पोखरा स्वास्थ्य विज्ञानमा सुरुमै लफडा : एमडी प्रवेश परीक्षा रद्द
पोखरा : चिकित्सा विज्ञानमा स्नातकोत्तर पढाइ सुरु गर्न लागेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पहिलो गाँसमै ढुंगाजस्तो भएको छ। विद्यार्थीले बहिस्कार गरेपछि उसले मास्टर इन डक्टरेट (एमडी) र मास्टर इन सर्जरी (एमएस) तहको प्रवेश परीक्षा नै रद्द गर्नुपरेको छ।
प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले शनिबार परीक्षा बहस्किार गरेका थिए। प्रतिष्ठानले आइतबार सूचना निकालेर प्रवेश परीक्षा रद्द गरेको जनाएको छ।
उक्त परीक्षाका लागि १ हजार ३७ जनाले आवेदन गरेका थिए। आवेदन शुल्क ४१ सय रुपैयाँ छ। १ हजार १२ जना परीक्षाका लागि हाजिर भएको भए पनि केहीले प्रश्नपत्र पहिल्यै बाहिरिएको भन्दै बहिस्कार गरेका थिए।
त्यसपछि परीक्षामा विवाद चलेको थियो। थुप्रै विद्यार्थीले परीक्षा दिएका पनि थिए। परीक्षा दिएका विद्यार्थीले अरुले बहिस्कार गरेको भन्ने पछि थाहा पाएको सुनाएका थिए। १७ सिटका लागि प्रवेश परीक्षा लिन लागिएको थियो।
पोखराको अमरसिंह माविमा २ बजेका लागि तोकिएको परीक्षा ३ बजेमात्रै सुरु भएको थियो। त्यसक्रममै प्रश्नपत्र बाहिरिएको हुनसक्ने प्रारम्भिक अडकल छ। परीक्षा बहिस्कार गर्नेको संख्या ५ सयभन्दा बढी रहेको एक सहभागीले सुनाए।
प्रतिष्ठानका डिन प्राडा नरेन्द्र गुरुङले आइतबार जारी गरेको सूचना अनुसार परीक्षा समितिको बैठकबाट परीक्षा रद्द गरिएको हो। पुनः परीक्षाको समय र मिति पछि सूचित गरिने पनि डीन गुरुङले उल्लेख गरेका छन्। उनले जारी गरेको सूचनामा परीक्षा रद्द गर्नुको कारण प्राविधिक भनिएको छ। प्रश्नपत्र बाहिरिएको भन्ने वा अरु कुनै गडबडीबारे प्रष्ट गरिएको छैन।
परीक्षा समितिको बैठक राति ११ बजे बसेको थियो। स्रोतका अनुसार प्रश्नपत्र बाहिरिएको पक्का भएपछि नै परीक्षा रद्दको निर्णय समितिले गरेको हो। यसबारे छानबिन गर्ने पनि समितिले जनाएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वामित्वसमेत पाएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७२ मा स्थापना भएको हो। सबै मापदण्ड पूरा गरेपछि उसलाई विद्यार्थी भर्नाको अनुमति मिलेको थियो। एमडी र एमएसका कक्षा सुरु गर्ने उसको तयारी हो। लोकसेवा पास गरेका र दुर्गममा सेवा गरेका चिकित्सकलाई छात्रवृत्तिमा एमडी र एमएस पढाउने उसको तयारी हो।