बलिरहेको आगो र पढिरहेका लिंकन
उनी २१ वर्षको उमेरमा व्यापारिक क्षेत्रमा असफल भएका थिए।२२ वर्षको उमेरमा स्थानीय निर्वाचन हारेका थिए।२६ वर्षको उमेरमा श्रीमती गुमाएका थिए।२७ वर्षको उमेरमा मानसिक सन्तुलन बिग्रिएको थियो।३४ वर्षको उमेरमा उनले पार्टीको निर्वाचन हारेका थिए।४७ वर्षमा उनले उपराष्ट्रपति पदमा निर्वाचन हारेका थिए।यसपछि ४९ वर्षको उमेरमा सिनेट निर्वाचनमा पनि असफल भए।तर ५२ वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका थिए।उनी हुन्, अमेरिकाका १६औं राष्टपति अब्राहम लिंकन।
यिनै लिंकनको घर इलिनोई राज्यमा छ।त्यसैले इलिनोइलाई ‘ल्यान्ड अफ लिंकन’ भनिन्छ।लिंकनले अमेरिकाबाट दास प्रथाको अन्त्य गरी मानवहरू बीच समानताको आधार तय गरेका कारण विश्वभरका मानिसहरू अहिले पनि उनलाई अत्यन्तै सम्मानसाथ सम्झने गर्दछन्।
लिंकनको सहर स्प्रिंगफिल्ड आफैंमा लिंकन संग्रहालय जस्तो लाग्छ।यहाँ लिंकनको घर, लिंकनको समाधिस्थललगायतका सम्पूर्ण कुराहरूलाई बडो जतनसाथ सुरक्षित राखिएको छ।सडकमा लिंकनका फोटो तथा सालिक जताततै देख्न पाइन्छ।लिंकनसँग जोडिएका हरेक कुरालाई संरक्षण गरिएको छ।संग्रहालय चाहिँ लिंकनलाई बुझ्न अझ महत्वपूर्ण छ।लिंकनको बाल्यकालदेखि उनको हत्यासम्मको जीवनीलाई संग्रहालयमा व्यवस्थित रूपमा संरक्षण गरिएको छ।१८०९ फेब्रुअरी १२ मा अमेरिकाको केन्टकी राज्यको गरिब किसान परिवारमा जन्मेका लिंकनको बाल्यकाल निकै कष्टकर थियो।
संग्रहालयमा प्रवेश गर्नेबित्तिकै किशोर अवस्थाको लिंकनको मूर्ति रहेको छ।जहाँ उनी हातमा एउटा पुस्तक बोकेर बसेका छन्।संग्रहालयमा उनको बाल्यवस्थालाई झल्काउने छाप्रोे छ।त्यो छाप्रोभित्र अँगेनाको छेउमा बसेर आगोको उज्यालोमा लिंकन पढिरहेका छन्।बलिरहेको आगो र पढिरहेका लिंकन वास्तविक जस्तै लाग्छ।
लिंकनको सहर स्प्रिंगफिल्ड आफैंमा लिंकन संग्रहालय जस्तो लाग्छ।यहाँ लिंकनको घर, लिंकनको समाधिस्थललगायतका सम्पूर्ण कुराहरूलाई बडो जतनसाथ सुरक्षित राखिएको छ।सडकमा लिंकनका फोटो तथा सालिक जताततै देख्न पाइन्छ।
इतिहासको अध्ययन गर्दा गरिबीको कारण लिंकनले जनावरको छालाको लुगा बनाएर लगाउथे भन्ने उल्लेख गरिएको पाइन्छ।उनी बाबुलाई खेती किसानीमा सहयोग गर्थे।सिकार गर्न, दाउरा चिर्न तथा बजारमा लगेर बिक्री सहयोग गर्दथे।अनपढ दाउरे अभिभावकका सन्तान भए पनि लिंकनलाई बच्चा उमेरबाटै उनका अभिभावकले विद्यालय पठाएका थिए।यद्यपि घरायसी र खेतीपातीको काम गरेर बाँकी रहेको फुर्सदको समयमा लिंकन विद्यालय जान्थे।झन्डै ३ माइल टाढा रहेको विद्यालय उनी पैदलै आउजाउँ गर्दथे।उनको विद्यालयमा रहेको नोब क्रिक भन्ने स्थानमा उनले पहिलो पटक दास बनाएर हत्कडी लगाएर किनबेच गरेको देखेका थिए।बच्चा उमेरमै उनले किन यस्तो भयो भनेर खोजी गरेर त्यही बेलामा उनले दास प्रथाको बारेमा थाहा पाएका थिए।
लिंकन दिनभरि कहिले विद्यालय त कहिले खेतीबारीमा बिताउथे।त्यसैले कहिले सडकको किनाराको बत्तीमा त कहिले अँगेनाको आगोको उज्यालोमा पढ्दै उनले आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका थिए।यसै क्रममा सन् १८१८ मा उनको महामारीमा परी उनको आमाको निधन भयो।यसपछि सन् १८१९ मा उनका बाबुले दोस्रो विवाह गरे।निकै दयालु स्वभावकी उनकी सानीआमाले पनि आफूले मेहनत र दुःख गरेर लिंकनलाई विद्यालय पठाइन्।
गरिबीको कारण समयसमयमा लिंकनको परिवार बसाइँसराइ गरिरहन्थ्यो।त्यसैले लिंकनले एउटै विद्यालयमा पढ्न पाएनन्।खेतीबारीको काममा बढी समय दिनुपर्ने भएकोले नियमित विद्यालय जान पनि पाएनन।त्यसैले स्वअध्ययनमा जोड दिए।उनको यो बालपन तथा किशोरावस्थालाई संग्रहालयमा सिलसिलेवार ढंगले राखिएको छ।कतिको मूर्ति छ।कतिको तस्बिर छ।कतिपयको कोरिएको चित्र छ।युवा अवस्थामा पुगिसक्दा पनि लिंकनको परिवारले गरिबीबाट मुक्ति पाएको थिएन।युवा कालमा अझ कहिले डुंगा चलाउने, कहिले कार्गोका सामान ओसारपसार गर्ने जस्ता काम गरे।जुन कुरा संग्रहालयमा हेर्न सकिन्छ।
सन् १८२० को दशकको अन्त्य तथा ३० को दशकको सुरुआततिर अमेरिकाका आदिवासी रेड इन्डियनहरूले तत्कालीन गोरा शासकहरूको दमनविरुद्ध विद्रोह गरिरहेका थिए।दासताविरुद्धको आन्दोलन पनि चलिरहेको थियो।मूलतः वर्णभेदविरुद्धको आन्दोलन विस्तारै उभारमा आउँदैथियो।यस आन्दोलनले र आन्दोलनका मुद्दाले अध्ययनशील लिंकनलाई विशिष्ट प्रभाव पार्यो।उनी नियमित रूपमा यस किसिमका आन्दोलनहरूमा सहभागी हुन्थे।दासता र वर्णको आधारमा हुने भेदभावले उनलाई यति तानेको थियो कि सन् १८३२ मा चलेको विद्रोह ‘ब्ल्याक हक क्लार’मा सहभागी हुनको लागि उनले आफ्नो स्टोरकिपरको जागिर पनि छाडिदिएका थिए।
यस आन्दोलनले उनलाई राजनीतिप्रतिको चासो बढाइदियो।आफ्नो व्यक्तिगत तथा पारिवारिक जीवन अत्यन्तै कष्टकर भए पनि उनले त्यसलाई महत्व दिएनन्।बरु समाजमा विद्यमान रङको आधारमा भइरहेको विभेद विरुद्धमा र दास प्रथाको विरुद्धमा उनी सक्रिय रूपमा लागि परे।पूर्ण रूपमा राजनीतिमा प्रवेश गर्ने उनले निर्णय गरेसँगै उनी इलिनोई राज्यसभाको निर्वाचनमा उठेका थिए।तर उनले उक्त निर्वाचनमा नराम्रोसँग पराजय भोगे।आर्थिक रूपमा अत्यन्तै विपन्न लिंकनलाई यस असफलताले असर पार्नु स्वाभाविकै थियो।यद्यपि उनी निराश भएनन्।यसपछि उनले व्यवसाय सुरु गरे।तर त्यो व्यवसायमा पनि उनी नराम्रोसँग घाटामा गएका थिए।उक्त व्यवसाय गर्ने क्रममा लिएको ऋण चुक्ता गर्न उनलाई १५ वर्षभन्दा बढी समय लागेको बताइन्छ।आफ्नो जीवनमा व्यवसाय मात्र होइन, जग्गा नापजाच गर्ने अमिन, पत्रपत्रिका ओसारपसार गर्ने हुलाकीजस्ता कामसमेत उनले गरे।तर उनी कुनै पनि काममा राम्रोसँग जम्न सकेनन्।एकपछि अर्को गर्दै असफलता उनको जीवनमा दोहोरिइरह्यो।
न त राजनीतिमा उनी सफल भइरहेका थिए, न त व्यापार व्यवसायमा।जताततै असफलता तथा घाटामा उनले लामो समय गुज्रिनुपर्यो।तर लिंकनले हरेस खाएनन्।उनको यो संघर्षपूर्ण जीवनमा पनि कसरी नियमित आफ्नो अध्ययनलाई अगाडि बढाइरहे ? सानो दुःखमा आत्तिने थोरै सफलतामा मात्तिनेहरूको लागि त लिंकनको जीवनीबाट निकै धेरै सिक्न सक्छन्।जुन कुरा सिक्नको लागि संग्रहालय महत्वपूर्ण स्थान हो।कयौ स्थान वास्तविक झै लाग्छ।मान्छेको, चराचुरुंगीहरूको आवाज, तथा अन्य कुराहरूले यसलाई वास्तविकझै अनुभव गराउँदछ।
असफलता नै असफलता दोहोरिए पनि उनको आत्मविश्वासमा कमी आएन।न त राजनीतिमै उनको सक्रियतामा कुनै कमी आयो।बरु उनी उच्च मनोबलका साथ सक्रियतापूर्वक राजनीतिमा लागिरहे।परिणामत उनी सन् १८३४ मा इलिनोईको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भए।यसपछि उनले सन् १८३६ र १८४० का निर्वाचनमा विजय भए।
लिंकनले सन् १८५८ मा लिंकनले सिनेटर पदका लागि चुनावी प्रतिस्पर्धामा भाग लिए।तर उनी त्यसमा असफल भए।एउटा रोचक कुरा चाहिँ के भयो भने सिनेटरको निर्वाचनमा उनी स्टेफन ए डग्लससँग पराजित भएका थिए।पछि राष्टपति पदमा तिनै डग्लस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार भएका थिए भने रिपब्लिकन पार्टीबाट लिंकन।तर यसपटक भने अध्ययनशील र तार्किक लिंकनले डग्लसलाई पराजित गरे।र सन् १८६० नोभेम्बर ६ मा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए।संग्रहालयमा लिंकन राष्ट्रपतिमा निर्वाचित हुँदाको समयमा भएका सम्पूर्ण कुराहरू हेर्न सकिन्छ।पानी परिरहँदा छाता ओडेर लिंकनको भाषण सुनिरहेका मानिसहरू वास्तविक झै लाग्छन्।लिंकनले गरिरहेको भाषण सुन्दा उनी त्यही कतै छन् झै अनुभूति हुन्छ।निर्वाचन हुँदा, परिणामको घोषणा हुँदाको वातावरणलाई चित्र तथा मूर्ति बनाएर दुरुस्तै बनाइएको छ।कतिपय दस्तावेजलाई सुरक्षित रूपमा संग्रह गरिएको छ।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अमेरिकामा दासप्रथा अन्त्यको लागि कदम चाल्न सुरु गरे।उनको यस कदमले गर्दा सन् १८६१ अप्रिल १२ मा अमेरिकामा गृहयुद्ध सुरु भयो।यो अवधिमा भएको गृहयुद्ध, त्यसबेलाका विभिन्न दल तथा त्यसका नेताहरूको भूमिका, गृहयुद्धमा भएको क्षतिका बारेमा अडियो भिडियो तथा तस्बिर हेर्न पाइन्छ।संग्रहालयको एउटा भित्तोमा ‘द वार ग्यालरी’ राखिएको छ।जसमा गृहयुद्धको समयमा भएका विध्वंसका फोटालाई सुरक्षित गरिएको छ।दासप्रथाको समर्थन र विरोधमा गृहयुद्ध भयो।तर लिंकन पछाडि हटेनन्।मान्छेलाई मान्छेले मान्छे जस्तै व्यवहार गर्नुपर्छ र मान्छे भएर जन्मिएपछि न्यूनतम अधिकारको सुनिश्चित हुनुपर्छ भन्ने उनको दृढ संकल्प थियो।यसैक्रममा सन् १८६३ जनवरी १ मा उनले दास प्रथाको अन्त्यको घोषणापत्र जारी गरे।यसपछि अमेरिकामा भएका सम्पूर्ण दासहरू मुक्त भएको घोषणा गरिएको थियो।सन् १८६४ मा लिंकन पुनः राष्ट्रपतिमा निर्वाचित भए।सन् १८६५ को जनवरीमा अमेरिकाको संविधान संशोधन पारित भयो।यो दास प्रथा घोषणा गर्ने समयमा भएको मन्त्रिपरिषद्को बैठकलाई बुझाउनको लागि बनाइएको स्वचलित मुूर्तिले त्यसबेलाको अवस्थालाई बुझ्न सघाउँदछ।उनको क्याबिनेटका सदस्यहरूको मनोविज्ञान तथा तथा उनीहरूको भूमिकाको बारेमा बुझ्नको लागिसमेत यसले निकै सहयोग गर्दछ।
सन् १८६५ मा अमेरिकाको गृहयुद्धको अन्त्य भयो।यसको केही दिनमै अप्रिल १४ का दिन नाटक हेरिरहेको समयमा दासप्रथाको कट्टर समर्थक रहेका एक कलाकार जोन विल्क्स बुथले लिंकनलाई गोली प्रहार गरे र भोलिपल्ट उपचारकै क्रममा उनको मृत्यु भयो।नाटक हेरिरहेको समयमा उनीमाथि कसरी गोली प्रहार भएको थियो भन्ने कुरा पनि स्वचालित मूर्ति बनाएर राखिएको छ।समग्रमा लिंकनको जन्म, किशोरावस्था, युवा अवस्था, उनले गरेका संघर्ष, उनले पाएका दुःख, उनले गरेका मेहनत, राजनीतिप्रतिको झुकाव, त्यसमा गरेको संघर्ष, असफलतै असफलताको भुँमरीबाट कसरी बाहिर निस्किएलगायतका कुरा थाहा पाउनको लागि निकै महत्वपूर्ण स्थान हो लिंकन संग्रहालय।एउटा सामान्य गरिब परिवारमा जन्मिएको व्यक्तिले कसरी सफलता पाउन सक्छ भन्ने कुराको उत्प्रेरणा लिंकन संग्रहालयले आम मानिसलाई दिन्छ।
अमेरिकामा गएर एकदिनको सफलताको लागि करोडौं आप्रवासीहरू संघर्ष, मेहनत र दुःख गरिरहेका छन्।उनीहरूलाई अमेरिका कडा संघर्ष पछि सफलता प्राप्त गर्न सक्ने व्यापक सम्भावना भएको स्थान हो भन्ने सन्देश लिंकन संग्रहालयले दिन्छ।अब्राहम लिंकन पनि आफ्नो पूरै जीवनभरि असफल भएका थिए।आफ्ना जन्मिएका चार सन्तानमध्ये एकजना बच्चा मात्र लामो समय बाँचेका थिए।बच्चामै आमाको मायाबाट वञ्चित भएका उनले युवा उमेरमा श्रीमतीलाई गुमाएका थिए।व्यापारमा असफलता, ठेक्कापट्टामा असफलता भोगेका थिए।राजनीतिमा पनि निरन्तर असफलता भोगेका थिए।यति बिध्न असफलता पाएपछि उनी त शिर झुकाएर आफ्नो साराका सारा कामको मैदानबाट भाग्न सक्थे।तर उनी भागेनन्।असफलतालाई सिकाइको माध्यम मान्दै आफ्नो यात्रा अगाडि बढाइरहे।अन्ततः अमेरिकाको राष्ट्रपति नै बन्न पुगे।लिंकनको यो प्रेरणादायी जीवनी बुझ्न लिंकन संग्रहालय निकै उपयोगी छ।