राष्ट्रिय ललितकला प्रदर्शनी हुने
काठमाडौं : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसरमा राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने भएको छ। २०७७ वैशाख २ देखि तीन हप्तासम्म प्रदर्शनी चल्नेछ।
प्रदशनीमा सहभागी हुने कलाकारले यही फागुन २० सम्म आफ्नो कलाकृति प्रतिष्ठानमा बुझाइसक्नु पर्नेछ। जसमा परम्परागत चित्रकला, मूर्तिकला, आधुनिक चित्रकला मूर्तिकला, हस्तकला शिल्पकला, लोककला वास्तुकला तथा सिर्जनात्मक कला समावेश हुनेछ। सहभागीहरूलाई विभिन्न पुरस्कार पनि प्रदान गरिनेछ।
प्रतिष्ठानमा आइतबार गरिएको कार्यक्रममा प्रदर्शनीबारे जानकारी दिइएको थियो। कला प्रदर्शनीका साथै कार्यक्रममा कला वर्कसप, कला पुस्तक प्रदर्शनी, ख्यातिप्राप्त कलाकारसँग अन्तरक्रियालगायतका कार्यक्रम पनि हुनेछ। प्रतिष्ठानका कुलपति केके कर्माचार्यका अनुसार यस पटकको प्रदर्शनी, पुरस्कार वितरण विवादरहित र व्यवस्थित हुनेछ।