विद्युतको हाइटेन्सन टावरमुनी नाली
धनगढी : मोहना-अत्तरिया सडक निर्माण भइरहेको छ । सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशतमाथि पुगिसेको छ । सडक निर्माणले गति लिएपनि सडक क्षेत्राधिकारभित्र विद्युतको हाइटेन्सन टावर भने हटाउन सकेको छैन् ।
टावर हटाउन सुरुदेखि पहल भएपनि अहिलेसम्म व्यवस्थापन गर्न नसकेको मोहना-अत्तरिया सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताए । तीन चरणमा निर्माण भइरहेको ६ लेन सडकको अन्य पोल र खानेपानीका पाइपहरु व्यवस्थापन गर्न सके पनि हाइटेन्सन टावर व्यवस्थित गर्न सकिएको छैन।टावर हटाउन नसकेपछि नाली निर्माण कार्यले भने तीव्रता पाएको छ ।
नालीमै टावर परेपनि निर्माण कम्पनीले टावरको मुनीबाटै नाली निर्माण गर्न थालेको बताएको छ । 'टावर हटाउनका लागि विद्युत कार्यालयसँग पटक-पटक छलफल र पत्राचार भएपनि वास्ता नभएपछि नाली निर्माण कार्य अगाडि बढाएको हो,' मोहना-अत्तरिया सडक योजनाका प्रमुख होमबहादुर एसीले भने,' टावरमुनी पानी जम्मा नहोस् भन्ने हेतुले निर्माण थालेको हो ।'
त्यहाँ पानी जम्दा ठूलो नक्सानी हुने सम्भावना भएकाले बाध्य भएर टावरको मुनी छिराएर निर्माण गरिएको उनले जानकारी दिए ।
टावर सडकमै परेको छ । योजना प्रमुख एसीले अत्तरिया ग्रिडलाई पटक-पटक पत्र पठाएको भएपनि कुनै प्रतिक्रिया नआएको बताए । 'चार पटकसम्म टावर हटाउने विषयमा पत्र पठाइसकेका छौ,' उनले भने, 'म योजना कार्यालय आएपछि पछिल्लो पटक पुनः पुस महिनामा पनि पत्र पठाएको हो । तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।'
अत्तरिया ग्रिड शाखाका प्रमुख गणेश पाण्डेले सडक योजनाका कारण विद्युत टावर हटाउन समस्या भएको बताए । 'सडक निर्माण सुरु भएदेखि नै कसले पोल हटाउने भन्ने अन्यौलता थियो, त्यसले गर्दा पनि समस्या देखिएको हो ।'
पछिल्लो चरणमा विद्युत कार्यायलले नै हटाउने भएपछि प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । 'स्टमेट बनाएर केन्द्रमा पठाएको छ । स्टमेट पास भएर आएपछि एक डेढ महिनामै टेन्डर खोलेर टावर हटाउने काम अगाडि बढ्छ,' उनले भने ।
एक वर्ष म्याद थप
सडक निर्माणको म्याद सकिएपछि पुनः एक वर्ष थपिएको छ । पहिलो नम्बर प्याकेजको १८ महिना, दोस्रो र तेस्रो नम्बर प्याकेजको २० महिना म्याद थप भएको योजना कार्यालयले जानकारी दिएको छ ।
२०७४ जेठमा दुई वर्ष निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सडकको म्याद दोस्रो पटक एक वर्ष थपिएको हो । निर्माण कम्पनीको थपेको म्याद भित्रै निर्माण कार्य सक्ने दावी छ ।
शर्मा अमर नार्गाजुन जेभिको २०७७ मंसिर ६ गते सम्म म्याद थप छ भने लुम्बिनी राजेन्द्र डाफे जेभि र लामा राजेन्द्र डाफे जेभिको ०७७ माघ १५ गते सम्म म्याद थप भएको छ ।
म्याद अवधि भित्रै निर्माण कार्य पूर्णरुपमा सम्पन्न हुन्ने राजेन्द्र निर्माण सेवा कम्पनिीका इन्जिनियर रोशन भट्टले बताए । अहिलेसम्म दोस्रो र तेस्रो नम्बर प्याकेजको भौतिक प्रगति करिब ६० प्रतिशत भइसकेको उनले दावी गरे । जेठ मसान्त भित्रै कालोपत्रेको काम सम्पन्न हुने निर्माण कम्पनीले दावी गरेको छ ।
पुलको डिजाइन स्वीकृत
मोहनापुल-अत्तरिया सडकमा पर्ने पुल निर्माणका लागि डिजाइन स्वीकृत भएको गरिएको छ । मोहनापुल-अत्तरिया सडक योजना कार्यालयका अनुसार सडक विभागको पुल महाशाखाले सडकमा तीन पुलको डिजाइन स्वीकृत गरेको हो ।
मोहना, मनहरा र सुनि खोलामा ११ मिटर चौडाई पुल निर्माण हुने छन् । गेटास्थित मनहरा पुल र सुनि खोलामा निर्माण गरिने पुलका डिजाइन स्वीकृत भएको योजना प्रमुख होमबहादुर एसीले बताए ।
डिजाइन स्वीकृत भएसँगै अब पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जान बाटो खुलेको उनले बताए । मोहना पुलदेखि बोराडाँडीसम्मको ४ दशमलब ५ किलोमिटर सडक शर्मा-अमर-नागार्जुन जेभी, बोराडाँडीदेखि गेटाको आरपी फ्लोर मिलसम्मको ४ दशमलब ५ किलोमिटर सडक लामा-राजेन्द्र-डाँफे जेभी र फ्लोर मिलदेखि अत्तरिया बजारसम्मको ५ दशमलब १९ किलोमिटर सडकलाई पनि लामा-राजेन्द्र-डाँफे जेभीले निर्माणले ठेक्का पाएको छ।