सुनितालाई पूर्वन्यायाधीशको सहयोग
मलंगवा : गाउँघरमा मागेर ७ सन्तानलाई भरणपोषण गर्दै आएकी सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ बस्ने ३५ वर्षीया सुनिता महतोलाई ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने बलराम केसीले २५ हजार सहयोग गरेका छन् ।
सोमबार अन्नपूर्ण पोस्ट्मा ‘मागेरै ७ सन्तानको गुजारा’ शीर्षकको समाचार पढेपछि पूर्वन्यायाधीश समेत रहेका केसीले सहयोग गरेका हुन् ।
केसीले ललितपुरबाट पठाएको रकम चक्रघट्टा गाउँपालिका ६ गोइयाहीका वडाध्यक्ष प्रेम रायले सुनितालाई हस्तान्तरण गरेका छन् । आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालय पठाउन नसकेको उनको दुखेसो छ ।
२०७४ सालमा श्रीमान्को मृत्यु भएपछि सुनिता बेसहारा बनेकी हुन् ।