गुलाबी उमेरका बारुदी छर्रा

गुलाबी उमेरका बारुदी छर्रा

लेखक अमर न्यौपानेको पुस्तक ‘गुलाबी उमेर’ पढ्दा आफ्नो चार–दशक लामो ओरालो जिन्दगीले मलाई सोधेझैं लाग्छ, ‘ओइ ! तेरो गुलाबी उमेर कहाँ गयो ?’

- अँ त नि आएन मेरो गुलाबी उमेर ?

आयो नि। असंख्य पसिनाका धारा बगाउँदै घनघोर परिश्रमको ज्वालाबाट कोही बेला सुस्तरी सुस्केरा काढेँ। ऐनाभित्र आफ्नो अनुहारको रेखाचित्र हेरेर मुसुक्क हाँसेँ।

ओठमाथिको कालो जुँगा देखेर आफैंदेखि लजाएँ। धुलोले छपक्क ढाकेको कपाललाई पानीले भिजाएर जुल्फी लर्काएँ। सिमलको भुवाजसरी उड्दै–उड्दै माथि–माथि हराउँदै मानिलिऊँ कुनै नामकी नानीमैयाँसँग पिरती लगाउन खोज्ने सपनाको पुच्छर समातेर मैले तलै तानेँ। ‘पख्, अहिले पख्, एक छाक मानु चामलको राम्रो बन्दोबस्तबिना पिरतीको गति सप्रिँदैन, बिग्रन्छ’ भन्दाभन्दै मेरो गुलाबी उमेर यस्तो भयो।

ठाडी दाउमा घोप्टो परेको कौडाजस्तो। वसन्तले छाडेर गएपछि लहराले बेरेको रूखजस्तो। ठेकीभित्र पोरा खुस्किएको मदानीजस्तो। वर्षौं पहिलेदेखि रालो खुस्किएर झुन्डी बसेको मन्दिरको घन्टाजस्तो।

बाहिर हेर्दा राम्रो, भित्रभित्र कीराले खाएको गुलाबी रङको भन्टाजस्तो।

ओहो ! अब कहाँ पाउनु त्यो गुलाबी उमेर ? न अब कतै डाँडामा बसेर चिच्याई–चिच्याई बोलाएर आउने ! न अब हाँस्दा आउने ! न त अब रुँदा आउने ! न त उमेर भएको बेलामा पैंचोस्वरूप कसैलाई ‘लौ अब अहिलेलाई तिमी लैजाऊ, पछि म चाउरी पर्दै गएपछि फिर्ता दिनू’ भन्न मिल्ने ! घुम्दै गरेको सिनेमाको रिलमा झुलुक्क एकछिन देखिएको सुन्दर संसारजस्तो मेरो गुलाबी उमेर सम्झँदा मलाई त्यसै भाउन्न भएर आउँछ। रिसले मुर्मुरिएर आफ्नै तिघ्रामा एक लबटो पड्काउनुजस्तो हुन्छ।

अतृप्त भोको पेटलाई ‘पुलाउ खाऊ, भुँडी फुलाऊ’ भनेर काँचको पर्दामा विज्ञापन गरेजस्तो भयो मेरो पौने बूढो जिन्दगीलाई यो उपन्यास। पढुन्जेल मलाई सक्खरमा मुछेको तिलको लड्डुजस्तो सारै मीठो भयो। पढिसकेपछि अमिलो। भुसभित्रको आगोजसरी बाहिर नदेखिईकन भित्रभित्रै पचेर गइसकेको गुलाबी उमेरलाई सम्झँदै विरक्त भएर बसेको छु। कसैले ‘कठैबरी’ नभनी देऊ है ! भीरबाट झरिसकेको गोरुलाई ‘राम–राम’ भनेजस्तो त्यो कठैबरीको के काम ? यतिखेर म गालामा हाता लगाएर टोलाइरहेको छु। एकछिन समय लाग्ला, बिस्तारै–बिस्तारै म आफैं साबिकको अवस्थामा आउनेछु।

कसैले मलाई बोलाउन खोजेजस्तो छ। बाहिर ढोकामा टङ्–टङ् आवाज आयो। बिस्तारै उघारेर हेरेँ, काका रहेछन्।

यी काका देख्दा पनि मेरो मुटु सिरिंग हुन्छ। यी पुस्तक माग्ने मगन्ते काका हुन्। ‘जोगीको घरमा सन्न्यासी पाहुना’ भनेजस्तो। आफैं त पुस्तक किन्ने औकात नभएर दसतिर औंला जोडेर मागेर पढ्छु, यिनलाई कहाँबाट ल्याएर दिनु पुस्तक ? कोही बेला त यस्तो लाग्छ, यी काकाको प्राण नै पुस्तकमा छ। बेलाबेलामा लिसिक्क घ्यूमा पल्केको बिरालो जसरी मेरो कोठामा आउँछन्, अनि मलाई सोध्छन्, ‘अहिले बजारमा कुन पुस्तक आयो ? त्यो कसले लेख्यो ? कुन प्रकाशनले प्रकाशन गर्‍यो। त्यसमा पाठकको गुनासो के छ ? समीक्षकहरूले कसरी समीक्षा गरे ? पुस्तकका गुण र दोषहरू के के हुन् ?’

‘त्यो फलानाले त्यो पुस्तकमा के लेख्यो ? साँच्चि त्यो किताब तिमीसँग छ ? छ भने मलाई लेऊ न। अनि तिमीले त्यो, फलानु पुस्तक हेर्‍यौ त ? त्यो त पढ्नुपर्ने पुस्तक हो नि। फलाना–फलाना विद्वान्ले पनि त्यसलाई राम्रो पुस्तक भनेका छन्।’

‘छातीमा जुनसुकै फलानाले जुनसुकै पुस्तकको सवालमा जेसुकै भनोस्, मलाई के मतलब।’ आर्थिक अभावको तीव्र बोझले गर्दा मजस्तो पुस्तकप्रेमीको मनमा पनि यस्तो नीच वाक्य आउँछ। महिना मर्दै जान्छ, कोठाभाडा पाक्दै आउँछ। चामलको बोरा लादीको थैलामा पसिसक्छ, सन्तानलाई विद्या किनेको बिल अगाडि तेर्सिन्छ। यस्तो बेलामा कुनै मीठो गीत मनमा ल्याउनै सक्दिनँ त, म के गरौं ? तर पनि दुःखले काकातिर उत्सुकताको नजर उठाउँछु। ‘हो र काका?’

‘तँसँग अहिले कुन पुस्तक छ ?’ गफको अन्तिममा बाँकी तिर्खा ओकल्छन्। हातको नजिकै रहेको ‘गुलाबी उमेर’ देखाउँदै म भन्छु, ‘यही पुस्तक छ।’

पुस्तक देखेर काकाले लितिक्कै ओठ खसाले। साथै, नाइँ–नाइँ पारामा मुन्टो पनि हल्लाए। त्यसपछि बोले, ‘मर्ने बेलामा हरियो काँक्रो।’ एकछिन रोकिएर बाँकी कुरा थपे, ‘कसले लेखेको ?’ पुस्तकको बाहिरी कभरको नाम देखाउँदै भनेँ, ‘अमर न्यौपानेले।’

मलाई यो कुरा थाहा छ। अमर न्यौपानेले लेखेका दुईवटा पुस्तकलाई काकाले साहै्रै मन पराएका छन्। साथै, पत्रिकामा छापिएका लेखलाई पनि देखाउँदै कुनै दिन काकाले मलाई यसो भनेका थिए, ‘अमर भाइले यस्तो लेखेछन्।’ विचारमा काका अमर न्यौपानेका फ्यान नै हुन् कि क्या हो ! अमर न्यौपानेको नाम लिएपछि अघि लितिक्क झारेका ओठलाई उचाल्दै काकाले ‘गुलाबी उमेर’लाई समाउन हात पसारे।

---

काकाले पुस्तक लगेको बाइस दिन बित्यो। लौ अब अति भयो। काकाको मुसे मोबाइलमा घन्टी लगाएँ। फोन उठ्दैन। फेरि लगाएँ। उठ्दैन। म आतेसमा परेँ। काका पक्कै बिरामी परे क्यार ! काका आफ्नै साक्खै काका नपरे पनि वंशको हाँगो फाटिएर पर्न जाने काका हुन्। तर जे भए पनि काकाको गाह्रो–साँगुरोमा मैले हेरी छाड्न मिल्दैन। काका एक्लै छन्। म अलि ढिला जन्मिएको भएर होला, काकाको पारिवारिक हरहिसाबको सत्य साँचो स्थिति मलाई जानकारी छैन।

काकाले निकै पहिल्यैदेखि गाउँ छाडेका हुन्। सायद म काकाले गाउँ छाड्दा राम्रोसँग ‘जुको पाखा’ लगाएर सुरुवाल जोगाएर पिसाब गर्न जान्दैनथेँ। मलाई यतिचाहिँ थाहा छ। दुई छोरा साथमै लिएर काकी सरासर पोइल गएकी हुन्। त्यसैले उनको अहिलेसम्म एक्लै छ बसोबास। आफ्नै श्रमको भरमा बाँचेका छन् उनी।

हैन के भएर फोन उठाएनन् काकाले ? म यस कुरामा अचम्भित छु। झुक्किएर मिसकल गए पनि ‘के भयो कान्छा’ भनेर फोन फर्काउने मान्छे हुन्। मनमा अलि बढी धमिरो लाग्न थाल्यो। मेरो मनमा बेजोड छट्पटी मच्चिन लाग्यो। काकाको कोठामा पुग्न मेरो गोडाले छिट्टै सुइँकुच्चा ठोक्ने विचार गरे।

ढोकाको चुकुल खोलेर बाहिर निस्कने सुरसारकै क्रममा काका टुप्लुक्क आइपुगे। खुसीको पूर्ण उचाइमा मैले काकालाई ‘बसौं’ भनेँ। काका सबै कुरामा पहिलेजस्तै देखिन्थे। मात्र मैले बाबुराम क्यापमा अलिकति कालो धब्बा देखेँ। सायद काकालाई थाहा छैन यो कुरा। थाहा पाएको भए त्यस कालोको दोहोलो काढ्ने उपाय रच्ने थिए।

काकाले एउटा रूखोपना देखाए, ‘ला तेरो खप्पर।’

काकाले मलाई हातमा समाउन दिएनन्। मेरो थोत्रो टालटुले टेबुलमा उपन्यास गुलाबी उमेरलाई फ्यात्त मिल्काइदिए। मानिलिऊँ, यो उनको हृदयमा बिझेको सबभन्दा ठूलो विषालु काँडा हो। मिल्काए, अब आनन्द भयो।

म आश्चर्यचकित अनुहारमा एकछिन बिलासाबन्धनमा परेँ। पत्रिकामा आएको एउटा लेखलाई सम्म जतन गरेर ‘अमर भाइले यस्तो लेखेछन्’ भन्दै प्रशंसा गाउने काकालाई आज ‘गुलाबी उमेर’ले के गर्‍यो ? काकालाई मैले यति प्रश्न गरेँ, ‘काका तपाईंलाई उपन्यासले के गर्‍यो ?’

काकाले बाबुराम क्यापलाई अलिकति हल्लाऊँला जसरी तिखो वचनवाणी प्रस्तुत गरे, ‘मलाई यसले छाती चिरिएर चार कप्टेरा हुने गरी वाणले हान्दाझैं हान्यो।’

‘काका, तपाईंले उपन्यासमा के भेट्नु भो त्यस्तो कुरा ?’

बोल्दैनन् त !

धेरै बेरपछि भने, ‘कान्छा यस पुस्तकले मेरो गुलाबी उमेरलाई सम्झाइदियो। जुन उमेरलाई बिर्सिसकेको थिएँ। बिर्सिरहन चाहन्थेँ। सम्झन त म चाहँदै चाहँदैनथेँ। तर यस्तो नसोचेको कुरा भयो। सम्झाइदियो यसले। सम्झाइदिएर मलाई रुवाइदियो।’

काकाले बाबुराम क्यापको सानो पालीलाई थोरै माथि सारे। उनको घाँटीको नसा फुलेको टड्कारो देखेको छु। मुखमा जम्मा भएको जगेडा थुकलाई घुटुक्क निले। भनौं कि नभनौं ! उनको मन एकछिन दोमनको

सँघारमा अल्झियो। बिस्तारै काकाले शब्दको वाक्यवाणीलाई उघारे:

हेर कान्छा, म आठ कक्षामा पढ्दादेखि नै एउटी समकक्षी केटीसँग मेरो पिरतीको दिल लिसो टासिँदा झैं टाँसियो। कोसिस त अनेक गरेँ, टाँसिएको दिल उप्काउनलाई। मैले जबर्जस्ती टाँसेको दिल हैन रैछ, आफैं टाँसिएको दिललाई उप्काउन गाह्रो पर्दो रहेछ। केही सीप लागेन, दिल टाँसिएको टाँसियै भयो। उसको अनुहारको रेखाचित्र हेरेर म पनि बौलाहा बन्न लागिसकेँ। तर पनि मैले भन्न सकिनँ, ‘म तिमीलाई मन पराउँछु, माया गर्छु’ भनेर। यो शब्दको फलामे भारी कति गह्रुँगो भो मलाई, जसलाई मैले दुई वर्षसम्म दिलभित्र पिरतीको पेरुंगामा झुन्ड्याएको झुन्ड्याई राखेँ। जब एसएलसीको परीक्षा आयो। परीक्षाको अन्तिम दिन मुटुमा गाँठो पारेर राखेको कुरालाई त्यही मुटु कमाउँदै बल्ल भनेँ, ‘माधुरी, म तिमीलाई धेरै माया गर्छु’ भनेर। हेर कान्छा त्यस दिन मैले भारीलाई मेरी दिलकी मायालुको सामु बिसाएपछि घरमा आएर नाचेँ। किनकि मैले त्यसो भनेपछि उसले मुसुक्क हाँसेर भनेकी थिई, ‘म पनि त तिमीलाई मन पराउँछु नि।’ उसले त्यसो भन्दा मेरा लागि संसारका हरेक चिज साना भएका थिए। मलाई कति ठूलो कुराले शान्तिसुरक्षा दिएजस्तो भयो। म त्यस कुराको कसरी वर्णन गरौं कान्छा ! मनभित्र खुसी उम्लिएर मुटुको ढकन नै बन्द हुन्छ कि जस्तो भएको थियो।

ओहो ! बढो अद्भुत प्रेमकाहानी सुन्न पाएर मेरा कान अरू पनि कुरा सुन्न खोज्दै चिलका पखेटाझैं फर्फराउन खोजिरहेका थिए। तर पनि मैले कानलाई धैर्यको

प्रतीक्षा गर भन्दै शान्त गराएँ। त्यसपछि कानले तुरुन्तै सुन्ने मौका पाइहाले। काका पिरतीको दोस्रो खण्डलाई उच्चारण गर्न लागे—

एसएलसीको नतिजा राम्रो आयो। अझ मेरोभन्दा पनि उसको। त्यसपछि कलेजको पढाइ सुरु भयो। पारिवारिक वातावरणले गर्दा हाम्रो एउटै कलेज हुन सकेन। ऊ महिला कलेजतिर लागी, म पुरुष कलेजतिर। तर पनि हाम्रो पिरतीको कलेजचाहिँ एउटै थियो। हामी प्रत्येक दिन कहीँ न कहीँ भेट्थ्यौं। त्यो जमानामा मोबाइल थिएन। अघिल्लो दिनको भेटमा नै भोलि कतिखेर कहाँ भेट्ने भन्ने विषयमा जानकारी गराउँथ्यौं। जो अघि भए पनि त्यही ठाउँमा पुगेर बसिन्थ्यो। त्यो प्रतीक्षाको समय पनि कम्ता मीठो हुन्थ्यो कान्छा ! सम्झँदा पनि म गलेर भुतुक्कै हुन्छु। अझ मलाई ती दिनहरूको याद आउँछ, जुन दिनहरू देख्दा वर्षा सकिएर हिउँद लाग्दै आएझैं लाग्थ्यो। महिनाले ती असोज लाग्दै गरेका दिनहरू, त्यस बखत हामी कतै घाँसे मैदानका चौरहरूमा पुग्थ्यौं। त्यहाँ हामीलाई ‘लाऊ लाऊ पिरती लाऊ’ भनेझैं लाग्थ्यो। त्यसै काँसबारीमा लुकीलुकी पिरतीको कमिटी बसाल्दै म उसलाई ‘मुनु’ भनेर बोलाउँथेँ। यो बिर्सिसकेको मुनु भन्ने नामलाई यही उपन्यासले सम्झाइदियो कान्छा। ती दिनहरू सम्झाइदिएर मेरो छातीमा तीर हानिदियो। त्यो गुलाबी उमेरका प्रेममय ताता दिनहरूलाई सम्झाइदिएर मेरो मनमा ठूलो अशान्ति मच्चिएको छ।

शब्दलाई यहीँ रोकेर काका मेरो कोठाको झ्यालबाट बाहिर हेर्न लागे। त्यसपछि बन्द ढोकाको चुकुल खोलेर बाहिर हेरे। मानिलिऊँ, काका आफ्नो जीवनको अति गोप्य कहानी सुनाउन गइरहेका छन्। केही गरी शत्रुले सुनिहाल्यो भने संसारैभरि सुनाइदेला, उनी यो चाहिरहेका छन् कि कहानी म मात्रै सुनौं।

कहानीको तेस्रो खण्डका लागि काका मेरो खुट्टे खाटको डिलैमा बसे। मैले कानका दुलाहरूलाई प्रत्येक शब्द–शब्द पस्न सक्ने रित्तो सुरुङमार्ग बनाएँ। काका भन्न लागे, ‘तँलाई थाहै छ नि कान्छा, म बाहुन समुदायको ठिटो माधुरी नेवार समुदायकी ठिटी। हाम्रो यो अन्तरजातीय सम्बन्धलाई न हाम्रो बाहुन परिवारले रुचाउँथ्यो, न नेवार परिवारले रुचाउँथ्यो। तर पनि हाम्रो पिरतीको मोर्चा बलियो थियो। हामी आफ्नो मोर्चाबन्दीबाट एक इन्च पनि कतै डग्मगाउनेवाला थिएनौं। त्यसैले हामी भागेर विवाह गर्न राजी भयौं।

बोल्दाबोल्दै काकाको घाँटीबाट ‘हुक्क’ आवाज आयो। दयालु आँखा सोझ्याउँदै मैले काकातिर हेरेँ। अहिले त काकाका दुवै आँखाबाट एक लहर आँसु झरिसकेछन्। सोचेँ, ‘अब काका केही पनि बताउन सक्दैनन्।’

अवरुद्द गला। झरी बर्सिएका आँखा !

काकाले मतिर एउटा प्रश्न गरे, ‘कान्छा चौबीस वर्षको उमेर भनेको कस्तो उमेर हो ?’ खै कस्तो उमेर भन्नु ? यस्तै उमेर हो भनेर झट्टै बताउन सक्ने छाँटकाँट नदेखेपछि काका आफैँ भन्न लागे ः

त्यो उमेर भनेको पनि गुलाबी उमेर हो। त्यो उमेरमा आइपुग्दा हाम्रो तर्फबाट दुई सन्तान जन्मिसकेका थिए। एउटा छोरा अर्को छोरी। तर सोच्दै नसोचेको कुरा भो कान्छा। ती दुई सन्तानसहित काकी पोइल गई। म सँगसँगै काकीको अर्कोतिर पनि पिरती रहेछ, पिरतीको पल्ला उतैतिर भारी भएछ। यस कुराले मेरो मनमा ठूलो चोट पर्‍यो। त्यसपछि जति अवसर आए पनि मैले कतै पिरती लगाइनँ। शिक्षक सेवामा नाम निकालेपछि केवल एक जागिरदार मात्र बनेँ। यही जागिरबाट अवकाशप्राप्त भएको मेरो जीवन अब संसारबाटै अवकाश लिने बेलामा यस उपन्यासले त्यस पुरानो कुरालाई सारै नमीठो गरी याद दिलाइदियो। मेरो मुटु हल्लाइदियो। मेरो चाउरी परेको वृद्ध जिन्दगीलाई पगालेर पानी–पानी बनाइदियो। मेरा नाडी गले, मेरा पाखुरा गले, मेरा आँखा तिर्मिराए।

---

काका बिस्तारै शान्त अवस्थामा आउन लागेको कुरालाई मैले सहजै अनुमान लगाउन लागेँ। धेरै बेरको सन्नाटापछि काकालाई सोधेँ, ‘काका तपाईंलाई समग्रमा यो उपन्यास कस्तो लाग्यो ?’

काकाको चिन्तन त बडो दार्शनिक छ। आशा राखेँ, काकाले गम्भीर चेहरामा उपन्यासका गुण र दोष छुट्याउनेछन्। उसो त काका गम्भीर नबन्न पनि सक्छन्। यही उपन्यासबाट घायल भएको हृदय, अहिलेको अहिल्यै केको दार्शनिक चिन्तन मनन गर्न लाग्ला र ! तर पनि आशा राखेँ। आशा गर्दैमा के बिग्रिएला र !

मैले त्यति सोधेपछि काकाले अघि झटारो फ्याँकेको पुस्तकलाई होशियारीपूर्वक हातमा समाए। अनि फरर पाना पल्टाउन लागे। हो नि ! काकाको मन त पुस्तकमै गाडिइसकेको छ नि। अनि काका भन्न लागे, ‘हेर कान्छा पुस्तक मैले राम्रोसँग पढेँ। पुस्तकले मलाई एकातिर झट्का दिइहाल्यो, त्यसैले गुण–दोष छुट्याउने सवालमा ध्यान दिन सकिनँ। तैपनि म के भन्छु भने अमर भाइको रचना कला राम्रो छ। यस उपन्यासले कतिपय कुरालाई सोचविचार नै नगरी पैताला उचालेर गुलाबी उमेरमा उड्न खोज्ने ठिटाठिटीहरूलाई याद गर है ! कतै दुर्घटनाको खाल्डो पनि हुन्छ भन्ने विषयमा राम्रो शिक्षा दिन खोजिएको छ। अर्को गजबको कुरा के छ भने किशोर अवस्था पार गरिसकेर प्रौढ अवस्थातिर उमेरलाई उकालो लाउँदै गरेका अमर भाइ आफू कसरी एक किशोरीको हृदयभित्र पस्न सके अथवा एक किशोरीको चञ्चल हृदयलाई आफ्नो हृदयमा कताबाट सरसापट गरेर ल्याए ? उपन्यासको सबभन्दा बलियो पक्ष र रोचक पक्ष भनेकै यही कुरा छ। यो सितिमिति खेलाँची पाराले गर्न सकिने काम होइन।’

काका यति भन्दाभन्दै उठे। बिस्तारै बाहिर निस्कने तरखरमा पाइला सरे। आजलाई यस्तै भयो। काकालाई एक कप चिया खुवाउन पनि सकिनँ। मेरो कोठामा निकै दिनदेखि चिनीको अनिकाल थियो। पौरखले साथ दिएछ भने म अर्को हप्ता चिनी किन्छु। काकालाई अर्को चोटि अर्को पुस्तकको बहसमा पक्कै चिया खुवाउनेछु। काका निस्कनु र छोरो कलेजबाट आउनुमा त्यस्तै पाँच मिनेट फरक पर्‍यो। काका गएपछि म एकदम रित्तोपनाको अनुभूतिमा थिएँ। छोरो आएपछि त्यस कुराको छिट्टै क्षतिपूर्ति भयो। उसले पनि टेबुलमा भएको गुलाबी उमेरलाई आफ्नो गुलाबी उमेरका औंलाले च्याप्पै समात्यो। मुसुक्क मुस्कुराउँदै भन्यो, ‘गुलाबी उमेर।’ म केही बोलिनँ। ऊ आफैं बोल्दै गयो, ‘कलेजमा हाम्रा साथीहरूले यसको निकै चर्चा गरेका थिए। म पनि पढ्नु पर्‍यो।’

‘ओइ केटा ! खै गुलाबी उमेर ?’

‘मसँग छ,’ मुसुक्क हाँसेर भन्यो।

‘मलाई ले भनेको।’

‘मागेर गुलाबी उमेर पाइन्छ ? तिम्रो त गइसक्यो।’

छोराले बेजोड तरिकाले ठट्टा गर्‍यो तर पुस्तक फिर्ता गर्ने मनशाय निकालेन। मैले यो पुस्तक उसैलाई उपहारस्वरूप प्रदान गरेँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.