ती अघोरी, म अघोरी !

ती अघोरी, म अघोरी !

शनिबार यात्रामा निस्कनुहुन्न रे !

म भारत भ्रमणका लागि शनिबार निस्केँ।भोलिपल्ट सुनौली, वाराणसी पुग्दा सेलफोन अफ ! अफलाइन म्यापको भरमा हिँड्दा हात लाग्यो शून्य।निकै बेरको रिँगाइपछि ठटेरी बजारको गल्लीमा लेखेको दखेँ, ‘जगदम्बा नेपाली धर्मशाला’।स्वर्गै भेटेझैं लामो निःश्वास लिएर धर्मशाला छिरेको मलाई सञ्चालकले मीठो लवजमा उत्तर दिए, ‘यहाँ कोठा खाली छैन।’

अघिको भन्दा लामो श्वास तानेर नमस्कार गर्नुको विकल्प थिएन।केही दूरीमा भेटिएको अर्को धर्मशाला।नागरिकता लैजान बिर्सने मेरो मस्तिष्क।बिनाआईडी बस्न नमिल्ने त्यहाँको आचारसंहिता।समयको माग, मेरो बिजोग।

होटलमा पनि परिचयपत्र देखाउनुपर्ने, बिन्ती बिसाउनु उत्तम ठानेर म याचक बनिरहेँ।निकै बेरपछि उनले कोठा देखाइदिए।भित्तामा तेह्र ठाउँमा माकुराको जालो, गन्ध आइरहेको बिछ्यौना, खिया लागेको पंखा, पाप्रा उक्किएको भित्ता र भाँचिएको चुकुल।झोला झुन्ड्याएर म घाटमा निस्केँ।अघोरी र शास्त्रीय संगीतबारे अनुसन्धान गर्नु र आचार्यसँगको वचन पूरा गर्नु मेरो उद्देश्य र कर्तव्य दुवै थियो।

शमसानमा अघोरी भेटिने हुँदा एक्लै पञ्चगंगा घाट निस्की घाटघाटै हिँडेर मणिकर्णिका पुग्दा त्यहाँ लास घोचिँदै थियो।मणिकर्णिकामा चौबीस घण्टा लास जलिरहन्छन्, म अघोरी खोज्न थालेँ।लासको गन्ध, चर्चर आवाज निकाल्दै डढ्ने छाला र कपाल, पट्पट् पड्किएको मासु, दन्दनाएको आगो र कुइँकुइँ गर्ने कुकुरसँगै लास घोचिरहेका, तर त्यहाँ अघोरी थिएनन्।घाट, दाउराका हार र खोपाहरूमा खोज्दा पनि नदेखेपछि धर्मशाला फर्कें।थाहा छैन, सुतेपछि मेरो नाकले त्यो नमीठो गन्ध राति कति बेला बिस्र्यो।भोलिपल्ट थाहा लाग्यो, गंगा बढेकाले अघोरीहरू घाटबाट विस्थापित भएका रहेछन्।मलाई अघोरी भेटिने सम्भाव्यता टेन्स टु जीरो भनेझैं लाग्यो।एकाबिहानै दशाश्वमेध घाट, जहाँ प्रातःकालीन स्नान गर्नेहरू सयौं थिए।‘हरहर गंगे’सँग अभ्यस्त भइसकेको मैले ‘हेरहेर गंगा’ भन्नुको विकल्प थिएन किनकि गंगामा मरेका चौपाया, कुखुरा, प्लास्टिक, तुहिएका भ्रूण इत्यादि प्रस्ट देखिन्थे।नुहाएका सँगै गंगा देखेर घिनाएको म विश्वनाथ पुगेँ।घण्टौं लाइन लागेपछि पाएको तीस सेकेन्ड दर्शनकाल, औपचारिकता पूरा गरेर निस्केँ।आरतीको टिकट किनेर दुई बजे राति आरती हेर्न पुगेको थिएँ।महाभष्मको आरतीमा मध्यरातमा मणिकर्णिका घाट पुगेर ल्याइएको भष्मले महाभष्मको आरती गरिन्छ।

सारनाथबाट सीधै बीएच्यू।सहरजत्रो विश्वविद्यालय, पूरा घुम्न अटो रिजर्भ गनुपर्ने, सीधै सेन्ट्रल लाइब्रेरी पुगेँ।रोचक कुरा ! बीएचयू निर्माणकालमा दिनरात मागेर परान धान्ने भिकर्नी आई दान गरेको पैसा विश्वविद्यालयको गेटको खोपोमा टाँसिएको छ।भारतीयको विद्याप्रतिको श्रद्धाको त्योभन्दा उत्तम उदाहरण के होला ? दिनभर तन्त्र र संगीतका पुस्तकमा घोरिएर साँझ दशाश्वमेध घाट पुगी सन्ध्या आरती हेर्न नाउ चढेँ।ऐ गिरी नन्दिनी ... जटा टवी गलज्जल ...सहित वेद मन्त्र पाठ गरी सातजनाले बडो सुन्दर प्रस्तुतिका साथ सम्पन्न गरेको आरती हेर्न करिब पाँच हजारको संख्यामा मानिस उपस्थित थिए।आरती सकिएपछि धर्मशाला फर्केर निद्राको उपासना।

पर बलेका दीप, साहानी र अघोरीको अनुहार, वाराणसी सहर र सुस्ताएको गंगा हेरेर त्रासैत्रासमा म जाग्राम बसिरहेँ।बिहान एक बोतल देशी अघोरीलाई चढाएर म जिउँदै धर्मशाला फर्की उत्तानै सुतेँ।

अब मलाई सिर्फ बीएचयू गएर अनुसन्धानलाई निरन्तरता दिनु र अघोरी खोज्नु थियो।त्यसैले सेन्ट्रल लाइब्रेरी, म तन्त्र र भारतीय शास्त्रीय संगीतका पुस्तक पढ्थेँ।प्रोफेसरहरूसँग लिएको संगीत र तन्त्र विषयक अन्तर्वार्ता डायरीमा मेहफुस थियो।चार बजे निस्केर दशाश्वमेध घाट, अघिल्लो साँझ चढेको नाउका चालकले मलाई देख्नासाथ डाकिहाले।म उनकै नाउमा।दोहोर्‍याएर आरती हेर्न आएकाले होला, उनले मलाई निकै प्रश्न सोधे।मैले आफ्नो बारेमा बताएपछि अघोरीको खोजी गरिरहेको कुरा सुनाएँ र नभेटेको दुखेसो पनि।अघोरीबारे मेरो भोक बुझेर उनले आफ्नो कथा सुनाउन थाले।आरती हेरिसकेको म नाउवालाको श्रोता भएँ।

उनी पहिले तन्त्र साधक रहेछन्, पिताजीले नाउ चलाउने हुँदा उनले सानैमा नाउ चलाउन सिके।४२ वर्षको हुँदासम्म गंगा, घाट र नाउबाहेकको संसारलाई उनले देखेबुझेका छैनन्।नाउ चलाउने र यात्रुलाई घाट डुलाउने गर्दै जाँदा अघोरको संगत गरेका उनले कयौं रात अघोरीसँगै बिताइसकेका रहेछन्।उनको अघोरीसँगको संस्मरण सुन्दा मेरो आङमा काँडा झाँगिए।आरती भइन्जेल सिर्फ अघोरबारे कुराकानी भयो र सकिएपछि सदाझैं गंगा सयर गराएर उनले डुंगालाई किनारमा ल्याए।उतिन्जेलसम्म उनले अघोरीसँग भेटाउने वाचा गरिसकेका थिए।वाराणसी ईश्वरको नगरी मानिन्छ जहाँ मैले थलद्यौता भेट्टाएको थिएँ।थलद्यौताको नाम मनोज साहानी, उनै नाउवाला।अघोरलाई भेट्न गंगा तरेर पारि जानुपर्ने, साहानीकै सल्लाहमा हामी दुई सरकारी ठेकामा गयौं र तीन बोतल देसी किन्यौं।अघोरबारे डरलाग्दा कहानी सुनेको मेरो हंश ठेगानमा थिएन।ज्याकेटभित्र मदिरा च्यापिरहेको म जाडोले भन्दा डरले थर्थराइरहेको थिएँ।अँध्यारोमा म बेलाबेला हाँस्ने थलद्यौताका सेता दाँत देख्थेँ र आफैंलाई भन्थेँ, ‘दाँतजस्तै सफा मन भएको मानिस’।

गंगाको पल्लो तट नजिकिएसँगै मस्तिष्कले ढ्यांग्रो ठोक्न सुरु, लेखक बन्ने चक्करमा अघोरीको भोजन हुन के बेर ! रातको वाराणसी रहरलाग्दो, डर र विचारको सिकार भएको ममा एउटै रहर शेष थियो, बाँच्ने रहर।जीवनमा बाँच्न मात्र रहर लाग्ने समय पनि आँउदो रहेछ।कामिरहेको मलाई साहानीको ढाडस, अमिलो पोखिएझैं मेरो अनुहार, हामी पल्लो तटमा पुग्यौं।त्यो अवस्थामा मेरा सबथोक थलद्यौता नै थिए।कस्तो अचम्म !

नातासम्बन्ध केही नभएको मानिस नै परिस्थितिवश सबथोक बनिदिन्छ।हामी अँध्यारोमा गंगापर ती मानिस भेट्न जाँदै थियौं जसलाई म पात्र बनाउन चाहन्थेँ र लेख्न चाहन्थेँ अलिखित सत्य।चिसो सिरेटोले हानिरहेको, पाइला चलिरहेकै पनि, निकै बेर हिँडेपछि धुनी देखियो।त्यही आगोलाई गन्तव्य मानेर सोझिइरहेका हामी, तर जतिजति आगो नजिकिन्थ्यो म उतिउति चिसिन्थेँ।साँच्चै ! आगोको समीपमा ककर्किएको जीवनको त्यो पहिलो अनुभव थियो।रेगिस्तानजस्तै बालुवा मात्र भएको भूमिमा हिँडिरहेका हामीले धमिलो मानव आकृति देख्यौं, जुन क्रमशः प्रस्ट हुँदै गइरहेको थियो।लट्टा परेको जटा, शरीरभरि भष्म, कालो रङको कपडामा बसेको नांगो अघोरीको आडमा कुकुर र मानव खोपडी थिए।उसका सामु पुगेपछि उस्ले साहानीलाई चिनिहाल्यो र मलाई डरलाग्दा आँखाले निकै बेर हेर्‍यो।केही बेरको मौनतापछि उसले सोध्यो, ‘आते बक्त गंगास्नान किया ? ’ नुहाइनँ भनौं भने नुहाउन पठाउने सम्भावना, नुहाएँ भनौं भने अघोरहरू त्रिकालदर्शी हुन्छन् भन्ने सुनेको, फसाद पर्‍यो।एक त रातमा कालसँग जुहारी खेल्न आएको, मुन्टो हल्लाएपछि अघोरी मौन।केही बेरमा उसले चेलो बन्छस् भनी सोध्यो।

मेरो बोली फुटिरहेको थिएन, टाउको हल्लाएँ।उसले बालुवामाथि पलेँटी कसेर बस्न अह्रायो र कालो पोको फुकायो।एक मुठी भष्म लिई आँखा चिम्लन लगाएर अनुहारमा दलिदियो।ऊ एउटा हातले टाउको थिचेको, अर्को हातले भष्म दलिरहेको।आफैंले लास बोकेको र धेरैपटक मलाम गएको म अनुहारमा लासको खरानी दलिदिँदा भने बेहोसीको स्थितिमा थिएँ।तर अनौठो सत्य, मलाई भष्मको गन्ध निको लाग्यो।उसले कपडा खोल्न भन्यो, म भाउन्निएँ।उठेर भागौं भने कता ? टापुमा जो थिएँ, पौडेर गंगा तर्ने आँट थिएन।साहानीलाई हेरेँ।उनले कुरा बुझेर किन खोल्नुपर्ने भनेर सोधे।अघोरको उत्तर थियो-

‘तनमे भष्म होगा तो भी ए अघोर बनेगा ना।’

ऊ मलाई अघोरी बनाउँदै रहेछ, आफैंप्रति दया लाग्यो।बोल्न खोज्दा ननिस्किएको आवाज रुन खोज्दा पनि निस्केन।जीवनको त्यो पहिलो मौन रुवाइ थियो जहाँ आँसु आँखाभित्र अँचेटिएका थिए।आनाकानी गरेपछि उसले बाहुला खैँचिन लगायो र नाडी र कुइनोमा भष्मले तीनवटा रेखा बनाइदियो।खोपडीमा गंगाजल हाली ममाथि छर्किएर भट्भटाउँदै खोपडी मेरो खोपडीमा छुवाउन थाल्यो।कालो रङको कपडा दिएर त्यसमाथि बस्ने आदेश दियो जुन मसानको कपडा रहेछ।यति भइसक्दा अघोरको अलिखित सूचीमा म सूचीबद्ध भइसकेको थिएँ।

साहानी र अघोरीको कुरा भइरहेको, म भने निकै पर बलिरहेका दीप हेरिरहेको थिएँ।ती दीप कसले बाल्यो, अघोरसँग सोध्ने क्षमता थिएन।अनौठो मान्दै पर हेरिरहँदा अघोरले केही ल्याएको छ भनी सोध्यो।दुई बोतल देशी झिकेपछि उसले खोपडी तेस्र्यायो।रक्सी खन्याएपछि उसले मलाई पिउन दियो।रक्सी नपिउनेले खोपडीमा हालेको, अस्वीकार गरी मुन्टो बटारेँ।नमानेपछि ऊ बम्कियो।आमाचकारी गाली गर्दै राताराता आँखा पारेर दाँत किटिरहेको ऊ बेलाबेलामा भट्ट्याउँथ्यो, कच्चा खाउंगा

निकै बेर उफ्रिएपछि जिब्रोले छुन मात्रका लागि उसले अह्रायो र आनाकानी गरेपछि उसले हातले छुन भन्यो, मैले छोएँ।त्यसपछि तनतनी पिएको उस्ले बोतल नरित्तिन्जेल थपिरह्यो।गंगाले बगाइल्याएको मरेको कुखुरा ऊसँग रहेछ।भुत्ल्यायो र धुनीमा सेकाएर लुछ्न थाल्यो।मासु लुछेपछि बाँकी रहेको हड्डी, केही पोको पार्‍यो केही मिल्कायो।त्यसपछि स्नायुमा रगत जमेको मान्छेको गिदी टक्य्रायो।मासु नखानेले मान्छेको गिदी ? सम्भव थिएन, इन्कार गरेपछि ऊ झनै जंगियो।अनौठो आवाज निकाल्ने, तथानाम गाली गरेर दाँत किट्दै कच्चा खाउंगा भन्दा मलाई असह्य हुन्थ्यो।मैले नखाएपछि उसले गिदी यसरी निल्न थाल्यो मनौं कसैले स्वादिलो ढिँडो निलिरहेको होस्।मदिरा र मासु सेवन गरिसकेपछि दीपहरू देखाएर उसले भन्यो,

‘वहाँ पे भी अघोर हे जो कर्णपिशाचिनी सिद्ध कररहा हे’।कर्णपिशाचिनी सुन्नेबित्तिकै कान टाठिए, शरीर जुरुंग, किनकि तन्त्र साधकले गर्ने अति कठोर साधना कर्णपिशाचिनी हो भनी पढेसुनेको थिएँ मैले।उसका अनुसार कर्णपिशाचिनी साधकले तीन महिनासम्म एउटै थालमा नमाझीकन खाना खानुपर्ने हुन्छ र स्नान तथा वेदपाठ गर्नु हुँदैन।त्रयोदशीबाट सुरु गरी अमावश्याको दिन वा सप्तमीबाट सुरु गरेर नवमीमा सिद्ध गर्नुपर्छ।अघोर बोल्दाबोल्दै अचानक उठी धुनीको आगोछेउ पुगेर एक खुट्टाले टेकी अर्को खुट्टा त्यही खुट्टाको घुँडामा जोड्थ्यो र दक्षिण उन्मुख भएर नमस्कार गथ्र्यो।आङमा भष्म दली धुनीको आगो नाघ्थ्यो र पुनः फर्केर आई कर्णपिशाचिनीबारे बोल्थ्यो।साधनाको पहिलो रात निर्जन स्थानमा कालो कपडाको आसन बनाई निर्वस्त्र बस्नुपर्छ।भष्म लेपन गरी दक्षिणउन्मुख भएर पिशाचिनीको जप गर्दै मन्त्र पाठ, जपसंख्या नपुगेसम्म कुनै पनि हालतमा आफ्नो स्थानबाट उठ्नु हुँदैन।भोजनको रूपमा आफ्नै मलमूत्रको प्रयोग र शरीमा आफ्नै मल दल्नुपर्छ, मूत्र छर्किनुपर्छ।भोलिपल्ट राति पिशाचिनी नववधूको भेषमा आउँछे र साधकलाई सम्भोगार्थ लालायित गर्छे।जप छोडेर पिशाचिनीको बहकाउमा फँस्दा मृत्यु हुने हुँदा साधक जपमा नै केन्द्रित हुनुपर्छ।साधना सिद्ध गर्ने रात पिशाचिनीसँग सम्भोग गरी तृप्त पार्नुपर्छ।

सम्भोगपछि पिशाचिनी तृप्त भएमा उसले जोसुकैको भूत र वर्तमानबारे कानमा फुस्फुसाएर भनिदिन्छे।उसले अघोरको धर्मबारे पनि भन्यो।उनीहरूले प्रयोग गर्ने खोपडी सिद्ध पुरुष वा अति पापीको हुँदो रहेछ।वाममार्गी साधनामा पापी खोपडी र शक्ति सञ्चयार्थ सिद्ध खोपडीको प्रयोग हुँदो रहेछ।शमशान साधना, योनि पूजा, नरबलि लगायतका डरलाग्दा तथ्यहरू उसले बतायो।शमशान साधनामा लासलाई अर्धांगिनी बनाई लाससँग सम्भोग गरिँदो रहेछ।पञ्चमकारमा माछा, मासु, मदिरा, मैथुन र मुद्रा पर्ने हुँदा अघोरीहरू तिनलाई श्रद्धासाथ गह्रण गर्छन्।योनि पूजा गर्न उनीहरूले रजस्वला सुरु नभएका वा बन्द भइसकेका महिलालाई अपहरण गरी वा अन्य प्रकियाबाट ल्याउँदा रहेछन्।रात्रि समयमा उनीहरूलाई निर्वस्त्र पारी योनिको पूजा गर्दा रहेछन्।वर्तमानमा रहेका हेरक चिज सृष्टिकालको अंश रहेकाले फोहोर र सफाबीच उनीहरू भेद राख्दैनन्।रात छिप्पेपछि मध्यरात भयो भनेर ऊ गंगामा गयो।स्नान गरी भष्म लगाई मन्त्र पाठ गर्दै खोपडीलाई पुज्न थाल्यो।बेलाबखतमा धुनीमा चरु होम्थ्यो र भष्म छर्किन्थ्यो।नाच्थ्यो र अनौठो आवाज निकाली धुनी फड्किन्थ्यो।

उसले ताण्डव नृत्य नाच्यो, सबथोक गरिसिध्याएर अँजुली थापी उसले पिसाब फेरेर घुटुघुटु पियो र आङमा छर्कियो।उसले पिसाब पिएको देखेर मेरो भने पिसाब चुहिइसकेको थियो।त्यसपछि धुनीछेउ कालो कपडा बिछ्याएर निर्वस्त्र उत्तानो पर्‍यो।ऊ निदाएको हो वा होइन मलाई ज्ञान थिएन, साहानी झुल्न थालिसकेका थिए।रातभर पर बलेका दीप, साहानी र अघोरीको अनुहार, वाराणसी सहर र सुस्ताएको गंगा हेरेर त्रासैत्रासमा म जाग्राम बसिरहेँ।बिहान एक बोतल देशी अघोरीलाई चढाएर म जिउँदै धर्मशाला फर्की उत्तानै सुतेँ।

म साहानीकै सल्लाहमा बाबा किनारमा पुगेँ, जुन अघोर आ श्रम हो।अघोर मात्र बस्ने त्यहाँ किनारामको पूजा हुने र प्रसादस्वरूप माछा प्रयोग हुँदो रहेछ।भोलिपल्ट पनि मलाई अघोर भेट्न मन लाग्यो।गएरात बाँचेर मात्र फर्किन पाएँ भन्ने मनोकांक्षा राखेकोलाई पुनः कालको मुखमा जाने रहर जाग्यो।रहर कर्णपिशाचिनीले जगाइदिएको थियो।मभित्र प्रश्न झुन्डिरहेको थियो कि, त्यो अघोरले कर्णपिशाचिनी सिद्ध गर्‍यो वा गरेन ? सिद्ध गर्दो हो त ऊ त्यहाँ नहोला होइन भने उसको लास होला।रोकिन सकिनँ, घाट पुगेँ।हामी पारि पुग्यौं।त्यहाँ हिजो भेटिएको अघोर थिएन, न त धुनी र दीप बलेका नै।त्यहाँ अर्कै अघोर थियो जसलाई साहानीले चिनेका रहेनछन्।

सोही कारण उक्त अघोरलाई हामीले लगेको देशी दियौं र फर्कियौं।वर आएपछि साहानीलाई भोलि मथुरा जाँदैछु भनेँ।सहयोग गरेकोमा धन्यवाद दिई अँगालोमा बाँधेर पाँच सयको नोट झिकी थमाइदिएँ।उनले लिन अस्वीकार गर्दै भने, ‘य नहीँ, मुझे जल्द ही आपका कहानीका किताब देना।’ उत्तर सुनेर आँखा भरिए।जति नै कर गरे पनि रकम नलिएपछि उनलाई मैले चिलिम र एक पोका मिठाई उपहार दिएँ।हामी छुट्टियौं।उनीसँग छुट्टिँदा मलाई साह्रै ननिको लागिरहेको थियो।भरिएका आँखा लिएर म धर्मशाला आइपुगेँ जहाँ आसामी मित्रले मेरा लागि भोजन पकाएका थिए।

भोलिपल्ट २६ थान पुस्तक खरिद गरी म दिनभर मणिकर्णिकामा डोमहरूसँग रहेँ।उनीहरूसँग छुटेपछि कैन्ट पुगेको म पाँच बज्दा मथुराका लागि ट्रेन चढिसकेको थिएँ।ट्रेन चल्दाको घटकघटक आवाजसँगै मेरा कानमा धर्मशालामा पालिराखेको सुगाको आवाज गुञ्जिरहेको थियो,

‘दो रोटी खाना, कासी छोड्के मत जाना...
@MeTriveni


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.