‘कविता दुई दिनको होहल्ला होइन’

‘कविता दुई दिनको होहल्ला होइन’

सुप्रसिद्ध कवि श्रवण मुकारुङ तीन दशकदेखि कविता र गीत लेखनमा निरन्तर सक्रिय छन्। उनका तीन कवितासंग्रह, दुई गीत संग्रह, दुई नाटक र दुई निबन्धसंग्रह प्रकाशित छन्। ‘बिसे नगर्चीको बयान’ उनको सर्वाधिक चर्चित कविता हो, जसलाई नेपालको गणतान्त्रिक आन्दोलनको ‘फ्ल्याग बेयरर’ सिर्जना मानिन्छ। कवि मुकारुङसँग नेपाली कविता र कविको निजी जीवनका आरोह–अवरोहमाथि केन्द्रित रहेर ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले संवाद गरेका छन्। 


कविताप्रति आम नागरिकको विश्वास र अभिरुचि घट्दै गएको हो ?

म कवि भएको हुनाले यो कुरामा सही थाप्न मिल्दैन। कविताप्रति त झन्झन् रुचि बढेको देख्छु म। तर, सबै कविता ठूलो फैलावटमा जाँदैनन्। कविताको भाषा विशिष्ट हुने भएकाले सबैले यसलाई मन पराउँछन् भन्ने हुँदैन। फेरि कविताका पारखी र साहित्यप्रेमीमाझ कविताको वितृष्णा छैन। यसैकारण त कविले आफ्नो विश्वास गुमाउनु हुँदैन। कविताबाट दिइने विश्वास भत्कनु हुँदैन। भत्कियो भने कविताले पाठक र लोकप्रियता दुवै गुमाउँछ।

राजनीतिक परिवर्तन (पहिचानको आन्दोलन, धर्म निरपेक्षता, गणतन्त्र प्राप्ति) नभएको भए तपाईंको स्थान के हुन्थ्यो ?

६२-६३ सालको परिवर्तनअघि पनि समकालीन कविहरूमाझ म चिनिएकै थिएँ। यथार्थ के हो भने, हाम्रो समाज परिवर्तनशील छ। यहाँ छिटोछिटो राजनीतिक हेरफेर भइरहन्छ। यस्तो समाजमा तपाईंले नयाँ कुरा गर्नेबित्तिकै नयाँ भइहाल्छ। यसकारण राजनीतिक परिवर्तनले मेरो काव्यिक जीवनमा बलियो आधार दिएको हो। तर, गणतन्त्र प्राप्ति हुनुभन्दा दुई दशकअघिदेखि नै म कविता र साहित्यमा सक्रिय थिएँ भन्ने कुरा जबर्जस्ती बिर्सन खोज्नेको जमात पनि छ यहाँ।

नेपालको साहित्य जगत्भित्र कवि–लेखकबीच ठूलोठूलो टकराव हुने, एकले अर्कोलाई उडाउने, उपेक्षा गर्ने र आपसी हार्दिकता नहुने संस्कार बनेको छ। किन ?

यो हाम्रो नेपालमा मात्र होइन, संसारभरिकै साहित्यमा चलिरहेकै छ। यसलाई नकारात्मक होइन कि बाँच्ने एउटा शैलीकै रूपमा पनि लिन सकिन्छ। साहित्यमा मात्र होइन, हाम्रो समाज पनि यस्तै छ। मृत्युपछि मात्र सर्जकको सम्मान गर्छ। नकारात्मक कुरालाई धेरै प्रश्रय दिन्छ। 

फेरि कवि–लेखकबीच सधैँ एकप्रकारको सिर्जनात्मक प्रतिस्पर्धा चलिरहेको हुन्छ। यसले गर्दा पनि केही टकराव हुने गर्छन्। तर, कतिपय कुरा हामीले सुधार गर्नैपर्छ। पछाडि कुरा काट्ने, एकले अर्काको अस्तित्व स्वीकार नगर्ने बानी सुधार्नुपर्छ। योगदान र प्रतिभाको आधारमा एकले अर्कालाई सम्मान गर्नुपर्छ। 

यसरी हेर्दा त कविता र साहित्यलाई ‘अर्ध–राजनीतिक गतिविधि’ भन्न नमिल्ला ? 

मिल्छ। किनभने, प्रगतिशील लेखकहरूले लेखनबाटै आफ्नो राजनीति गरिरहेका हुन्छन्। व्यक्तिगत तवरमा पनि एउटा लेखकले लेखन र राजनीति सँगै गरिहेको उदाहरण विश्वभरि नै छ। यसको ताजा उदाहरण, आजको सरकारले पनि प्रजातान्त्रिक धारका कविलाई कुनै नियुक्ति दिएको छैन। राजनीतिले नै गुट–उपगुट र राजनीतिक संस्कारको चरित्र सिकाउँछ। लेखनमा पनि यो केही जोडिएकै हुन्छ। 

तपाईंको ‘कुनै समय कवि थिएँ म’ नामक लामो कविता यो वर्ष चर्चित भयो। ‘कन्फेसन शैली’को यो कविता लेख्ने आवश्यकता किन प¥यो ? 

‘कुनै समय कवि थिएँ म’ एउटा निर्मम व्यंग्य हो। जब देशको प्रधानमन्त्री नै आफ्ना पूजापाठ गर्ने भाट कविहरूलाई अघिपछि लगाएर चन्द्रागिरी गएर कविता लेख्छन्, अनि कविता सुनाउँदै विलास गर्छन् भने मैले केही बोल्नैपर्छ भनेर यो कविता लेखेको हुँ। आफ्नो निराशा र कुण्ठा यसमा पोखिएको छैन। विम्ब संयोजन अलि व्यंग्यात्मक भएकाले यो कविताले केही झुक्याउन भने सक्छ। 

उसो भए आजको युगको विसंगति चिर्न सक्ने खालका कविता फेरि लेख्न सकिँदैन ? 

‘कुनै समय कवि थिएँ म’ कविता मैले विम्बमा भनेको हुँ। फेरि युगीन सिर्जना लेख्न सकिँदैन भनेको होइन। संस्कृतिकर्मी र बौद्धिकलाई यो राज्यले आज स्थान दिएको छैन भनेको मात्र हुँ। त्यही कविताले भन्छ ‘मानिसहरूलाई जस्तो शब्दलाई निदाउने छुट छैन।’ यसर्थ जस्तोसुकै परिस्थितिलाई पनि चुनौती दिन सक्ने सिर्जना हामीले लेख्नैपर्छ। आफ्नो सृजनात्मक शक्तिमा सधैँ विश्वस्त हुन सक्नुपर्छ।

तीन दशकभन्दा बढी समय कविता लेखनमा हुनुहुन्छ। यो यात्रालाई कसरी सम्झनुहुन्छ ?

मलाई के बोध छ भने यो मेरो यात्रा जड छैन। गतिशील छ। ‘अहो ! मैले केही पनि लेख्न सकिनँ’ भन्ने हीनताबोध ममा छैन। संसारका उत्कृष्ट कविले आज के सोचिरहेका छन्, त्यो म पनि सोचिरहेको छु। एउटा लेखक सन्तुष्ट हुने कुरा भने उसको युगको मर्मसँग खेलिरहेको छ वा छैन भन्ने कुराले निर्धारण गर्छ। समयको गतिसँग म छु भन्ने लाग्छ। हुन सक्छ, म दश वर्ष पछि बोधो हुन सक्छु। मेरो क्षितिज नाघ्ने गरी नयाँ कवि आउँछन्। त्यतिबेला म बोधो भएँ भन्ने लाग्यो भने म लेख्नै छोडिदिन्छु। होइन भने आजको भन्दा उत्कृष्ट र तीखो लेख्ने प्रयत्न गर्छु। यो आत्मविश्वास प्रत्येक पल मसँग छ। 

आजको श्रवण मुकारुङ बन्ने बलियो जग निर्माण हुन प्रभाव पारेका कवि र लेखकलाई कसरी सम्झनुहुन्छ ? 

मैले पहिला हाम्रै नेपाली कविहरूको कविता कण्ठस्थै पारेर पढेँ। त्यतिबेला विश्वसाहित्य पढ्ने सहज अवसर थिएन। त्यसैले हाम्रै साहित्य पढियो।  एक जना मात्रैको नाम लिन गाह्रो छ, तर बैरागी काइँला, भूपी शेरचन, मोहन कोइराला, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरेका कविता पटक–पटक पढेको छु। ‘मालती मङ्गले’ नाटकको अधिकांश गीत घिमिरेलाई नै सुनाएको छु। आज केही रचना बिर्सें हुँला तर फेरि पढ्दा मन रमाउँछ। गीततर्फ हरिभक्त कटुवाल, ईश्वर वल्लभका गीतले पनि मलाई प्रभाव पारेका छन्।

तपाईंले कवित्वशक्ति सबल भएका कविको नाम बढी लिनुभयो तर समाजमा त वाचाल र सस्तो लोकप्रियता कमाउने कविको प्रभाव बढी देखिन्छ नि !

कविताको स्तर हुन्छ नि त। कुन कविताले समाज र समयलाई घनत्वका साथ ल्यायो, त्यसले बढी प्रभाव पार्छ। कविता दुई दिनको हाहा र होहल्ला होइन। सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित समकालीन कवि हुन्। तर, आज केदारमान व्यथित हराएका छन्। यसले के देखाउँछ भने बाँच्दा मात्र ठूलो कवि हुने तर आफ्नो अवसानपछि समाजले बिर्सियो भने त्यो निरर्थक हुन्छ। क्षणिक चर्चा र आलोचनाले मात्र केही हुँदैन। 

तीन दशकभन्दा बढी समयदेखि कविता र गीत लेखनमा हुनुहुन्छ। केही राजनीतिक गतिविधि र सामाजिक कार्यमा पनि सक्रियतापूर्वक जोडिनुभयो। यी सबै कुरालाई आधार बनाउँदा जीवनको प्राप्ति के रहेछ जस्तो लाग्छ ?

जीवन अनुभवहरूको संगृहीत निष्कर्ष नै हो। यात्रामा अनेकौँ अनुभव हुन्छन्। त्यही अनुभव बटुल्दा जीवन बुझ्न सकिन्छ कि ! म जुन क्षेत्रमा लागेँ, त्यो क्षेत्रको सामान्य मानिसले पनि मलाई चिन्छ। नेपालको जुनसुकै ठाउँमा जाँदा पनि गीत, कविता र नाटकका कारण मानिसले चिनेका हुन्छन्। सबैसँग सद्भावले बाँच्न पाएको छु। आखिर खोज्ने एउटा लेखकले यही नै हो। यसरी परिचयसहित बाँच्न पाएको छु। सिर्जनाकर्म र समाजको प्रत्येक परिवर्तनमा सक्रिय हुन पाएको छु। यसैमा सन्तुष्ट छु। 

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/3016)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.