पर्यटकीय स्थल बन्दै शिवपुरी धाम

पर्यटकीय स्थल बन्दै शिवपुरी धाम

धनगढी : धनगढीमा रहेको शिवपुरी धाम सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय स्थल बनेको छ। धनगढीबाट मात्र नभएर बाहिर जिल्लाका धार्मिक पर्यटक पनि शिवपुरी धाममा पुग्ने गरेका छन्। यहाँ महाशिवरात्रिमा विशेष मेला लाग्ने गरेको छ।

पूजाआजासँगै धाम अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक शिवपुरीमा पुग्ने गरेका हुन्। बजारबाट नजिक भएकाले धनगढी पुगेर यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गर्न चाहनेको पहिलो रोजाइ धाम बन्ने गरेको छ। ‘धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा अवस्थित शिवपुरी धाम धार्मिक दृष्टिले महत्वपूर्ण छ नै भौतिक रूपमा पनि सुन्दर र रमणीय छ। पछिल्लो पटक आन्तरिकसँगै भारतीय पर्यटक पनि धाममा आउँछन्’, स्थानीय कर्णबहादुर जप्रेलले भने। ‘प्रचार गर्न सकेनजिकै रहेको भारतका धार्मिक पर्यटक पनि यहाँ भिœयाउन सक्छौँ।’ शिवरात्रिमा हजारौं भक्तजनको घुइँचो लाग्ने गरेको उनले बताए।

धामको धार्मिक पर्यटन विकास र पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न हरेक वर्ष महायज्ञ हुँदै आएको छ। यस वर्ष गत २ गतेबाट सुरु भएको महायज्ञमा भक्तजनको भीड लागेको स्थानीयले बताएका छन्। ‘धाममा भक्तजनको भीड अथाह छ’, कञ्चनपुरबाट आएका जीवन अवस्थीले भने, ‘व्यवस्थित भएन। यसलाई धाम व्यवस्थापन समितिले विशेष पहल गर्न आवश्यक देखिएको छ।’

शिवपुरी वनसँगै जोडिएको आठ बिघा क्षेत्रमा फैलिएको धाम सुन्दर र रमणीय रहेको त्यहाँ पुग्नेहरू बताउँछन्। धनगढीमा शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबालगायत बजारनजिक पर्ने पर्यटकीय क्षेत्रलाई जोडेर नगरको पर्यटन करिडोर निर्माण गर्न सकिने पर्यटन व्यवसायी बताउँछन्। यी क्षेत्रलाई नगरका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले ध्यान दिनुपर्ने नगरबासीको माग छ।

वरिपरि जंगलले ढाकिएको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिंग धाममा १ सय ८ फिट अग्लो शिवलिंग स्थापना गरिएको छ। यसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिंग भन्ने गरिन्छ। पवित्र धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिंग धाममा नेपाल माताको मूर्तिलगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहर पनि छन्। एक सय ८ फिट अग्लो ज्योतिर्लिंग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहरको रूपमा शिवपुरी धामलाई लिइन्छ।

धाममा विवाह, ब्रतबन्धजस्ता कार्य पनि हुने गरेका छन्। धार्मिक कार्यका लागि पाँच वटा मण्डप बनाइएका छन्। धाममा गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायणको मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर पनि अवस्थित छन्। भिक्षु, भिक्षुणी बस्न कुटिहरू पनि निर्माण गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.