ग्याल्बो ल्होसारमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
काठमाडौं : ग्याल्बो ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्। 'ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,'राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्।
चाडपर्वहरूले विविध संस्कृति अँगालेका नेपालीहरूको बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपतिको विश्वास छ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ् गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।
'महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार-२१४७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेर्पा दिदी-बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,'शुभकामना सन्देशमा भनेका छन्,' 'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । हिमाल, पहाड, तराई-मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व हाम्रो गौरव हुन् ।'
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ग्याल्बो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
पर्वको उपलक्ष्यमा सोमबार शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो, शुभकामना सन्देशमा भनेका छन्,' देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो। यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।'
यस पर्वमा ग्याल्बो ल्होसार मान्ने समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाई गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मीठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन्।