पार्टीका झोलेहरूले लेखेका पुस्तक पढ्न मनै लाग्दैन

पार्टीका झोलेहरूले लेखेका पुस्तक पढ्न मनै लाग्दैन

३५ वर्षदेखि प्राध्यापनरत डा. बाबुराम तिमल्सेना विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन्। साहित्य, श्रुति, स्मृति पुराण, दर्शनको अध्ययनमा रुचि राख्ने उनले बनारस हिन्दू विश्वविद्यालयबाट ‘संस्कृत सूत्ति र नेपाली लोकोत्तिको तुलनात्मक अध्ययन एवं विश्लेषण’ शीर्षकमा हालै ६० वर्षको उमेरमा विद्यावारिधि गरेका छन्। उनले नेपाली विषयमा एमएसँगै व्याकरणाचार्य, दर्शनाचार्य, कानुनमा स्नातक र मराठी भाषामा डिप्लोमा गरेका छन्।


सर, कत्तिको फुर्सदमा हुनुहुन्छ ?

बाल्यकालदेखि व्यस्त रहने बानी थियो। अहिले त झनै व्यस्त रहन्छु।

फुर्सदमा के गर्नुहुन्छ नि ?

पढ्छु। आफूले पढेको कुरा साथीभाइ, विद्यार्थी, समाज र आफन्तमा आदानप्रदान गर्छु।

पछिल्लो पटक कुन किताब पढ्नुभयो ?

‘धर्मका समाजशास्त्र’। सच्चिदानन्द सिन्हाको ‘जाति व्यवस्था मिथक, वास्तविकता और चुनौतीयाँ’।

मन पर्‍यो ?

पर्‍यो।

किन ?

‘धर्मका समाजशास्त्र’मा विश्वका धर्मबारे लेखिएको छ। धर्म शरीरमा रहन्छ तर हामी मठमन्दिर र गुम्बामा धर्म खोजिरहेका छौं भन्ने किताबको तर्क छ। मैले पढेका अरू पुस्तकमा पनि त्यस्तै लेखिएको हुन्थ्यो। त्यस कारण मन परेको हो। सच्चिदानन्द सिन्हाको ‘जाति व्यवस्था मिथक, वास्तविकता और चुनौतीयाँ’मा भने सम्पूर्ण जातिको उत्पत्तिको कथासँगै त्यसमा आर्यको उत्पत्ति, सिद्धान्त, हामी किन विभाजित छौं ? जातिमा पूर्वाग्रह किन छ ? र जातिहरू किन झगडा गर्छन् र हाम्रो भविष्य कतातिर जाँदै छ जस्ता विषय छन्।

तपाईंको सिरानीमा किताब ?

माधवाचार्यको ‘क्युँ क्युँ’। विज्ञानले हामीले गरिरहेका थुप्रै कुरालाई अन्धविश्वासको नाममा तिरस्कार गरिरहेको छ। तर, यो किताबमा हामीले गरिरहेका साना साना कुराको पनि महत्त्वसहित व्याख्या गरिएको छ। जस्तो जनै लगाउने, पञ्चगव्य खाने, गंगाजल मात्रै किन शुद्ध छ जस्ता कुराको तार्किक उत्तर छ।

हातमा भएको किताब ?

‘सुभाषित भाण्डागारम्’। यो सुक्तिको संकलन हो। सामाजिक, आर्थिक, राजनीतिक सबै कुरालाई सम्बोधन गर्ने गरी संकलन गरिएका सुक्ति यसमा छन्।

थाती राखेको किताब ?

‘धर्मशास्त्रका इतिहास’ पूरै पढिसकिएको छैन। धेरै भाग छ, त्यसैले थाती छ। यसमा के छैन जस्तो लाग्छ।

धेरै पल्ट पढेको किताब ?

प्राध्यापक भएका कारण पाठ्यक्रममा रहेका किताबहरू धेरै पटक दोहोर्‍याएर पढेको छु।

पहिलो (बच्चाको) किताब ?

मनोहर पोथी, दुर्गा कवच र ठूलो वर्णमाला।

धेरैपल्ट उपहार दिएको किताब ?

चाणक्य नीति।

धेरैपल्ट उपहार पाएको किताब ?

किताब उपहार पाएको छैन। गीताको किताब कसैकसैले सस्तो मोल भएकाले दिएका छन्। बाँकी किताब साहित्यिक कार्यक्रममा जाँदा सबैलाई दिँदा मलाई पनि दिएका छन्।

पढ्न मन लागेर नपाएको किताब ?

महाभारतको आठौं भाग संस्कृतमा छ, त्यो पढ्न पाएको छैन। अरू पनि धेरै नै छन्।

पुस्तक प्रायः कहाँ किन्नुहुन्छ ?

मैले धेरै शिक्षा भारतको काशीमा लिएको छु। काशीमा मोतीलाल बनारसी दासकहाँ धेरै किताब किनेको छु। विद्यावारिधि गर्नेहरूलाई र अन्यलाई पनि त्यहीँ गएर किनाएको छु।

कुन समय धेरै किताब पढ्नुभयो ?

बाल्यकालमा। त्यसपछि एमए नेपाली गर्दा र विद्यावारिधि गर्दा धेरै किताब पढेको छु।

मन परेको पुस्तकालय ?

काशी हिन्दू विश्वविद्यालयको सायजीराय केन्द्रीय पुस्तकालयको व्यवस्था र त्यहाँका कर्मचारीको व्यवहारले गर्दा त्यसैलाई मन पराउँछु।

पढिसकेपछि राम्रो लागेको किताबबारे भन्न खसखस लाग्दैन ? के गर्नुहुन्छ ?

टिपोट गर्छु र त्यसै विषयमा राम्रो लागे लेख्छु। नलागे आफ्नै पुस्तकालयमा थन्क्याएर राख्छु।

समीक्षा पढ्दा कस्तो लाग्छ ?

समीक्षा प्रायः प्रभावपरक लेखेको देख्छु। स्तुतिमा आधारित पाउँछु। सत्य–तथ्यको अभाव भएको महसुस गर्छु।

पढ्दै गर्दा मन परेको÷नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने बानी छ कि ?

प्रथमतः म हाइलाइट गर्छु। कतै रातो मसीले अन्डरलाइन गर्छु। कतै आवश्यक सामग्री पाए पाना पनि दोबार्छु। यस्तो बानी खुबै छ। आलोचना, समालोचना वा कमीकमजोरी औंल्याउनु पर्दा यस्तै काम गरिन्छ।

अनि, किताबमा गाता हाल्ने बानी नि ?

धेरै किताब भएकाले गाता हालेर सकिँदैन। अति महत्त्वपूर्ण किताबमा भने गाता र बाइन्डिङ दुवै गर्ने गर्छु।

नयाँ किताब हात परेपछि सुँघ्नुहुन्छ ?

सँघ्दिनँ। बरु नयाँ किताब हात परेपछि लेखकले के लेखेको छ। भूमिकामा क–कसले के–के भनेर लेखेको छ भन्नेमै ध्यान जान्छ। सुँघ्नेप्रति त

पटक्कै ध्यान जाँदैन।

पाना पल्टाउँदा औंलामा थुक लगाउने बानी छ कि ?

छैन। जुठो हुन्छ। सरस्वती रिसाउनुहुन्छ भन्ने संस्कार पितापुर्खाबाटै पाएको हुँ। त्यसैले थुक लाउँदिनँ। यो विषयमा श्लोक नै छ, ‘गीति शिरी तथा कम्पी तथा लेखित पाठका। अनर्थ, अल्पकण्ठस्थ, षडैते पाठकाधमः।’ अर्थात् गीत गाएर, शिर हल्लाएर, हल्लेर, आफैंले लेखेको आफैं पढ्ने, अर्थ नलाग्ने, आधा कण्ठस्थ आदि गर्ने पाठकहरू अधम हुन् भन्ने ‘सुभाषित’मा लेखिएको हुनाले थुक लगाउने जस्तो गलत बानी कहिल्यै सिकिनँ।

यात्रामा किताब पढ्नुहुन्छ ?

पढ्छु। रेलमा धेरै पुस्तक पढेको छु। विद्यावारिधिका लागि काशी आउजाउ गर्दा धेरै पढेँ। नेपालमा त सार्वजनिक बसमा पढ्न गाह्रै छ। हातबाट किताब मात्र होइन, मान्छे नै उछिट्टिएला भन्ने डर हुन्छ।

कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?

यही समय र ठाउँ भन्ने छैन। रुचिको किताब छ भने जहाँ पनि पढ्छु। बिहान ३ देखि र बेलुका १० बजेसम्म पढ्ने बानी छ। झोलामा कुनै न कुनै किताब सधैं हुन्छन्। त्यसैले जहाँ गए पनि पढ्ने बानी छ।

यहाँसँग भएका दुर्लभ पुस्तक ?

बाहिर बजारमा नपाइने प्राचीन पुस्तक धेरै नै छन्। पुरानो शुक्रसागर र पुरानो भास्वतीको पुस्तक छ, जुन आज बजारमा सितिमिति पाइँदैन। यही भास्वतीबाट पात्रो बन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

यी सबैलाई ‘शुक्रनीति’, ‘मनुस्मृति’, ‘वृहस्पति नीति’, ‘कणक नीति’, ‘विदुर नीति’ पढ्न सिफारिस गर्छु। यसमा पनि राजनीतिज्ञले ‘शुक्रनीति’ चैं पढ्नैपर्छ भन्ने लाग्छ। यसमा कर्मचारी, बुद्धिजीवीको लक्षण र मन्त्रीहरू कस्तो हुनुपर्छ भनी एकदमै राम्रो वर्णन छ।

किनेको सबैभन्दा महँगो पुस्तक ?

 विलियन मोरको संस्कृत–अंग्रेजी शब्दकोश। यसलाई ५० डलर हालेर किनेको थिएँ।

पठन रोजाइमा कुन विधा ?

उपन्यास, कथा, धार्मिक पुस्तक र ज्योतिषशास्त्र बढी मन पर्छ।

पढ्न नपरे हुन्थ्यो भन्ने पनि छ कि ?

त्यस्तो त छैन। पार्टीका झोलेहरूले लेखेका नारा–पुस्तक पढ्न मनै लाग्दैन । यी पढ्न नपरे हुन्थ्यो जस्तो लाग्छ।

के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?

एक पटक पत्रिका चोरेको छु। नोम चम्स्कीका विषयमा चूडामणि बन्धुले लेखेको पत्रिका चोरेको थिएँ, एमए पढ्दाखेरि।

पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ?

दराजमा मिलाएर छोराछोरीले राखिदिन्छन्। छोराछोरी नभए किताब त अस्तव्यस्त भइहाल्छन्, सम्हाल्न सक्तिनँ। म सुत्ने कोठा साह्रै फोहोर देखिन्छ।

किताब मनमनै पढ्नुहुन्छ कि सस्वर ?

संस्कृत पढेको मान्छे भएकाले प्रायः सस्वर पढ्छु। कहिलेकाहीँ लामा गद्य जस्ता पुस्तक मनमनै पढ्छु। अंग्रेजी पढ्दा भने मनमनै पढ्छु। अंग्रेजीमा अलि कमजोर छु नि त। सस्वर पढ्यो भने समातिन सक्छु।

कुन लेखक भेट्न चाहनुहुन्छ ?

जगदीश घिमिरे। तर, उहाँ बितिसक्नु भयो।

तपाईंले लेख्न चाहिरहेको पुस्तक ?

न्यायावलि, सूक्ति र लोकोक्तिको तुलनात्मक अध्ययन।

तपाईंले अनुसन्धान गरिरहेको विषय ?

न्यायावलीमाथि किताब लेख्न खोजिरहेको हुनाले अहिले यसै विषयमा अनुसन्धान गरिरहेको छु। जस्तो संस्कृतमा केही शब्द छन् जो नेपालीमा प्रयोग पनि हुन्छन् तर सन्दर्भ राम्ररी खुलेको छैन। जस्तो— अरण्य रोदन, कुप मण्डुक (कुवाको भ्यागुतो)।

बढ्ता होहल्ला भएको औसत किताब ?

मनुस्मृतिलाई ठान्छु। महिला त सुन्नै चाहँदैनन्। राजनीति गर्नेले पनि चिया गफमै यसको आलोचना गरेको सुन्छु। विवादास्पद भए पनि शासकका लागि भने पठनयोग्य किताब हो भन्ने ठान्छु।

कम होहल्ला भएको राम्रो किताब ?

स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’।

आफूलाई मन परेका पाँच पुस्तक सिफारिस गर्न सक्नुहुन्छ ?

‘ब्रह्मासूत्र शांकर भाष्यम्’, ‘शुक्रनीति’, भर्तृहरिको ‘नीतिशतक त्रय’, सेक्सपियरको ‘म्याक्वेथ’, एर्थर एन्थोनी म्याकडोनेलको ‘हिस्ट्री अफ संस्कृत लिट्रेचर’।

प्राध्यापनको अनुभवका आधारमा पढ्ने चलन अहिले कस्तो छ ?

पढ्दा छिटो याद हुने र बिर्सने क्रम अचेल बढ्न थालेको छ। करिब ३५ वर्ष प्राध्यापन पेसाको अनुभवमा भन्दा विद्यार्थी पाठ्यक्रम मात्र पढ्छन्। बाहिरी ज्ञान उनीहरूमा शून्य छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.