कर्णालीका किसानको ऋणको ब्याज सरकारले तिरिदिने
सुर्खेत : कर्णाली प्रदेश सरकारले किसानलाई ब्याजमा ७ प्रतिशत अनुदान दिने भएको छ। किसानले व्यावसायिक खेतीका लागि लिएको १ करोड रुपैयाँसम्मको ऋणको ब्याज अब प्रदेश सरकारले तिरिदिने भएको हो। मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे सोमबार जानकारी दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘हामीले किसानका लागि केही सहुलियत दिने निर्णय गरेका छौं, अब व्यावसायिक किसानले लिएको ऋणमा प्रदेश सरकारले ७ प्रतिशत ब्याज तिरिदिने छ। १ करोडसम्मको ऋणमा लाग्ने ब्याजमा प्रदेश सरकारले ब्याज अनुदान उपलब्ध गराउनेछ।’
यसका लागि आवश्यक कार्यविधि नै मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको मन्त्री केसीले जानकारी दिइन्। ‘राष्ट्र बैंकलाई केही दिनमा पत्राचार गरेर कर्णालीका सबै बैंकमा लागू गर्दैछौं,’ उनले भनिन्। अति विपन्न किसानलाई विशेष अनुदान र प्रोत्साहन उपलब्ध गराउन कार्यविधि पारित भएको उनले बताइन्। बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरको सहरी सौन्दर्य र संरचना निर्माणका लागि दमकल, पानी ट्यांकर, ट्राफिक लाइट र डिप बोरिङका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रशारण नियमावली स्वीकृत गरेको छ। प्रदेशले स्थानीय तहमा दिने योजना तथा कार्यक्रमको अधिकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।