बूढासुब्बा गोल्डकप : युनाइटेड सेमिफाइनलमा
धरान : २२औं बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै भारतको युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार धरान–१६ स्थित रंगशालामा भएको खेलमा भारतले टाइबे्रकरमा धरानलाई ४–२ गोलले पराजित गर्यो।
निर्धारित ८० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल सीधै टाइबे्रकरमा गएको थियो। खेलको ३५औं मिनेटमा धरानका सुनिल खड्काले गोल गरेका थिए। पहिलो हाफमा कमजोर प्रदर्शन गरेको भारत दोस्रो हाफमा लयमा फर्किएको थियो। खेलको ७७औं मिनेटमा भारतका सिदान्त क्षत्रीले धरानको रक्षापंक्तिलाई छक्याउँदै गोल गरेका थिए।
टाइब्रेकरमा भारतका सिदान्त क्षत्री, प्रशान्त राई, निरेन प्रधान र प्रयास प्रधानले गोल गरे। धरानका हेमन्त थापा, मनिष गुरुङले मात्र गोल गर्न सके। धरानका विक्रम लिम्बूले प्रहार गरेको बल भारतका गोलरक्षक राजा बुरमनले विफल पारे भने मनोज राईको प्रहार क्रसबारमा ठोक्किएर बाहिरिएको थियो। खेलको म्यान अफ दी म्याच भारतका वाङ्देन तामाङ घोषित भए। उनले १५ हजार पुरस्कार पाए।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर तथा विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगिताअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ।