प्रधानमन्त्रीको ‘भिजन टु एक्सन’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित विशेष समारोहमा ओलीको ६९औं जन्मोत्सवका अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
आन्तरिक र विदेशी नीतिबारे विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ। देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ। उनले मुलुक सञ्चालनका दौरान प्राप्त गरेको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सारेको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेटेका छन्।
प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारण मानिसले खान, लाउन र बस्ने ठाउँ नपाएको उल्लेख गरे। वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको उनले बताए। उनले मुलुकलाई २१औं शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताए। ‘अटोक्रेसी टु डेमोेक्रेसी त आइहाल्यो’, उनले भने, ‘अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो।'
उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढंगले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको उनले बताए। मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावना अथाह रहेको उल्लेख गर्दै उनले स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुने धारणा व्यक्त गरे। उनले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताए।
उनले नेपाललाई ढुंगा, काठ, माटो, दाउरा, बाँस, पराल सबै प्रकृतिले दिए पनि व्यवस्थापन अभावमा घर बन्न नसकेको सन्दर्भ जोडे। केही वर्षभित्रमै मुलुक आवासविहीनताको अन्त्य हुने उद्घोष उनले गरे। उनले देश गरिब भए पनि भोमकमरी नभएको जिकिर लिँदै भने, ‘कोही भोको पर्दैन, कोही भोकै मर्दैन, सरकारले जिम्मा लिन्छ।’ उनले धेरै ठूला कुरा गर्नुभन्दा पहिले त्यसको व्यवस्था गर्नुपर्छ भनेर सरकारले काम थालिसकेको जानकारी दिए। सरकारले सडक बालबालिका, सडक मानव र सडकमा पछारिएका बेहाल मान्छे रहने अवस्थाको अन्त्य गरेको पनि उनले बताए।
समृद्धिको यात्रामा अघि बढेको मुलुकमा विगतको सुस्ततालाई चिर्दै हरेक दिन ६ किलोमिटर सडक बनिरहेको उनले उल्लेख गरे। ‘दुई वर्षमा साढे ३ सय पुल बनेको छ, तुइन विस्थापित भएको छ, ऊर्जा उत्पादनमा असाधारण वृद्धि भएको छ, सञ्चिति र बचतमा वृद्धि भएको छ, व्यापार असन्तुलन अलिकति भए पनि न्यून गरेका छौं’, उनले भने। उनले व्यापार सन्तुलनमा लैजान उत्पादन र उत्पादकत्व बढाउँदै उपभोगको ढाँचा प्रवृत्ति र तरिकालाई फेर्नुपर्नेमा जोड दिए।
सार्वसौमसत्ता र जनता निर्णयक भएको वास्तविक लोकतान्त्रिक प्रणालीको थालनी गरिएको स्मरण गर्दै उनले ढंग पुर्याइएन भने मुलुक सार्वभौम भए पनि समस्या यथावत् रहने बताए। उनले प्राकृतिक स्रोतसाधनलाई समुचित ढंगले उपयोग गर्न सक्ने गरी शिक्षा र तालिमको आवश्यकता महसुस गरे। प्राकृतिक स्रोतभित्रको असाधारण सम्भावनालाई समुचित प्रयोग गर्नुपर्नेमा उनको जोड थियो।
बाह्य मुलुकले देशभित्रको सम्भाव्यतालाई प्रयोग गर्न सक्ने सामथ्र्यको विकास गरिरहेको सन्दर्भ जोड्दै उनले भने, ‘हामीले त्यस्तो काम गर्नु आवश्यक छ र गर्न सक्छौं। नेपालीहरू विद्वान् पुर्खाका सन्तान हुन्, त्यसकारण हामीसँग वंशाणुगत मेमेरो छ, हाम्रा पुर्वज बहादुर भनेर बढी चर्चा गरिन्छ, उनीहरू बहादुरभन्दा विद्वान् थिए, त्यो विद्वताको कम चर्चा भइरहेको छ।
अहिलेको सरकार गन्तव्यमा पुग्न हिसाब गरेरै अघि बढेको उनले बताए। ‘ढुंगा टिपेर फाल्दा जहाँ खस्छ त्यहाँ निशाना हो भन्नुभन्दा पनि अहिलेको सरकार पहिले निशाना तय गरेर त्यस निशानामा पुग्ने बाटो तय गर्दै अघि बढेको छ’, उनको भनाइ थियो।
पुस्तकको टिप्पणीका क्रममा कूटनीतिज्ञ शम्भुराम सिंखडाले प्रधानमन्त्री ओलीलाई रंगीन, मौलिक र आफ्नो कुरालाई प्रस्तुत गर्न सक्ने शक्तिशाली व्यक्तिको संज्ञा दिए। उनले ओलीको पुस्तकमा संयुक्त राष्ट्रसंघ, भारत, चीनलगायत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, लगानी, व्यापारघाटा र त्यसलाई पूर्ति गर्न आवश्यक पर्ने सुधारको बारेमा उल्लेख भएको बताए।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय श्रम संगठनको सयौं वार्षिकोत्सवमा सम्बोधन गरेको र सरकारले अघि सारेको सामाजिक सुरक्षाको विषय पनि पुस्तकमा समावेश छ। पुस्तकमा उनले समन्यायिक र सामाजिक विकासको परिकल्पना समेटेका छन्। सन् २०३० सम्ममा मुलुकलाई विकासको नयाँ स्थानमा पुर्याउने लक्ष्य किताबको ठाउ–ँठाउँमा व्यक्त भएको सिंखडाले बताए। ‘वैचारिक धरातल, नीतिगत दृष्टिकोण र कामको फेहरिस्त पुस्तकका रुपमा आएको छ’, उनले भने, ‘अब बुद्धिजीवी भन्नेहरूले त्यसको चिरफार गरेर कि सकारात्मक दृष्टिकोण दिनुपर्यो कि आलोचना गर्न छाड्नुपर्यो।’ उनले सबैभन्दा महत्वपूर्ण शक्तिशाली संयन्त्र र त्यसको सवलीकरण तथा प्रभावकारी विकासबिना समाजको रुपान्तरण सम्भव नभएकाले त्यस संयन्त्रको नेतृत्व प्रधानमन्त्रीले गरेको बताए।
आफ्नो र मौलिक किसिमको परिवर्तनको प्रक्रियामा रहेको नेपाललाई वैचारिक चिन्तनको गहिराइका लागि प्रधानमन्त्री ओलीले वौद्धिक विष्लेषण र सार्वजनिक बहसलाई पुस्तकमार्फत खुला गर्नुभएको सिङ्खडाको भनाइ थियो। “सबै कुरा बिग्रियो, भत्कियो भन्ने मनस्थितिबाट माथि उठेर आशा र विश्वासको वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, ‘किताबको सबैभन्दा ठूलो पक्ष भनेको आशा र विश्वासका लागि सबैभन्दा आवश्यक कुरा हाम्रो चिन्तन, सोच र काम हो।’
सीप, स्तर र नैतिकतामा आधारित अर्थतन्त्र बनाउने प्रधानमन्त्रीको सोच किताबमा झल्किएको अर्का टिप्पणीकार डा. बिन्दु लोहनीको भनाइ थियो। प्रकाशन संस्था रत्न पुस्तक भण्डारका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले पुस्तकको असर पुस्तक र पाठकबीचको सम्बन्धमा मात्र सीमित नभई यस दृष्टिकोणमा आधार भएर मुलुक सञ्चालन भइरहेको छ भन्ने अभिव्यक्ति छ भने। उनले पुस्तक देख्न र पढ्नका लागि मात्रै नभई मुलुक र जनताको जीवनमा परिवर्तनका लागि महत्वपूर्ण रहेको बताए। प्रधानमन्त्री ओलीले आफ्नो दृष्टिकोण मुलुकको हितका लागि पुस्तकमार्फत अघि सारेको उनको भनाइ थियो। –रासस