मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर

मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर

गौर : रौतहटको एक मुसहर बस्तीका सबै बालबालिका विद्यालयबाहिर छन्। नाम लेखाए पनि विभिन्न कारणले उनीहरू पढ्न जाने गरेका छैनन्। रौतहटको कटहरीया नगरपालिका ९ स्थित तरहरी खोला किनारमा बस्दै आएका करिब एक सय ५० जना मुसहर बालबालिका विद्यालय जाँदैनन्। उक्त बस्तीमा ६५ परिवार मुसहरको बसोबास छ।

भर्ना अभियानको समयमा केही दिन विद्यालय जाँदा साथी तथा शिक्षकले पिट्ने गरेको बालबालिकाको गुनासो छ। बस्तीदेखि एक किलोमिटर टाढा रहेको सरकारी विद्यालयमा गतवर्ष नाम लेखाए पनि पढ्ने उचित वातावरण नहुँदा पढाइबाट वञ्चित छन्।

विद्यालय जाँदा फोहोरी र गन्हाउने भन्दै मुसहरका छोराछोरीलाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पढाउन ध्यान नदिने गरेपछि गाउँका बालबालिका पढ्न जान छाडेको स्थानीय कालीचरण माझीको भनाइ छ।

सरकारी विद्यालयमा छोराछोरीको नाम लेखाउने गरे पनि गरिबीका कारण किताबकापी किन्न नसकेको, विद्यालय जाने कपडासमेत किन्न नसक्ने हँुदा समस्यामा रहेको अभिभावक प्रदीप माझीको दुःखेसो छ। पढ्ने उमेरका बालबालिका नजिकैको तरहरी खोला किनारमा दिनभर खेल्ने र सँुगुर, बाख्रा चराउने, घरमा भाइबहिनी हेरेर बस्ने गरेका छन्। गएका वर्षमा एक कक्षामा भर्ना भएका बालबालिका केही दिन पढ्न गएको त्यसपछि जान छाडेका छन्।

मुसहरका छोराछोरी फोहोरी हुने, फोहोर कपडा लगाएर पढ्न आउने र किताबकापी नहुने भएकाले शिक्षकसमेत ध्यान नदिने र अभिभावकले पनि पढाउन मतलब नराख्ने गरेको अर्का अभिभावक जादो माझीको भनाइ छ।

अति गरिबीका कारण अभिभावक ज्याला मजदुरी गर्न जाने हुँदा छोराछोरीलाई उचित स्याहार र हेरचाह समेत हुने गरेको छैन। खोला किनारस्थित झुपडीमा बस्दै आएका मुसहर परिवारमा एकजना मात्र कमाउने र दैनिक कमाएको पैसाले खानसमेत मुस्किल पर्ने हुँदा छोराछोरीको पढाइ, उपचार र हेरचाह गर्न मुसहरले नसकेको मुसहर उत्थान संघ रौतहटका अध्यक्ष विनोद माझी मुसहर बताउँछन्।

एक कक्षामा नाम लेखाए पनि पढ्न नजाने १० वर्षीय राजेश माझी मुसहर स्कुलमा साथीले पिट्ने गरेको गुनासो गर्छन्। बस्तीनजिकै रहेको विद्यालयका एक शिक्षकका अनुसार मुसहर बस्तीमा धेरै समस्या रहेकाले छोराछोरी पढाउन ध्यान नदिने र विद्यालय आए पनि घरमा उनीहरूको रेखदेख नहुने हुँदा पढाइ प्रभावित भएको छ। मुसहरका छोराछोरी गरिबीका कारण पढ्न पाएका छैनन्, सरकारले दलित विद्यार्थीका लागि विभिन्न कार्यक्रम ल्याएको भए पनि मुसहर बस्तीमा पुग्न सकेको छैन। माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि अधिकांश मुसहरका छोराछोरीले पढ्न नपाएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको गुनासो छ।

रौतहट जिल्लाको १८ वटा स्थानीय तहको विभिन्न वडामा ५८ वटा मुसहर जातीका सानाठूला बस्ती छन्। करिब १५ हजार मुसहर परिवारको बसोबास छ। रोजगारी नहुँदा र पैतृक सम्पत्तिसमेत केही नहँुदा ३÷४ पुस्तादेखि नै ज्याला मजदुरी गरेर कष्टकर जीवन गुजारा गर्दै आएका छन्। जिल्लामा धेरैजसो मुसहरका परिवार यो समय इँटाभट्टामा काम गर्न जान्छन्। इँटाभट्टामा काम गर्ने अभिभावकका छोराछोरी पनि सँगै काम गरिरहेका हुन्छन्।

मुसहरका बालबालिकालाई पढ्ने वातावरणसहित निःशुल्क माध्यमिक तहसम्म शिक्षा, सुकुम्बासी समस्या समाधान र रोजगारीको व्यवस्था भए मात्र मुसहरको जीवनमा परिवर्तन आउने भूमि अधिकार मञ्च रौतहटका जिल्ला संयोजक अनुप माझी मुसहरको तर्क छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.