ट्रम्पको भारत भ्रमण : ‘भारत-अमेरिका साथसाथ’

ट्रम्पको भारत भ्रमण : ‘भारत-अमेरिका साथसाथ’

नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमदाबादबाट सुरु गरे ।

दुईदिने भारत यात्रामा सोमबार बिहान अहमदाबादको सरदार वल्लभभाइ पटेल विमानस्थल उत्रिएका ट्रम्प दम्पतीलाई स्वागत गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल तोडेर विमानस्थल नै पुगेका थिए । राष्ट्रपति ट्रम्पलाई अंगालो हालेर मोदीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदी निर्धारित कार्यक्रमअनुरुप राष्ट्रपति ट्रम्पलाई अहमदाबादको सावरमती आश्रमको अवलोकन गराएर मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्प' कार्यक्रममा सम्बोधन गर्न पुगेका थिए ।

गत वर्ष जुनमा अमेरिका भ्रमणमा पुगेका मोदीको सम्मानमा प्रवासी भारतीय अमेरिकीहरुले आयोजना गरेको ‘हाउडी मोदी’ कार्यक्रममा ट्रम्प र मोदीले त्यहाँ सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ट्रम्पको उपस्थितिलाई उनको प्रवासी भारतीय अमेरिकी समुदायको ‘भोट बैंक रणनीति’ भन्दै टिप्पणी गरिएको थियो ।

अहमदाबादबाट ट्रम्पले गरे भारतको चासोलाई सम्बोधन

चीनको बीआरआइ र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिअनुरुप विश्वको धार विभाजित हुँदा अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको तनावग्रस्त व्यापारिक सम्बन्धको विकल्पको रुपमा भारतलाई हेरिन्छ ।

भारतको टाउको दुखाई बनेको आतंकवादविरुद्ध अमेरिकाको साथ र समर्थन भारतको प्राथमिक आवश्यकतामा छ । त्यसबाहेक बीआरआइमा समर्थन नजनाएको भारत चीनतर्फबाट पनि सधैं दबाबमा रहेको छ ।

दुवैको चासोलाई नमस्ते ट्रम्पको मञ्चबाट ट्रम्पले सम्बोधन गरेका थिए । दक्षिण एशियाको उदाउँदो शक्ति राष्ट्र भारतबाट विश्व समुदायलाई सम्बोधन गर्दै ट्रम्पले आतंकवादविरुद्ध भारतको सहकार्यको प्रशंसा गरे । ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ । अमेरिका र भारतले आतंकवाद रोक्न त्यसविरुद्ध लडिरहेका छन् । मेरो प्रशासनले आतंकवादसँग लड्ने विषयमा पाकिस्तानसँग सफलतापूर्वक काम गरिरहेको छ । यस क्षेत्रमा शान्ति स्थापनाका लागि भारतको नेतृत्वदायी भुमिका छ’, उनले भने । ट्रम्पको यो भनाइबाट आतंकबाद विरुद्ध भारतले चालेका कदमलाइ थप बल मिल्ने देखिन्छ ।

सोही मञ्चमा राष्ट्रपति ट्रम्पले भारत, भारतीय जनता र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै लामो मन्तव्य दिए । भारतले अमेरिकासँग व्यापारिक साझेदारको रुपमा राम्रो व्यवहार नगरेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदी निकै मनपर्ने बताउँदै आएका छन् ।

भारत भ्रमण गर्नुअघि ट्रम्पले भारतसँग ठूलो व्यापारिक संझौता नहुने संकेत दिएका थिए । भारतीय विदेश मन्त्रालयले पनि खुलेर संझौताका विषयमा उल्लेख गरेको थिएन । तर भारतीय संचार माध्यमहरुले रक्षा संझौता हुन सक्ने अनुमान गरेका थिए । राष्ट्रपति ट्रम्पले सम्बोधनकै क्रममा भारतसँग ३ अर्ब बराबरको रक्षा संझौता हुने घोषणा पनि गरे ।

उनले भारत आउनुअघि नै व्यापार संझौता नहुने संकेत दिइसकेका थिए । ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाइ निकै मन पराउँछु तर भारतले हामीसँग एकदम राम्रो व्यवहार गरेको छैन,’ट्रम्पले वाशिंगटनमा पत्रकारहरुसँग आफ्नो गुनासो राखेका थिए ।

ट्रम्पले स्वतन्त्रतापछिको भारतको आर्थिक विकास गतिको निकै लामो प्रशंसा गरे । उनले आफ्नो सम्बोधनमा अमेरिकाले भारतलाई माया गर्ने, भारतको सम्मान गर्ने र भारतीय जनताका लागि सदैव विश्वासी र इमान्दार मित्र रहने दाबी समेत गरे ।

मोदीको ट्रम्प प्रशंसा

आफ्नो गृहनगरमा ट्रम्पलाई पहिलो शहर बनाउन पाएको गर्व गरिरहेका भारतीय प्रधानमन्त्री मोदीले भारत–अमेरिका मित्रताको नारा लगाउँदै दर्शकदीर्घालाई ‘युगौंयुग सम्मको’ भन्न लगाएका थिए । उनले मञ्चबाट ट्रम्पको सम्बोधनअघि र समापन मन्तव्य दुबै दिएका थिए ।

यसबीचमा राष्ट्रपति ट्रम्पको परिवार भारत आएको भन्दै उनले भारत–अमेरिकाबीच पारिवारिक सम्बन्ध जस्तो मिठास र घनिष्टताको पहिचान दिएको पनि बताए । साझेदारीको मात्र नभएर यो दीर्घकालिन घनिष्ट सम्बन्ध रहेको भन्दै सम्बोधन गरे । ट्रम्पको सम्बोधन पछिको समापन सम्बोधनमा मोदीले राष्ट्रपति ट्रम्पले भारतको गौरब बढाउनुको साथै अमेरिकामा रहको भारतीयको पनि सम्मान गरको बताए । उनले दुइ देशबीचका सम्बन्ध विश्वासमा आधारित हुने बताए ।

उनले पछिल्लो केही वर्षमा भारत र अमेरिकाबीचको विश्वासको मजबुती नयाँ उचाइमा पुगेको भन्दै यसलाई ऐतिहासिक बताए । उनले आफ्नो अमेरिका भ्रमणका क्रममा आफूले यो विश्वास दिन दिनै मजबुत भएको देखेको बताए ।

उनले ट्रम्पसँग पहिलो पटक भेट हुँदाराष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भारतको एउटा सच्चा मित्र छ भनेको समेत स्मरण गरे । उनले राष्ट्रपति ट्रम्पले भारत प्रतिको विशेष माया सदैव प्रदर्शन गरेको उल्लेख गरे । उनले ह्वाइट हाउसमा दिवाली मनाउन शुरु गरेको प्रसंग निकाल्दै यसले अमेरिकामा रहेका ४० लाख भारतीयहरुलाई अमेरिकाको समृद्धि र सहयात्री भएकोमा गर्व महशुस गराएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.