छैन चिन्ता पढाइको
प्रविधिको प्रयोग बढेसँगै विद्यार्थीमा पढ्ने संस्कार परिवर्तन भएको छ। इन्टरनेटको सुविधा नहुँदासम्म विद्यार्थीको ध्यान पुस्तकमा बढी हुन्थ्यो। इन्टरनेटको पहुँच सहज भएपछि पढ्ने समय सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा खर्च भइरहेको छ। अभिभावक भन्छन्, ‘परीक्षा आयो पढ !’ बालबालिका भन्छन्, ‘पुस्तक मात्र पढ्ने हो र ! जमाना कता पुगिसक्यो !’ पिटेर पढाउने पुरानो चलनलाई सरकारी नीतिले नै प्रतिबन्ध लगाएको छ। बालबालिकालाई कसैसँग डर छैन। शिक्षकको अनुभवमा यसले विद्यार्थीमा पुस्तक पढ्ने संस्कार हराउँदै गएको देखिन्छ।
‘पुस्तक पढ्ने हो र ! अब त युट्युब हेर्ने हो’, ५ कक्षामा पढ्ने सातदोबाटोका कुशल बराल भन्छन्। ‘युट्युब र गुगलमा किताबमा भन्दा धेरै कुरा पाइन्छ’, उनी थप्छन्, ‘परीक्षा आए पनि पुस्तक पढिन्न, इन्टरनेटमै पढ्न सजिलो छ।’
अभिभावक भने बालबच्चाले नपढेको भन्दै चिन्तित छन्। ‘किताब त जति स्कुलमा पल्टायो–पल्टायो’, कुशलकी आमा रीता भन्छिन्, ‘घरमा आएर एक सेकेन्ड पनि पुस्तक पल्टाएर हेरेको हुँदैन।’ यो चिन्ता सबै अभिभावकमा देखिन्छ। आधारभूत तहदेखि कक्षा ११–१२ सम्मका विद्यार्थीमा यो समस्या देखिने शिक्षकको अनुभव छ।
काठमाडौंको टोखा नगरपालिका– ७ धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डे पढ्ने संस्कार हराउँदै जानुमा सरकारी नीति, विद्यार्थी, शिक्षक र अभिभावकको कमजोरी देख्छन्। ‘फेल नहुने भएपछि विद्यार्थीमा पढ्नुपर्छ भन्ने चिन्ता छैन’, पाण्डे भन्छन्, ‘शिक्षकसँगको डर पनि छैन। यसले उनीहरूमा पढ्ने अनुशासन हरायो।’
यता बाल–साहित्यकार प्रमोद प्रधान भने छोराछोरीले पढेनन् भन्ने अभिभावकमाथि नै प्रश्न गर्छन्। ‘छोराछोरीले पढेनन् भन्ने अभिभावक कति पढ्छन् ? ’, प्रतिप्रश्न गर्दै प्रधान भन्छन्, ‘बाबुआमाले किताब पढेको देखे पो केटाकेटीले पढ्छन्। बालबालिकामाथि खोट लगाउनुअघि अभिभावकले सोच्नुपर्छ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभाग प्रमुख डा. रवि शाक्य भने, ‘ग्रेडिङ सिस्टम’को बुझाइ नै गलत भएको बताउँछन्। ‘सबै कुराको फाइदा बेफाइदा हुन्छ। बच्चाको मानसिक स्वास्थ्यका लागि ग्रेडिङ सिस्टम राम्रो हो।’ ग्रेडिङ नगरेर पहिला जस्तो प्रतिशतकै आधारमा रिजल्ट दिँदा बच्चाले बढी पढ्छ भन्ने विश्वास उनलाई लाग्दैन। ‘तनाव नभए बच्चा झन् राम्रो हुन्छन् भन्ने मेरो बुझाइ छ’, डा. शाक्य भन्छन्।
‘ग्रेडिङ’ले विद्यार्थीलाई अल्छी बनायो
यता विद्यार्थीले पढ्दै नपढ्नुमा ग्रेडिङ प्रणाली कारक रहेको प्रधानाध्यापक पाण्डेको बुझाइ छ। ‘ग्रेडिङ सिस्टम आएपछि पास र फेलको कुनै चिन्ता छैन। स्कुल आएपछि पास भइहालिन्छ’, पाण्डे भन्छन्, ‘विद्यार्थीले पढ्न छोड्नुको एउटा महत्वपूर्ण कारण यही राज्यको नीति देखिएको छ।’
पछिल्लो समय निजी विद्यालयमा चर्को शुल्कमा पढाउने अभिभावक छोराछोरीको शिक्षाप्रति चिन्तित भए पनि सरकारी विद्यालयमा त्यो नदेखिएको पाण्डेको अनुभव छ। ‘निःशुल्क भएकाले सरकारी विद्यालयमा बालबालिका पढाउने अभिभावले छोराछोरीको पढाइबारे चिन्ता गर्दैनन्’, प्रधानाध्यापक पाण्डे थप्छन्, ‘व्यवस्थापन समितिले समेत समय सुहाउँदो शिक्षाको विषयमा बेवास्ता गर्दा विद्यार्थीमा क्वालिटी मेन्टेन गर्न कठिन छ।’
विद्यार्थीको चाहनाअनुसारको शिक्षण पद्धति नहुनु, गल्ती गर्नेलाई राजनीतिक संरक्षण हुनु, शिक्षक पुरानो मानसिकतामै रहनुले पनि पढाइमा प्रभाव परेको प्रधानाध्यापक पाण्डेको बुझाइ छ।
‘विद्यार्थीको पढाइ सुधार गर्न कक्षाकोठामा परिवर्तन गर्नुपर्छ। हिजो हाम्रा बाबुबाजेले पढेको शिक्षाले आजको पुस्तालाई कसरी आकर्षण गर्न सकिन्छ ? विद्यार्थीको चाहनाअनुसारका कक्षा कोठा छैनन्। आजका विद्यार्थी टाठाबाठा छन्’, प्रधानाध्यापक पाण्डे भन्छन्, ‘उनीहरू मनोरञ्जनसहित प्राविधिक शिक्षा लिन चाहन्छन्। समयअनुसार शिक्षक परिवर्तन हुन सकेनन्। असाध्यै परम्परागत शिक्षा प्रणाली भयो। यसबाट परिवर्तन हँुनै सक्दैन।’
यही अवस्थामा अगाडि बढ्ने भए राज्यको लगानी बालुवामा पानी हालेजस्तै हुने उनको भनाइ छ। ‘सरकारी विद्यालयमा रिजल्ट राम्रो हुँदैन। किनभने शिक्षा पनि अहिले सामान जस्तै भयो’, पाण्डे भन्छन्, ‘धेरै पैसा तिर्ने निजी विद्यालयमा राम्रो, निःशुल्क पढाउने सरकारीमा नराम्रो।’ यसको प्रभाव राष्ट्रिय रूपमै रहेकाले यसलाई परिवर्तन गर्न राज्यले नीतिगत तहबाटै निर्णय लिनुपर्ने उनको सुझाव छ।
शिक्षा जसरी लिन पनि सकिन्छ
अधिकांश अभिभावकको एउटै भनाइ हुन्छ, ‘मोबाइलले छोराछोरी बिग्रिए।’ तर मोबाइल चलाउँदैमा बालबालिका बिग्रिने होइनन्। प्रविधिको सदुपयोग गर्न जान्दा मोबाइल र इन्टरनेट, शिक्षाको खानी हो। अहिले नेपालमा मात्र नभई विश्वभरि नै बालबालिकाले मोबाइल फोनको प्रयोग गर्छन्। उनीहरूले गृहकार्य गर्नदेखि साथीसँग कुरा गर्न अनि विभिन्न खेल खेल्न पनि मोबाइल चलाउँछन्। तर, यो विषयमा अभिभावक सचेत भने हुनैपर्छ। जुनबेला पनि मोबाइल चलाउँदा बालबालिकाको वैयक्तिक, सामाजिक तथा सिर्जनशील विकासमा असर पर्छ। इन्टरनेट र मोबाइलप्रति बालबालिकाको आकर्षण संसारभर बढेको छ।
‘मोबाइल र इन्टरनेटमा एडिक्सन नै हुँदा यो रोग नै हो कि भनेर संसारभर छलफल भइरहेको छ’, डा. शाक्य भन्छन्, ‘बालबालिकाको इन्टरनेट लत एउटा रोग नै हो भन्ने करिबकरिब स्थापित भई नै सकेको छ।’
हरेक दिन लामो समय मोबाइल र इन्टरनेटमा रमाउँदा तत्काल आँखा दुख्ने, निद्राको ढाँचा परिवर्तन हुने, हात दुख्ने, सोच्ने क्षमता कम हुनेलगायत थुप्रै समस्या हुन सक्छन्।
बालबालिकालाई मोबाइलबाट टाढा राखेर होइन यसका कारण बालबालिकामा समस्या आउन नदिन सबैभन्दा पहिले बाबुआमा र परिवारका सदस्यको भूमिका नै प्रमुख हुन्छ। बालबालिकालाई मोबाइलभन्दा बाहिर पुस्तकको संसार छ भनेर देखाउन सक्नुपर्छ। बिदामा कतै नयाँ ठाउँमा घुम्न लानेदेखि आफ्नो संस्कृतिबाट पनि मनोरञ्जन हुने कुरा सिकाउनुपर्छ।
डा. शाक्य ग्रेडिङ पद्धतिले बच्चालाई अस्वस्थ्य प्रतिस्पर्धाबाट बचाउने बताउँछन्। ‘सबै कुराको फाइदा बेफाइदा हुन्छ। ग्रेडिङ सिस्टमले हाम्रो बच्चालाई अस्वस्थ्य प्रतिस्पर्धा हुनबाट अलिअलि बचाउँछ’, डा. शाक्य थप्छन्, ‘योभन्दा अघि साथीको भन्दा किन एक प्रतिशत कम नम्बर आयो भनेर अभिभावकले गाली गर्ने चलन पनि बच्चाका लागि खराब थियो नै थियो।’
ग्रेडिङले साथीले एक नम्बरले जित्यो, दुई नम्बरले जित्यो भनेर बच्चामा हुने तनावलाई कम गरेको उनको बुझाइ छ। ‘साथीले एक नम्बर धेरै ल्याएको नाममा बच्चालाई जुन खालको तनाव हुन्थ्यो, ग्रेडिङले त्यसबाट बालबालिकालाई केही हदसम्म बचाएको छ’, डा. शाक्य भन्छन्, ‘बाबुआमाले अनावश्यक ढंगले प्रेसर दिन पनि छोडेको मेरो बुझाइ छ।’
बालबालिकालाई समय खोइ ?
धेरै अभिभावक कामकाजी हुँदा बालबालिकासँगै बस्ने र पढ्ने फुर्सद छैन। आफूलाई काम गर्न सहज होस् भनेर धेरै अभिभावकले बालबालिकालाई मोबाइलमा भुलाएका हुन्छन्। बालबालिकालाई यो विस्तारै लत बन्छ। फुर्सदमा साथीसँग खेल्ने र अभिभावक घर आइपुगेपछि मोबाइल लिएर रमाउने बालबालिकाको संख्या बढी देखिन्छ।
बालबालिकाको यो लतले अधिकांश अभिभावक हैरान छन्। पुस्तकको विकल्पकै रूपमा मोबाइलको उपयोग हुँदा पढ्ने संस्कार नै बदलिएको कतिपयको बुझाइ छ। तर, परीक्षाको समयमा शिक्षकले दिएको नोट र पुस्तक जत्ति उपयोगी मोबाइल हुँदैन। प्रविधिभन्दा टाढा आजको नयाँ पुस्तालाई राख्न सकिँदैन। तर, विद्यालय तहका बालबालिकालाई पुस्तक पढ्ने बानीको विकास गराउनमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ।
अभिभावकले कम्प्युटरमा काम गर्दा बालबालिकालाई पुस्तक पढ्ने रुचि नै हुँदैन। बालबालिकालाई पुस्तक पढ्ने बानी बनाउन उनीसँग हुँदा सकेसम्म अभिभावकलेसमेत पुस्तक पढ्ने र लेख्ने गर्नुपर्छ। तपाईंले लेख्दै पढ्दै गरेको देखेपछि हरेक दिन उनीहरूल पढ्न सिक्छन्।
बालसाहित्यकार प्रधान पुस्तकको गुणस्तरतातर्फ नगई हेर्दा अहिले बजारमा बालबालिकाका लागि धेरै पुस्तक आएको सुनाउँछन्। ‘अहिले गुणस्तरतातर्फ नजाऔं, संख्याको हिसाबले पाठ्यपुस्तकसँगै साहित्यक, राजनीतिक, इतिहासका पुस्तक थुप्रै छन्’, प्रधान भन्छन्, ‘बालबालिकाले पढ्ने पुस्तकको बजार बढेको छ। तर, हाम्रोमा पढ्ने संस्कार अझैसम्म बढ्न सकेको छैन।’
पुस्तक पढ्ने बानी आजको भोलि नै विकास गर्न सकिँदैन। त्यसको संस्कार नै विकास हुनुपर्छ। ‘किताब पढ्ने भनेको बानीको विकास हो, त्यो नभएसम्म पढ्ने संस्कार बढ्दैन’, प्रधान भन्छन्, ‘प्रविधिले विद्यार्थीको समय खाइदिएको छ। हाम्रा विद्यालयमा पनि त्यो वातावरण छैन।’ बालबालिकाले पढेनन् भन्नु अगाडि समयअनुसार उनीहरूको सोचमा आएको परिवर्तनलाई मानसिक ढंगले बुझ्न प्रधान अभिभावकलाई सुझाव दिन्छन्।