सल्लाह दिनुहुन्छ, ‘काठमाडौंमा घर त चाहिन्छ है, नानी।’ घरपरिवारका ठूलाबडाले आआफ्नो इच्छा जाहेर गरेपछि भाइबहिनीचाहिँ किन बाँकी राख्थे।‘भिनाजु त काठमाडौंमै घर भएको हुनुपर्छ है, दिदी’, उनीहरू पनि आफ्ना मनका कुरा खोल्छन्, ‘दिदीको काठमाडौंमै घर भए यसो कहिलेकाहीँ हामी पनि जान्थ्यौं।’
काठमाडौंमै घर भयो भने घरका सदस्यले मात्रै होइन, छिमेकीले पनि आउने चाहना देखाउँछन्।‘हेर्नुस् है, छोरीलाई त काठमाडौंमै घर भएको केटासँग बिहे गरिदिनुपर्छ’, बेलाबेलामा छिमेकीहरू आमाबुवासँग भन्ने गरेका छन्, ‘छोरीको घरमा हामी पनि कहिलेकाहीँ तपाईंसँग पाहुना बनेर जान्थ्यौं।’ उनीहरू ‘आगोमा घिउ’ थप्ने काम गर्छन्।
०० मेरो अपेक्षा...
सम्बन्धमा स्वतन्त्रता हुनुपर्यो, मेरो आत्मनिर्भरता नखोसियोस्, श्रीमान्को रूपमा साथी पाइयोस्।बिहे ‘बन्धन’ नहोस्, जीवनमा अघि बढ्ने ‘बाटो’ बनोस्।
यति भए पुग्छ।इँटा, सिमेन्ट, बालुवा, टायल आदिले बनेको घरले असल श्रीमान्को भूमिका निर्वाह गर्न सक्दैन।श्रीमान् बन्न ‘अचल सम्पत्ति’ होइन, ‘असल गुण’ हुनुपर्छ।
‘कामबाट अबेर घर फर्किंदा मेरासामु प्रश्न नतेस्र्याइयोस्, कहिलेकाहीँ मन लागे बिहान अबेरसम्म सुत्न मलाई हिच्किचाहट महसुस नहोस्।‘बुहारी कुटाइमको जागिर गरेर के गर्छौ ? केको कमी छ र ? बरु घरबार सम्हालेर बस’ सुन्नु नपरोस्।बिहेबारे मेरा आफ्नै मान्यता छन्।आफ्नै सोचाइ छ।चाहन्छु- बिहेपछिको जिन्दगी पनि बिहेअघिजस्तै होस्।’
मैले गर्ने पेसाको प्रकृति नै यस्तो छ।घाम नडुब्दै घर पुगियो भने आफैंलाई अनौठो लाग्छ।चाँडै घर पुग्दा भाइबहिनीले सोध्ने गर्छन्, ‘दिदी आज जागिर छोडेर आइस् कि क्या हो ? ’ यस्तो मान्छेले ‘बुहारीको बन्धन’मा फसेर जागिर पचाउन सक्ला त !
‘काठमाडौंमा घर’का कथा
कथा-१
एक जना परिचित बहिनीले गत मंसिरमा बिहे गरिन्।बिहेअघि उनको घरपरिवार उनकै आडभरोसामा थियो।उनी ट्राभल एजेन्सीमा काम गर्थिन्।आत्मनिर्भर थिइन्।‘काठमाडौंमा घर’ भएको केटाको बिहे प्रस्ताव आएपछि लगनगाँठो कसिन्।उनको मागी बिहे हो।केटा हेर्न आएकै दिन औंठी साटासाट भयो, त्यसको केही दिनमै बिहे।हप्ता दिनभित्र बिहे बन्धनमा बाँधिएकी उनी अहिले ‘काठमाडौंकी घरबेटी’ बनेकी छन्।एक महिना अघिसम्म घरबेटीलाई ‘भाडा बुझाउने’ उनी अहिले ‘भाडा उठाउने’ भएकी छन्।तर, केही दिनअघि भेट हुँदा उनले आफ्नो बिहे अनुभव सुनाएकी थिइन्।‘घर मालिक त बनियो तर खुसी भने पाइएन’, उनले भनेकी थिइन्, ‘यो घरभाडा उठाउनुभन्दा त आफैं कमाएर घरभाडा तिर्दा पो खुसी पाइँदो रहेछ।’
बिहेपछि उनले जागिर छोडेकी रहिछन्।‘सासूले घरभाडा आइहाल्छ, किन काम गर्नुपर्यो ? भन्नुभयो’, उनले सुनाइन्, ‘त्यसैले बिहेलगत्तै जागिर छाडेँ।’ बिहेपछि उनी घरभित्रै सीमित छिन्।‘अहिले त घर स्याहार्दै दिन बित्छ’, उनले भनिन्, ‘घरबाट १० मिटर परको माइती जान पनि १० पटक सोध्नुपर्छ।हुन त ‘घरमालिक’ हुँ तर हैसियत ‘घरगोठालो’ भन्दा बढी छैन।घर हेरेर बिहे गर्न नहुने रहेछ।’
० कथा-२
एक जना आन्टीले गौरवसाथ सुनाइन्, ‘मैले त काठमाडौंमा दुइटा घर भएको घरवालालाई छोरी दिने विचार गरेँ नि !’
‘ए हो र ? ’ मेरो प्रतिक्रिया थियो।
‘भोलि केही भइहाल्यो भने एउटा घर सोझै छोरीले पाउँछे’, उनले भनिन्।‘भोलि केही भइहाल्यो’ भन्नुको तात्पर्य ‘सम्बन्ध विच्छेद’ थियो।
ती आन्टीको छोरीका लागि दुइटा प्रस्ताव आएका रहेछन्।एक जना छात्रवृत्तिमा अमेरिकामा पढेको र यहाँ जागिर गर्न थालेको थियो।तर, उसको काठमाडौंमा घर थिएन।अर्को केटा बेरोजगार तर काठमाडौंमा दुइटा घर थियो।आन्टीले ‘दोस्रो’ विकल्पमा सही लगाइन्।उनले छोरीका लागि घर भएको केटा रोजिन्।तर, यसबारे उनले छोरीको इच्छा सोधेकी छैनन्।‘छोरीलाई के सोध्नु छ र ? ’ उनले भनिन्, ‘काठमाडौंमा घर भएको केटाभन्दा राम्रो को नै भेटिन्छ।’
कथा-३
काठमाडौंमै घर भएकी एक जना दिदीलाई हरेक दिन घरबाट उर्दी जारी हुन्छ, ‘बिहे काठमाडौंमा घर भएको केटासँग मात्र गर्नुपर्छ।’ परिवारको यही ‘सर्त’का कारण उनले अहिलेसम्म बिहे गर्न सकेकी छैनन्।‘उमेरले ३५ कटिसकेँ, कहिले बिहे गर्ने होला ? ’ उनले दुःखेसो पोखिन्, ‘परिवार काठमाडौंमै घर भएको केटा हुनुपर्छ भनेर अड्डी कसेर बसेको १० वर्ष भइसक्यो।मेरो ब्वाइफ्रेन्डले बिहे गरेको पनि तीन वर्ष भइसक्यो।’
लामो समय प्रेमसम्बन्धमा रहेकी ती दिदीको ब्वाइफ्रेन्डको एउटै कमजोरी थियो- काठमाडौंमा घर नहुनु।‘ऊ घरमा मलाई माग्न पनि आएको थियो’, उनले भनिन्, ‘केटो होइन, केटोको घर हेरेर छोरी दिन्छौं भनेपछि ऊ नफर्किने गरी मेरो जीवनबाट गयो।’
आचेल ती दिदीका लागि खासै बिहे प्रस्ताव आउँदैनन्।‘कसैले ‘मोटी’ त कसैले ‘आन्टी’ भन्दै जान्छन्’, उनले सुनाइन्, ‘अब त बिहे गर्ने सोच नै दिमागबाट हटाइसकेँ।काठमाडौंमा घरको सपनाले मेरो बिहे हुन नदिने भो।’
कथा-४
उपयत्यकाबाहिरकी एकजना साथी परिवारसहित सानैदेखि काठमाडौंमा बस्छिन्।डेरा जीवनबाट आजित उनको परिवार उनलाई काठमाडौंमा घर भएको केटासँग बिहे गरिदिन मरिहत्ते गरिरहेको छ।
बिहे प्रस्ताव आउँदा उनको परिवारले राख्ने पहिलो जिज्ञासा- ‘यहाँहरूको घर काठमाडौंको कुन ठाउँमा छ ? ’ काठमाडौं घर भए कुरा अघि बढ्छ, नत्र ‘हवस् त नमस्कार’मै टुंगिन्छ।
कथा-५
मैले बिहे प्रस्ताव अस्वीकार गरेपछि एकजना परिचित दिदीले काठमाडौंमा घर भएको केटासँग बिहे गरिन्।अहिले उनी मलाई भन्ने गर्छिन्, ‘धन्न तिमी बच्यौ, त्यो घरसँग बिहे नगरेर तिमीले राम्रो गर्यौ।’ उनी त्यस घरमा एक वर्ष पनि टिक्न सकिनन्।‘घर मात्र राम्रो भएर नहुँदो रहेछ’, उनले भनिन्, ‘घरमा बस्ने मान्छे पनि राम्रो हुनुपर्ने रहेछ।’ त्यहाँ आफूलाई प्रताडित गरिने उनले बताइन्।‘ज्यानभन्दा ठूलो घर होइन’, उनले सुनाइन्, ‘तिनीहरूको अत्याचार मैले सहन सकिनँ।फर्केर माइती आएँ।’ एक वर्षयता उनी माइतमै बस्छिन्।
उनका लमीले दिदीमै दोष खुट्याउँछन्।‘कस्ती लाज नपचेकी’, ‘घर गरेर खान नसकेकी’, ‘माइती आएर बसेकी’जस्ता वाक्य उनका लागि प्रयोग गर्छन्।
सहर मात्र होइन गाउँघरतिर पनि ‘घरको ललिपप’ बोकेर लमीहरू पुग्ने गर्छन्।‘काठमाडौंमा तीनतले घर छ, हजुरको छोरीले दुःख पाउँदिनँ’ भनेकै भरमा छोरी अन्माउनेहरूको कमी छैन।‘आमाबाउले ‘जति ठूलो घर, उति धेरै माया’ भनेपछि नाइँ भन्न सकिनँ’, काठमाडौंमा घरजम गरेकी एक जना आफ्नै गाउँले बहिनीले भनिन्, ‘मायाको त त्यस्तै हो, घरचाहिँ छ।’