सूर्योदय र त्रिलोक मर्जपछि एकीकृत कारोबार
स्याङ्जा : स्याङजाको सूर्योदय र नवलपरासीको त्रिलोक लघुवित्त गाभिएपछि बनेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। पुतलीबजार नगरपालिका १ मा रहेको केन्द्रीय कार्यालय सूर्योदय लघुवित्त वित्तीय संस्था र नवलपरासीको सुनवलमा रहेको त्रिलोक लघुवित्त मर्ज भएपछि एकीकृत कारोबार शनिबारदेखि सुरु भयो।
घोषणासँगै बोनस सेयरसहित झण्डैं १५ करोड ६० लाख चुक्ता पुँजी रहेकोे सूर्योदय र करिब ६ करोड चुक्ता पुँजी रहेको त्रिलोक एक आपसमा गाभिएका हुन्। मर्जरपछि २१ करोड ५० लाख चुक्ता पुँजी पुगेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९० लाख ५२ हजार कर्जा रकम लिइएको र सदस्यबाट बचत १ अर्ब १ करोड छ।
दुवै वित्तीय संस्था गाभिएपछि संस्थाको अध्यक्ष पद त्रिलोकका लेखनाथ खनियाले पाएका छन् भने प्रमुख कार्यकारी अधिकृत सूर्योदयका मोक्षप्रसाद पंगेनी भएका छन। प्रधान कार्यालय भने हाल पुतलीबजार नगरपालिका १ मा नै रहनेछ। संस्थाको नाम भने सूर्योदय राखिएको छ। लेखनाथ खनियाको अध्यक्षतामा शरद अधिकारी, गुणाखर सापकोटा, अनन्तकुमार श्रेष्ठ, दुर्गाबहादुर शाह, नारायण पौडेल र तारा शर्मा रहने गरी सञ्चालक समितिसमेत चयन भएको छ।
२०७० मा पुतलीबजार नगरपालिका १ मा प्रधान कार्यालय बनाइ राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त सूर्योदय लघुवित्त हो भने त्रिलोक २०७४ सालमा स्थापित हो। सूर्योदय २३ जिल्लागरी ५० शाखाबाट सेवारत छ भने त्रिलोकले १० जिल्लामा १५ शाखाबाट सेवा गर्दै आएको थियो।
मर्जपछिको संस्थाको प्रदेश ४, ५ र ६ मा गरी ३३ जिल्लामा ६५ शाखा कार्यालय र ३ सय ३६ जना कर्मचारी कार्यरत छन। एकीकृत कारोबार घोषणासभामा अध्यक्ष लेखनाथ खनिया, निवर्तमान अध्यक्ष अनन्तकुमार श्रेष्ठ, सञ्चालक गुणाखर सापकोटा, प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी, शाखा प्रमुख सूर्य पौडेललगायतले वित्तीय संस्थाले आगामी दिनका कार्ययोजनाका बारेमा जानकारी गराए।