पाथिभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई
ताप्लेजुङ : पाथिभरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाले जितेका छन् ।
सोलुखुम्बुका कुलुङ खुला र जुम्लाकी बुढा महिलातर्फ प्रथम बनेका हुन्। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिरसम्मको ५४ किलोमिटर दूरी कुलुङले ४ घण्टा १३ मिनेटमा पूरा गरे ।
पाँचथर फिदिमका प्रताप थाम्सोहाङ दोस्रो भए । उनले ४ घण्टा १४ मिनेटमा निर्धारित दूरी पूरा गरे । ४ घण्टा २९ मिनेटमा पूरा गरेका रुकुम मुसिकोटका दुर्गाराज बुढा तेस्रो भए ।
महिलातर्फ भने पाथिभरा क्षेत्रको काफ्ले पाटीसम्म ४४ किलोमिटर मात्रै कुदाइएको थियो । प्रथम बनेकी बुढाले ३ घण्टा ३८ मिनेटमा पूरा गरिन् । उनले नेपाल आर्मी क्लवकी सरिता बासीलाई १० मिनेटलेपछि पारिन् । दोस्रो बनेकी बासीलाई ३ घण्टा ४८ मिनेट समय लागेको थियो ।
धादिङ धुनिबेसींका रसिला तामाङ तेस्रो भइन् । उनले ४ घण्टा ५९ सेकेण्डमा दुरी पार गरिन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन प्रतियोगिता भएको हो ।
खुलातर्फका विजेताले १ लाख ५१, उप–विजेताले १ लाख ११ र तेस्रोले ५१ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमशः ८१, ५१ र ३१ हजार पुरस्कार पाए । उत्कृष्ट १० लाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको म्याराथन संयोजक यीगेन्द्रकुमार गुरुङले जानकारी दिए ।