राजश्व छल्न मध्य रातमा बालुवा-गिट्टी तस्करी
महोत्तरी : महोत्तरीमा नदीजन्य सामग्री चोरी निकासी बढ्दै गएको छ । रातु खोला, मरहा खोला, जंघालगायतका मुख्य नदीबाट रातारात बालुवा, गिट्टी, ढुंगाको तस्करी बढेको हो ।
मध्य रातमा अवैधरुपमा नदीजन्य सामग्री तस्करी गर्न प्रयोग गरिएका ११ वटा सवारी साधनलाई प्रहरीले खोलाबाटै नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनु साहको कमाण्डमा खटिएको प्रहरी टोरीले रातु खोला र मरहा नदीबाट टिपर, जेसिबी र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बर्दिबास-७ किसानगरस्थित रातु खोलाबाट ५ वटा टिपर, ३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । त्यसैगरी बर्दिबास-१० टुटेश्वरबाट एकवटा जेसिबी र २ वटा ट्याक्टर नियन्त्रणमा लिइरहेको डीएसपी राजन चपागाईले जनाए ।
तस्करीमा प्रयोग गरिएको सवारी साधनलाई कारवाहीका लागि बर्दिबास नगरपालिकालाई बुझाइएको छ ।विना लगानी नदीजन्य सामग्री तस्करीमा राम्रो आम्दानी हुन्छ । त्यसैले मध्य रातमा तस्कर सवारीसाधन लिएर खोला पस्ने गरेको प्रहरीले जनाएको छ ।विकास निर्माणका लागि मापदण्डमा रहेर स्थानीय सरकारले खोलाको ठेक्का लगाउने प्रावधान छ।