चेपाङ युवालाई सगरमाथा चढ्न आर्थिक अभाव
हेटौंडा : राजकुमार चेपाङले ६ हजार मिटरसम्मका हिमालहरु पटक पटक आरोहण गरिसकेका छन् । तर भरियाको रुपमा आरोहण गरेकाले उनीसँग आरोहण गरेको कुनै प्रमाण छैन ।
यस पटक भने उनले चेपाङ जातिकै पहिलो आरोहीको रुपमा विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्ने तयारी थालेका छन् । तर आरोहण सुरु गर्ने दिन नजिकिँदै गर्दा उनलाई आर्थिक अभावले पिरोलेको छ । आउँदो जेठ ५ गतेबाट सगरमाथा आरोहणको तयारी गरेका उनलाई करिब २४ लाख रुपैयाँ आवश्यक पर्छ । उनले हालसम्म करिब ५ लाख रुपैयाँ मात्र सहयोगको आश्वासन पाएका छन् ।
‘भरियाको रुपमा त म अहिले पनि चढ्नसक्छु तर आफ्नो र आफ्नो समुदायको इतिहासको लागि आरोहीको रुपमा सगरमाथा चढ्न लागेको हु’, चेपाङले भने, ‘व्यक्तिगत रुपमा आफैँले खर्च गरेर चढ्न नसक्ने भएकाले सबैसँग सहयोगको अनुरोध गरेको छु ।’
३१ वर्षीय चेपाङले आधा दशकदेखि बिभिन्न हिमाल चढ्ने आरोहीको भरियाको रुपमा काम गर्दै आएका छन् । उनले हालसम्म मनास्लु, धौलागिरी, आमादब्लाङ्ग, नेरला, साइपाल, लाक्र्य, गणेश, कुम्भकर्ण जस्ता हिमाल चढिसकेका छन् ।
‘अति सिमान्तकृत चेपाङ समुदायको पहिचानका लागि भ्रमण वर्ष २०२० लाई लक्षित गरी सगरमाथा आरोहणको योजना बनाएका भाई राजकुमारलाई सहयोग जुटाउन हामी लागि परेका छौं’, संविधानसभा सदस्य तथा चेपाङ अगुवा गोबिन्दराम चेपाङले भने, ‘सबै निकायले आश्वासन दिए पनि सहयोग प्राप्त भएको छैन, स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहयोगको लागि पहल गरिरहेका छौं ।’