साँघुरो
आमाको पेट साँघुरो भयो भन्दै
चिच्याउँदै निस्केको बालक
आफू जन्मेको देश नै साँघुरो भयो भनेर
सीमा कटेर घुम्न निस्कन्छ
त्यही बालक यो धर्ती नै साँघुरो भयो भनेर
चरा झैं आकाशमा उड्न तम्सिन्छ
र यो सबै साँघुरो भयो भनेर
अरू नै ग्रहहरूमा पुग्न खोज्छ ऊ
तर किन
मेरो शासक यतिविघ्न साँघुरिन खोज्दैछ ?
उसलाई थाहा छ
मुख खुल्ला भयो भने निस्कन्छ- आवाज
मस्तिष्क खुल्ला भयो भने बन्छन्- विचार
कान खुल्ला भयो भने सुनिन्छ - आवाज
हृदय खुल्ला भयो भने स्वीकारिन्छ - अरूको अस्तित्व
खुल्ला मनमा फुल्छन्- प्रेमिल फूलहरू
हात फिजाउन सकियो भने सकिन्छ- अंकमाल गर्न
तर किन केही नबुझे झैं ऊ
हावा खेल्ने ठाउँसम्म पनि मन पराउँदैन
र उकुसमुकुस बाँच्छ ?
उसले बिर्सेको छैन
खुल्ला मञ्चले मुख उघारेकै कारण उनीहरू यहाँ छन्
टुँडिखेलले छाती फैलाएकै कारण उनीहरूको अस्तित्व छ
रंगशालाले दिल खोलिदिएकै कारण उफ्रेको छ देश
रत्नपार्कले मन खोलिदिएकै कारण बाँचेको छ प्रेम
टुँडिखेलले न्यानो ममता दिएकै कारण
शान्त भएको थियो भूकम्पले आत्तिएको मन
तर किन अबुझ बनेर ऊ
साँघुरो खल्तीमा पट्याउन खोज्छ फाँटहरूको जवानी
पहिलो पटक जंगलको उकुसमुकुसबाट निस्कँदा
यही खुल्ला मञ्चले दिएको मीठो आतिथ्यता
‘छिमेकीको यस म्यान हैनौं !’ भनेर कड्किन
यही टुँडिखेलले दिएथ्यो साहस
यो सबै बिर्सेर कसलाई तर्साउन
दिनभर परेड खेलाइरहन्छ ऊ नचाहिने ठाउँमा
पत्रकारको कलममा मसी अट्ने ठाउँ घटाऊ भन्छ
गायकको स्वरमा जयजयकार मात्र अटाऊ भन्छ
जनतालाई भेला भएर बात नमार भन्छ
टुँडिखेल, खुल्ला मञ्चलाई तारले बार भन्छ
किन डराउँछ ऊ यति धेरै
र मास्न चाहन्छ जनता भेला हुने मैदान
किन चाहिरहेछ लुँडी लगाउन
ऊबिरुद्ध उठ्ने आवाजको मुखमा
हेर्ने ठाउँ सबै मासेर भ्यु टावर बनाऊ भन्छ
र भुलाउन चाहन्छ जनतालाई
कस्तो अचम्मको सोख हो उसको
खुल्ला हृदय लिएर खुल्ला मैदानमा निस्कन नसकेर
किन साँघुरिएको छ ऊ यतिविघ्न
टीभीका स्क्रिनहरूमा, होर्डिङ बोर्डहरूमा र आफ्नै सुरक्षा घेराभित्र
छिमेकीले देश नै साँघुरो बनाउन लागेको बेला
बालुवाटार, टुँडिखेल र खुल्लामञ्च साँघुरो बनाउँदै
केको रिहर्सल गरिरहेछ ऊ ?