जयाको जीवन ‘फर्केर हेर्दा’
काठमाडौं : ‘म जन्मिएकै चित्र बनाउन हो जस्तो लाग्थ्यो मलाई। नामको अगाडि कलाकारको विशेषण थप्ने मेरो चाहना। चाहे मलाई शरीरले साथ नदियोस्, चाहे परिवारले मन नपराओस्, मलाई रङसँग खेलिरहनु छ। पेन्टिङ, प्रोटे«ट र स्केच कोरिरहनु छ’, चित्रकार जया शर्मा चित्रसँगको आफ्नो लभ अफेयर बताइरहेकी थिइन्।
बबरमहलस्थित आर्ट काउन्सिलमा जयाको ‘सपनाको यात्रा’ शीर्षकको चित्रकला प्रदर्शनी सम्पन्न भयो। सपनाको यात्रालाई फर्केर हेर्दा सिरिजमा उनले फरकफरक प्रकारका चित्र प्रदर्शनीमा समावेश गरेकी छन्। प्रदर्शनीमा हालसम्मको उनको कला यात्रालाई विभिन्न उपशीर्षकमा समेटिएको छ।
सानैदेखि कलाकारितामा रुचि राख्ने जयाले उतिबेलै चित्र बनाउने प्रशिक्षण लिएकी थिइन्। सन् १९८७ मा बालमन्दिरद्वारा आयोजित कला कार्यशालामा भाग लिएपछि उनको औपचारिक कला यात्रा सुरु भएको हो। प्रदर्शनीमा भ्रूणको रूपमा जीवनको प्रारम्भ, बाल्यकालको सम्झना, चित्रकलामा सुरुआती पाइला, १० कक्षा पढ्दापढ्दै मुटुमा आएको विशाल समस्या र पुनर्जीवन, मुटुको अप्रेसन पछाडि समाज र आफन्तले दिएका कमजोर सहानुभूति, केही गर्न सक्दिनस्, बिहे नै हुँदैन भन्ने आशंका, प्रेमसम्बन्ध र विवाह, विवाहपछि पूर्णविराम लागेको कलायात्राको संस्मरण, बालबच्चा हुर्काउने र बुहारी जिन्दगीमा हराउँदै गर्दा मनमा आएको दिग्दारीपन, पुनः कलाकारितामा जोडिएको सुखद पल र भावी जिन्दगीको सपनालगायतका जीवनका घटनालाई अनेक चित्रमा समेटिएको छ। आफ्नो जिन्दगीको महत्वपूर्ण घटनाको सम्झनास्वरूप उनले चित्र बनाएकी छन्।
हाल कलात्मक र अर्थपूर्ण चित्र बनाउँदै आएकी जयाले यहाँसम्म आइपुग्न आफैंसँग पटकपटक विद्रोह गरिकी छन्। विवाहमा लगाइदिएको गहना बेचेर उनले कम्प्युटर किनेकी छन्। फोक्सोमा पानी जमेर डाक्टरले रङसँग पर बस्न भनेपछि चित्र बनाउने रहरलाई डिजिटल माध्यममा कोरेर पूरा गरिन्। कम्प्युटरका माध्यमबाट चित्र कोरिरहिन्। प्रायजसो जीवनप्रति आशावादी देखिने चित्र बनाउनु उनको सोख हो। फाइन आर्टमा स्नातकोत्तर सकाएकी जया हाल पूर्णरूपमा कलाकारितामै सक्रिय छिन्।
भन्छिन्, ‘आईएफएफ सक्दा आफूलाई कलाकार भनिन थालेकोमा खुसी हँुदै ललित कलामै स्नातक, स्नातकोत्तर सकाएँ।’ पढ्दै र घर व्यवहार सम्हाल्दै उनले अनेकौ चित्र कोरिरहिन्। अक्सर रातको समयमा उनी चित्र कोरिरहन्थिन्। उनको कलाप्रतिको लगाव नजिकबाट देखेका उनका श्रीमान् सुव्रत भन्छन्, ‘जया चित्र बनाउन पाउँदा निकै खुसी हुन्थिन्, रिस उठेको बेला होस् या औधी खुसी भएको बेला उनलाई रङसँग खेल्न मन पथ्र्यो। सुरुआतमा त मैले यो विषयमा त्यति बुझेको थिइनँ। खासै वास्ता गरिनँ तर उनी जे भेट्यो त्यही कोरिरहन्थिन्। उनले कोरेको कलात्मक हुन्थ्यो, हाम्रो जस्तो लतरपतर हुन्नथ्यो। पछि बुझेँ यो केटीमा केही पक्कै छ। विस्तारै उनले आफूलाई चित्रकारितामै सक्रिय बनाइरहिन्। जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि चित्र कोर्ने केटी हो जया।’
प्रदर्शनीमा उनले बनाएका इन्टलेसन आर्ट, डिजिटल आर्ट, अनेक शीर्षकका चित्र समावेश थिए। विवाहपछि उनी केही वर्ष हराइन्। यसले गर्दा उनलाई डिप्रेसनसमेत भयो। उक्त समय सम्झँदै उनी भन्छिन्, ‘विवाह, घरपरिवार, बालबच्चामा रुमलिएँ म। वास्तवमै चित्रकलाको क्षेत्रबाट हराएँ। म आफैंसँग हराइरहेकी थिएँ त्यो बेला। मलाई जहिले पनि हारेको मानिस जस्तो अनुभूति भइरहन्थ्यो।’ भनिन्छ, ‘सिक्काका दुई पाटा हुन्छन्, सही र गलत तर मैले तेस्रो पाटो देखें त्यसको गोलाइ। त्यो गोलाइले मलाई आभास गरायो कि म जन्मँदै विजयी भएर जन्मिएकी छु। करोडांै क्रोमोजोमको भीडबाट एउटा क्रोमोजोमको उपस्थितिले म बनेकी हँु। म मात्रै होइन, सम्पूर्ण प्राणी जगत् नै विजयी भएर जन्मेका हुन्। अनि किन मैले हरेस खाने त ? व्यवधान आइरहेकै छन्, आउने नै छन् तर अब मलाई व्यवधानले रोक्न सक्दैन किनकि म बल्ल कलाकार बन्ने पथमा यात्रा आरम्भ गरिरहेकी छु।’
प्रदर्शनीमा उनले विवाहको सारी चोलीलाई प्रतिस्थापन कलाको रूपमा प्रयोग गरेकी छन्। चित्र बनाउन नपाउँदा पहिले बनाएका चित्रहरू च्यातेका टुक्रा, औषधि प्रयोग गरेका ट्याब्लेट, सिरिन्जलगायतका अनेक सामग्री समेटेकी छन्।