मागेरै ७ सन्तानको गुजारा
मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका–६मा बस्दै आएकी ३५ वर्षीया सुनिता महतोका सात सन्तान छन्। उनी दुई वर्षदेखि मागेर सात सन्तानको भरणपोषण गर्दै आएकी छन्। दुई वर्षअघि पति राजेन्द्र महतोको मृत्यु भएपछि उनी मागेर सन्तान पाल्न बाध्य छिन्। पतिको मृत्युपछि सुनिता बेसहारा छिन्। सम्पत्तीको नाउँमा ६ धुर घडेरी मात्र छ। बालबच्चा साना भएकाले मागेरै गुजारा चलाउन बाध्य भएको सुनिता बताउँछिन्। ५ छोरी र २ छोराकी आमा सुनिताले मागेर ल्याएपछि मात्र उनको घरमा साँझबिहान चुल्हो बल्छ।
‘माग्न जान निकै अप्ठ्यारो लाग्छ। कतिपयले काम गर्न छाडेर किन माग्न बसेको भन्दै गाली गर्छन्। तर के गुर्न ? सन्तानको पालनपोषण गर्न माग्न बाध्य छु,’ सुनिताले बताइन्। पतिको मृत्युको पीडा खेपीरहेकी सुनितालाई भदौमा आएको वर्षात्ले झन पीडा थप्यो। सानो झुपडीमा बस्दै आएकी सुनिताको घर वर्षाले भत्केपछि उनी सन्तानसहित ७ महिनादेखि गाउँबाहिरको धर्मशाला बस्दै आएकी छन्।
‘घरमा पानी जम्यो। फुस र माटोले बनाएको घर भत्केपछि सार्वजनिक धर्मशालामा आ श्रय लिएकी छु’, उनले भनिन्। बिहेबारीको सयममा धर्मशालामा जन्ती जाने गरेको उनले बताइन्। ‘धर्मशालाबाट आएपछि त्यही भत्केको झुपडीमा बस्ने गरेको छु। एकातिर खाना पकाउँछु र अर्कोपट्टी ओछ्यान लगाएर बच्चासहित सुत्ने गरेकी छु,’ उनले आफ्नो दुःखेसो सुनाइन्, ‘मागेर ल्याएको पैसा र अन्नले घर बनाउनु कि बालबच्चालाई पाल्नु ? ’
दुई छोरा साना छन्। छोरीहरूले उनीहरूको रेखदेख गर्छन्। घर चलाउन समस्या भएपछि बालबच्चा विद्यालय पठाउन सकेकी छैनन्। छोराछोरी पढाउने धोको हुँदा पनि गरिबीका कारण विद्यालय पठाउन नसकेको उनले बताइन्। उनी थप्छिन्, ‘घर भत्केपछि धेरैले घर बनाइदिने र बालबच्चा पढाइदिने आश्वासन दिए। तर, आजसम्म कसैले एक रुपैयाँ पनि सहयोग गरेका छैनन्।’