भारतको नारा : नमस्ते ट्रम्प
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प पत्नी मेलिनियाका साथ भारतको दुई दिने राजकीय भ्रमणमा सोमबार भारत आउँदैछन्। ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन्। ट्रम्पको कार्यकाल २०२१ जनवरी २० मा सकिँदैछ।
अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ। ट्रम्पले पहिलोपटक भारत भ्रमण गर्न लागेका हुन्। मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौंपटक भेट हुँदैछ। यसअघि यी दुई राष्ट्राध्यक्षबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ। भारतीय विदेश मन्त्रालयले यो भेटलाई भारत र अमेरिकाबीचको बढ्दो निकट सम्बन्धलाई दर्शाएको उल्लेख गरेको छ।
ट्रम्पको स्वागतका लागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताए।
भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा रवीसले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्राका लागि उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौं। यसले हाम्रा वैश्विक सामरिक सम्बन्ध थप मजबुत हुनेछ।’ सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्। यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओवामाले २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए। ओवामा आफ्नो दुवै कार्यकालमा भारत आएका थिए।
ट्रम्पको निर्धारित कार्यक्रम तालिका
निर्धारित कार्यक्रमअनुसार राष्ट्रपति ट्रम्प सोमबार दिउँसो नयाँदिल्ली आइपुग्नेछन्। त्यसपछि उनी प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात पुग्नेछन्। अहमदावादको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुने प्रवक्ता कुमारले बताएका छन्।
यद्यपि भारतीय सञ्चारमाध्यमका अनुसार ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आ श्रममा स्वागत गर्नेछन्। दुवै राष्ट्राध्यक्ष पहिले सावरमती आ श्रममा भेट गरेपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनेछन्। नमस्ते ट्रम्पको अवधारणा गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको जस्तै रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ। हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुवैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरेका थिए। ‘नमस्ते ट्रम्प’ भने भारत सरकारले ट्रम्पको स्वागतमा आयोजना गर्न लागेको हो।
अहमदावाद विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म मोदी र ट्रम्पको काफिलालाई स्वागत गर्न लामो लाइन हुनेछ। ट्रम्प जुन जुन बाटो भएर गुज्रिनेछन्। त्यहाँ भारतका विभिन्न प्रान्तको झलक देखाउने २८ मन्च तयार पारिँदैछ, जसलाई इन्डिया रोड सोको नाम दिइएको छ। ट्रम्प मार्गमा गान्धीको जीवन दर्शाउने विभिन्न दृश्य हुनेछन्। मोदी र ट्रम्पले स्टेडियममा उपस्थित दर्शकदीर्घालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मोदी–ट्रम्पको रोड सोमा दुई लाख बढीको सहभागिता हुने अनुमान गरिएको छ। यसअघि ट्रम्पले सत्तरी लाखको सहभागिता हुने भन्दै ट्विट गरेका थिए।
अहमदावादको कार्यक्रम पछि ट्रम्प श्रीमती मेलेनियासहित आगरामा ताजमहल अवलोकन गर्न जानेछन्। कार्यक्रम एक घण्टाको हुनेछ।
भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली आउनेछन्। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाका अनुसार मंगलबार हैदरावाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डलबीच रक्षा र व्यापारलगायतका मुद्दामा व्यापक छलफल हुनेछ। क्षेत्रीय तथा वैश्विक मुद्दाका विषयमा पनि छलफल हुने उनको भनाइ छ। ‘भ्रमण मुख्य रूपमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र रणनीतिक सहयोगको विषयमा केन्द्रित रहनेछ’, उनले भने।
द्विपक्षीय सम्झौताको सम्भावना
ट्रम्पले वासिंगटनमा भारत भ्रमणबारे बताउँदै भनेका छन्, ‘म आगामी साता भारत भ्रमणका लागि जाँदैछु। हामीबीच व्यापारका कुरा हुनेछन्। भारतले हामीलाई धेरै वर्षदेखि उच्च भन्सार दरमा मार पारेको छ। म प्रधानमन्त्री मोदीलाई निकै मन पराउँछु। तर हामी व्यापारका कुरा पनि गर्छौं।’
ट्रम्पले भारतसँगको व्यापारमा देखाएको असन्तुष्टि पहिलो होइन। यसअघि गत मंगलबार उनले नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक डिल सम्झौता हुन नसक्ने उल्लेख गरिसकेका छन्।
यता भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले दिल्ली कुटनीतिक श्रोतलाई उद्धृत गर्दै लेखेअनुसार भारत र अमेरिकाबीच अमेरिकी रक्षा कम्पनीसँग २४ बहुभूमिका भएको एन्टी सबमरिन (पनडुब्बी) हेलिकप्टर किन्ने सम्झौता हुन सक्छ। भारत र अमेरिका दीर्घकालीन हितलाई ध्यानमा राखेर कुनै पनि सम्झौतालाई अन्तिम रूप दिन चाहेको देखिएको छ।
ट्रम्प दम्पत्ति भारतमा लगभग ३६ घण्टा बिताउने गरी कार्यक्रम तय भएको विदेश मन्त्रालयले जनाएको छ। ट्रम्पको भारत भ्रमणअघि ६ राष्ट्रपतिले भारत भ्रमण गरेका छन्। यसअघि आउने राष्ट्रपतिमा ड्विट डेभिड आइसनहवर, जान एफ केनेडी र लिन्डन बी जानसन, रिचार्ड निक्सन, जिम्मी कार्टर, जर्ज डब्लु बुस र वाराक ओवामा छन्।