व्यवहारिक शिक्षामा विज्ञहरुको जोड
काठमाडौं : बालसाप्ताहिक पत्रिका ‘अन्नपूर्ण अंकुर’ले पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा एक राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ ।
‘अहिलेको शिक्षा कतिको व्यवहारिक छ ?’ भन्ने विषयमा आयोजित राउण्ड टेवल छलफलमा विभिन्न १४ वटा विद्यालयका प्रिन्सिपल तथा निर्देशकले आफ्नो बिचार व्यक्त गरे ।
कार्यक्रममा वर्तमान पाठ्यक्रम, सामुदायिक तथा निजी विद्यालयको अवस्था, शिक्षा क्षेत्रमा देखिएका समस्या, विद्यार्थीका सर्वाङ्गीण विकासका लागि अपनाइने शैक्षिक गतिविधि, शिक्षामा संस्कारका कुरा, विदेशमा रहेको अभ्यासलगायत विविध विषयमा छलफल गरियो ।
राउण्ड टेवलमा एन प्याव्सनका अध्यक्ष ऋतुराज सापकोटा, ‘हिसान’ का महासचिव लोकबहादुर भण्डारी, शिक्षाविद् देवी घिमिरे, ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जन, विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्भराज कँडेल, बृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापा, सुदेशा स्कुलका प्रधानाध्यापक बिरंगना महर्जन, अक्षरा स्कुलका प्रधानाध्यापक अन्जु भट्टराई, एबीएम स्कुलका प्रधानाध्यापक रामप्रसाद तिमल्सिना, काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका प्रधानाध्यापक सुनिता पौडेल, ज्ञानमन्दिर माविका प्रधानाध्यापक रबिन बस्नेत, गोल्डेन पिकका निर्देशक कला राई, बेबीलोन स्कुलका प्रधानाध्यापक राजु राई र मोडर्न स्कुलका प्रधानाध्यापक अनिल कस्पालले विद्यालय शिक्षामा रहेका समस्याहरू र यसका समाधानका विषयमा छलफल गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यपक एवं निर्देशकलाई अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले खादा र मायाको चिनो दिएर सम्मान गरे ।