पर्यटकीय गन्तव्य बन्यो मिथिला सागर

पर्यटकीय गन्तव्य बन्यो मिथिला सागर

धनुषा : धनुषाको मिथिला नगरपालिका-७ पोखरियाको चुरिया पहाडमा पर्यटकीय ताल निर्माण गरिएको छ। तालको नाम मिथिला सागर राखिएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत ढल्केवर चोकबाट तीन किलोमिटर उत्तर लागेपछि पुग्न सकिन्छ, पोखरीया भन्ने स्थानमा।

चारैतिर सालको घना जंगल छ। अनि उत्तरतिर रमणीय चुरिया पहाड। त्यसको काँखमा अवस्थित छ, मिथिला सागर। तालमा सयर गर्नेको घुइँचो छ।

हाँस र कारको आकारमा चार वटा डुंगा छन्, त्यसमा सयर गरेर पर्यटक रमाइरहेका छन्। वनबाट आउने कुहुँ, कुहुँ ...कोइलीको कोकिल आवाजमा पर्यटक मोहित बन्छन्। ‘तालनजिकै वनमा देखिने मयुँर, भंगेरा, मैना, रुपीले पर्यटकको ध्यान खिचेको छ’, चितवनको देवघाटबाट ताल घुम्न आएका भरत बस्ताकोटीले भने।

‘जंगलको बीचमा सुन्दर र शान्त ठाउँ छ। यसको संरक्षण र विकासमा सबैले ध्यान दिनुपर्छ’, उनले भने। दिनहु आउने पर्यटकले ताल भरिभराउ हुन्छ।

मेचिदेखि महाकाली, तराईदेखि पहाडसम्मका पर्यटक यहाँ घुम्न आउँछन्। भ्रमण वर्ष २०२० मा ताल भ्रमणको केन्द्र बनेको छ।

केमलीपुर र पोखरीया दमार सामुदायिक वनको सीमानामा सात बिघा क्षेत्रफलमा ताल फैलिएको छ। सागरको बीच भागमा उत्तरेश्वर महादेव मन्दिरले तालको महत्‍व थप बढाएको छ।

‘तालको वरिपरी पक्की बाटो छ। त्यसको वरिपरी फूल रोपिएको छ’, केमलीपुरका ४७ वर्षीय राजमान विकले भने, ‘शान्त ठाउँ छन्। घुम्न आउने मिथिला सागर मन पराएर जान्छन्, फेरि आउँछन्। टाढा टाढाबाट मानिस घुम्न आउँछन्। वनभोज खान आउने गरेका छन्।’ एक वर्ष अघिको कुरा सम्झिँदै उनले थपे, ‘सानो पोखरी थियो। त्यसमा गाईभैंसी आहाल बस्थे। अहिले संरक्षण गरेर सुन्दर थाल बन्यो।’ जंगलनजिकै रहेको औरही खोलाबाट तालमा २४ घण्टा पानी झारिएको छ। त्यसैबाट खानेपानीको व्यवस्था गरिएको छ।

मिथिलाको पावन नगरी जनकपुरधामभन्दा २८ किलोमिटर उत्तरमा पर्छ मिथिला सागर। सीताको नगरी, भगवान रामको ससुराली, मिथिलाका राजा जनकको घर हो, जनकपुरधाम। मिथिला नगरपालिका जानकी मन्दिर प्रवेश गर्ने मुख्य स्थान हो।

मिथिला नगरपालिकाले चुरिया संरक्षण गरेर तराईको उर्वरभूमि मरभूमीकरण हुनबाट बचाउन योजनाबद्ध काम थालेको छ। ‘चुरेमा पर्यटकीय स्थल चुरिया पनि जोगिने, दिर्घकालीन आम्दानीको स्रोत पनि हुने र पर्यटक घुमाउन सकिने भएपछि पोखरी संरक्षण गरेर तालको रुप दियौं’, मेयर हरिनारायण महतोले भने, ‘एक वर्षअघि डीपीआर बनाएर काम सुरु गर्‍यौं। क्रमिकरूपमा काम गरिरहेका छौं।’ भौतिक पूर्वधारमा ११ करोड बजेट खर्चिएको अनुमान रहेको उनले बताए। ‘प्रदेश २ कै नमुना पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्य छ’, उनले भने।

चुरे ताल निर्माणपछि चुरे संरक्षणमा सहयोग पुगेको छ। चुरेमा ताल बनेसँगै जंगली जीव प्यास मेटाउन, चाराचुरुंगी पानी खान तालमा आउने गरेको मिथिला नगरपालिका-७ का वडाध्यक्ष युवराज उप्रेतीले भने।

आधुनिक भ्यू टावर, पिकनिक स्पट, बगैंचा, चिल्ड्रेन पार्क, ध्यान कक्ष, स्वीमिङ पुल, चिडियाखाना राख्न भौतिक पूर्वधारको काम थालिएको छ।

मेयर महतोका अनुसार सहरी विकास मन्त्रालयमा मिथिला सागरको डीपीआर पेस गरिएको थियो। चार करोड बजेट परेको छ। भ्यू टावर, पिकनिक स्पोर्ट, मिनी जुहु राख्ने हाम्रो लक्ष्य छ। भौतिक पूर्वाधारको कामका लागि टेन्डर लागिसकेको छ। चुरिया पहाडका निर्माण हुने भ्यू टावरले तालको सौन्दर्य बढ्नेछ।

तालनजिकै चार बिघामा पिकनिक स्पट बनाउने काम पनि भइरहेको छ। ‘आयस्रोत जसरी जुट्दै जान्छ, त्यही रूपमा विकासका काम गरिरहेका छौं। ताल निर्माणको डीपीआर गत सालमै तयार गरेका थियौंं’, मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले भने।

मिथिला सागरको विकासका लागि सहरी विकास मन्त्रलायको तर्फबाट चार करोड बजेट स्वीकृत भएको छ। भौतिक पूर्वधार निर्माणका लागि टेन्डर पनि भइसकेको छ।

प्राकृतिक सौन्दर्यताले तालको सुन्दरता बढाएको छ। ‘घुम्न आउने पर्यटकलाई लोभ्याउने गरेको छ। तालमा डुंगामा सयर गर्न, वनभोज खान, घुम्न दिनहुँ पर्यटक आउँछन्’, तालको रेखदेखमा खटिएका गणेश खड्काले भने।

प्राचीन मिथिलाकोे राजधानी जनकपुरधाम हो। प्रदेश २ को अस्थायी राजधानी पनि जनकपुर नै हो। त्यसको प्रवेश रूपमा हाम्रो मिथिला नगरपालिका छ।

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर जनकपुरसँग जोड्न चुरेमा ताल निर्माणको गरिएको मेयर महतोको भनाइ छ। उनी भन्छन्, ‘जनकपुरधाम आउने पर्यटक आकर्षित गर्न सक्छौं, त्यो सम्भावना मिथिला सागरसँग छ।’ पहाड, वनजंगल, खोलानालालाई संरक्षण गरेर पर्यटकीय गणतव्यको रूपमा ताल निर्माण गरेको उनले बताए।

‘जनकपुरधामलाई पर्यटकीय दृष्टिकोणबाट जोड्ने मिथिला सागर महत्‍वपूर्ण कडी बन्न सक्छ’, मेयर हरिनारायण महतोले भने, ‘जनकपुर आउने पर्यटकलाई ल्याउन सक्यौं भने उहाँहरूलाई पक्कै पनि केही फरक वतावरण महसुस हुनेछ।’ पर्यटक आकर्षित गर्ने मनमोहक प्राकृतिक सौन्दर्य मिथिला सागर तालमा छ।

ढल्केबर चोकबाट तालसम्म आउन सडक विस्तार गरिएको छ। ४० लाख खर्चे केमलीपुरस्थित बसही खोलामा पूल निर्माण सम्पन्न भइसकेको छ। एक करोड २५ लाख खर्चे ढेड किलोमिटर सडक पक्की ढलान गरिएको छ। सडकलाई खोलाको बाढीबाट बचाउन बसही खोलामा तट्बन्ध पनि बाँधिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.