तस्करीको तारोमा बालबालिका

तस्करीको तारोमा बालबालिका

मानव तस्करी, मानव अंगको व्यापार र वैदेशिक रोजगारका नाममा मानिसलाई बाँधा बनाउने र सस्तो श्रममा लगाउने प्रवृत्ति झांगिँदै गइरहेको छ


अन्नपूर्ण पोस्ट् वर्ष १८ अंक २८७ बिहीबार ८ फागुन २०७६ को मुख्य पृष्ठमा ‘एउटा काखबाट खोसेर विदेश’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको रहेछ । त्यसमा बिदेसिएका बालकका पीडित आमाका तस्बिर पनि छापिएको थियो । तस्बिरले दुई सन्तानसँग छुट्टिनुपर्दाका पीडा र बालमन्दिरले सित्तैमा पढाइदिन्छ भन्ने कसैको भनाइमा लागेर सन्तान बुझाउने भूलले भोग्नुपरेका पीडा त्यहाँ पोखिएका छन् । के हुन लागेको हो हाम्रो मुलुकमा ? किन हामी दिनप्रतिदिन यतिसम्म तल झर्दै छौं ?

बालमन्दिर भनेको गरिब तथा असहाय बालबालिकाको विकासका निम्ति पञ्चायतकालमै खोलिएको संस्था हो । त्यस्ता अनाथलाई मुलुकभित्रै पनि धर्मपुत्र–पुत्री बनाउन सतर्कता अपनाएर मात्र दिने गरिन्थ्यो । त्यसबेला पनि धर्मपुत्र–पुत्री लेनदेन प्रक्रिया पुर्‍याएर मात्र गरिन्थ्यो । अर्थात् बालमन्दिरबाट मुलुकभित्रै पनि धर्मपुत्र–पुत्री पाउन भनेजस्तो सरल थिएन । बेलाबेलामा अखबारमा प्रकाशित भएअनुसार नेपालका ग्रामीण क्षेत्रबाट गरिबका सन्ततिलाई सित्तैमा खाने, लाउने र पढाइदिने प्रलोभनमा बालबालिका काठमाडौं ल्याइन्थ्यो । तिनलाई कमाउने भाँडो बनाइन्थ्यो । कतिपयलाई घरेलु कामदार बनाए भने कतिले जंगलबाट घाँस–दाउरा ओसार्न र बाख्रा चराउन लगाएर भोकभोकै अलपत्र पारिएका समाचार आइरहन्थे । च्याउजस्तै उम्रिएर कमाउधन्दामा लागेर खोलिएका अनाथ आ श्रमहरूका त्यस्ता गैरहर्कत बारम्बार नसुनिएको होइन । ०४७ सालपछि बालमन्दिरमै अनाथलाई खुवाउन लगिएको एक कोसा केराको मूल्य १० रुपैयाँ देखाइने गरिएको भन्ने पनि सुनियो ।

अब त विदेशमा धर्म सन्तानका नाममा बालबालिका चोर बाटोबाट बेचिन थालिएको अखबारका माध्यमबाट खुलेरै आयो । देशमा कुखुराका चल्ला बिक्ने गरेको सुनिन्थ्यो । अब त मानिसका बालबालिकासमेत लेनदेन हुन थालेछन् । अखबारहरूमै प्रकाशित समाचारअनुसार नेपालबाट बालबालिका विदेशमा पठाएको उचित अभिलेखसमेत नभएको बताइन्छ । २० जना धर्मपुत्र–पुत्री विदेश पठाइएकोमा दुईतीनजनासम्मको मात्र आधिकारिक संस्थाको अभिलेखमा रहेको पाइन्छ । यहाँबाट कम संख्यामा लगेको देखिए पनि विदेशमा भने बढी संख्यामा अनाथ नेपाली बालबालिका भित्रिएको आँकडा कसरी पाइयो ?

नेपालबाट विभिन्न बहानामा चेलीको समेत ओसारपसार हुने गरेको छ । त्यसपछि वैदेशिक रोजगारका नाममा चेली ओसारपसार भएका छन् । अमेरिकी सरकारको मानव तस्करी प्रतिवेदन २०१८ मा उल्लिखित आकलनअनुसार प्रत्येक वर्ष ३० हजार नेपाली केटी र महिला व्यापारिक तवरमा यौनका लागि शोषित हुने गरेका छन् । भारतको महिला तथा बालबालिकासम्बन्धी विभाग नयाँदिल्लीका अनुसार सन् २००७ मा मात्र नेपालबाट प्रतिवर्ष पाँच हजारदेखि १० हजारसम्मको संख्यामा महिला भारतमै ओसारपसार हुने गरेको र करिब दुई लाख महिला त्यहाँ वेश्यावृत्तिमा संलग्न रहेको प्रतिवेदन छ ।

वैदेशिक रोजगारका नाममा गलत नियतबाट चोर बाटोबाटै धेरै महिला पठाइएका छन् । त्यस्तै मिर्गौला व्यापारमा महिला, बालबालिका, युवा त्यति धेरै संख्यामा ओसारिएका छन् । हामी भारततिर घुम्न जान सक्दैनौं किनकि भारतीय मित्रहरूले यहीं प्रश्न सोध्ने गर्छन्– किन महिला तस्करीको यति धेरै घटना नेपालमै हुने गरेका छन् ? कहिले भारत; श्रीलंका त कहिले बर्माको बाटो हुँदै नेपाली युवतीको तस्करी हुने गरेका समाचार हिजोआज बराबर प्रकाशित भइरहेका छन् । सयकडौं गैरसरकारी संस्था यसको नियन्त्रणमा लागेको देखिन्छ तर निराकरण भएका समाचार त कता हो कता झन् बढ्दै गएको पाइन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय तस्करहरूले आफ्नो व्यापार फैलाउन हरसम्भव उपाय अपनाएका छन् ।

नेपालमा मानव तस्करी, मानव अंगको व्यापार र वैदेशिक रोजगारका नाममा मानिसलाई बाँधा बनाउने र सस्तो श्रममा लगाइने गरिएको पाइन्छ । अफ्रिकी मुलुकका डान्सबारमा नेपाली युवतीलाई नाच्नका लागि भन्दै लगेर वेश्यावृत्तिमा लगाउने कार्य खुलारूपमा हुने गरेका छन् । अब त ससाना बालबालिका पनि तस्करीको तारोबाट अछुतो छैनन् । मानव तस्कर गिरोहले सानैदेखि जीउ मास्ने–बेच्ने काममा लगाउन तालिम दिने र कसैले ओसारपसारको शंका नगरून् भनी ससाना बालिका तस्करी गर्ने गरेको पाइएको छ ।

छिमेकका साथै अफ्रिकी मुलुकका डान्सबारमा पनि हाम्रा युवतीलाई नाच्न भन्दै लगेर वेश्यावृत्तिमा लगाउने कार्य खुलारूपमा हुने गरेका छन् । अब त ससाना बालबालिका पनि तस्करीको तारोबाट अछुतो छैनन् ।

त्यस्तै बालकलाई इँटाभट्टा, गलैंचा बुन्न, होटेलमा भाडा माझ्न, कृषि कार्यमा र बँधुवा मजदुरका रूपमा गाउँगाउँबाट तस्करी गरी लगिएका उदाहरण छन् । अरूका सन्तान बिक्री गर्ने र त्यही रकमले आफ्ना सन्तानलाई उच्चस्तरीय संस्थाहरूमा शिक्षा दिलाई सक्षम बनाउने । तिनै रकमले आफ्ना सन्ततिका निम्ति महल तयार गर्ने । फेरि त्यही रकमले आफ्ना सन्तानको भविष्य बनाउन समुद्रपारिका मुलुकमा पढ्न पठाउने । आफ्ना सन्तानको उन्नतिका लागि उद्योग–व्यापार चलाउन सक्ने रकमको जोहो गरी विदेशमा भरसक त्यहींको पीआर वा नागरिकता दिलाई खुसी र सुखी भएको हेर्न चाहने । किनकि मुलुकलाई दुर्गतिमा पुर्‍याउने यिनै वर्ग नै भएकाले यिनलाई न मुलुकप्रति चिन्ता छ न त जनताप्रति जिम्मेवारीबोध । गरिबका सन्तति बचेर आफन्तका हकमा लाभ लिन खोज्ने, यस प्रकारका वर्गलाई ईश्वरले पनि कसरी माफ गर्लान् ? नेपालमा यतिसम्म अराजकता फैलिनुमा प्रहरी प्रशासन जिम्मेवार छ । बरु सरकारले पनि यसबाट चोखिन मिल्दैन ।

जुन दुईजना बालकलाई इटली पुर्‍याइयो; तिनका आमा मञ्जु खड्का प्रहरीकहाँ उजुर गर्नसम्म पुगेकी रहिछन् । उल्टै बालमन्दिरका तथाकथित मानव तस्करको भेषमा बसेका कर्मचारीहरूले छोराहरू इटलीमा धर्मपुत्र पाल्न दिनका लागि १२ लाख आमा मञ्जुले लिएको भनेपछि प्रहरीले नै तिनका कुरामा हठात् विश्वास गरी उल्टै पीडितलाई गाली गरेको पनि रहेछ । यहाँनिर कुराको हिसाबले के पनि देखियो भने बालबालिका ओसारपसारमा लेनदेन भएकै हो भन्ने कुरा तत्काल प्रहरीलाई पनि जानकारी भएकै रहेछ । किन प्रहरी तत्काल थाहा पाएर पनि मौन बस्यो ? किनकि कानुनअनुसार बालमन्दिरका बालबालिकालाई धर्मपुत्रसम्म बनाउन दिने हो, लेनदेन गर्ने छुट छैन । तसर्थ पैसाको चलखेल भएको हो भन्ने कुरा बालमन्दिरका कर्मचारीबाटै तत्काल जानकारी प्राप्त भएपछि प्रहरी अनुसन्धानतर्फ किन सक्रिय भएन ?

यद्यपि आमाले पैसा पाएको कुराको इन्कार गरेकी छन् तथापि रकमको चलखेल छुटको विषय नहुँदा लिनेदिने जोजो थिए; अनुसन्धान गरी सबैलाई कारबाही हुन जरुरी थियो । यसको अर्थ बालमन्दिरका बालबालिका ओसारपसारमा सबैको मिलेमतो रहेको मान्नुपर्‍यो । किनकि आवासीय बालगृह सञ्चालन व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ अनुसार आमाबाबु नभएका वा भए पनि हेरचाह गर्न नसक्ने; शारीरिक वा मानसिक अवस्था स्वस्थ नभएका भए पनि बालबालिकाको हेरचाह भर्सक आफन्त र नातेदारले गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै बाबुआमा नभएकाहरूका हकमा समेत पनि पहिलो प्राथमिकता सकेसम्म नातेदारले लालनपालन गर्नुपर्ने र सरकारले सहयोग गर्ने व्यवस्था छ । बरु मुलुकभित्रै पनि नाताभन्दा बाहिरकाले हेरेमा पनि मान्य छ । यसको अर्थ जसरी पनि टुहुराहरूलाई देशभित्रै राख्ने अवधारणाअनुसार नेपालभित्र भरसक राख्ने, केही विकल्प नभए मात्र विदेशमा धर्म सन्तानका रूपमा पठाउने व्यवस्था छ । त्यस्तै विदेशीलाई आफूले रोजेको धर्म सन्तानलाई लान पाउने हकमा समेत प्रतिबन्ध लगाएको छ ।

नेपालमा आम गरिबले रोजगार, शुद्ध पिउने पानी, भोजन, औषधोपचार, बाटोघाटो केही कुराको सुविधा पाएका छैनन् । तापनि राष्ट्रले बहन गर्ने ऋणको भार काठमाडौंजस्तो सहरिया प्रतिव्यक्तिले जति बोक्छन्, तिनले पनि त्यति नै समानुपातिक रूपमा बोक्न बाध्य हुनैपर्छ । तथापि अस्पताल र उपचार गर्ने डाक्टरको अभावमा तिनले अल्पायुमा मर्नुपर्ने बाध्यता हुन आउँछ । शिक्षा अभावमा दलालको फेरमा परी वैदेशिक रोजगारका नाउँमा ठगिन्छन् वा शरीरका अंगसम्म बिक्री गर्न विवश हुन्छन् । जवान छोरीचेली घुमाउरो बाटोबाट बिक्री भएर गएका छन् ।

अब त गरिबका सन्तान पनि विभिन्न बहानामा विदेशमा ओसारपसार हुन थाले । त्यो पनि झुक्याएर,ललाएर, फकाएर । यो रूपको ओसारपसार र हिंसा हेर्दा जंगलमा हुने जंगली पशुको हिंस्रक गतिविधि, जस्तो– एकाको सन्तानलाई मारेर अर्काले आफ्ना सन्तानलाई ख्वाउने गर्छ, त्यो गतिविधि र यसमा के अन्तर छ ? यी सब कुरालाई विचार गर्दा आजको समय एक्काइसौं शताब्दीको भए पनि सत्रौं शताब्दीको त्यो दासप्रथा अझै कायम भएजस्तो अनुभूति हुन आउँछ । मात्र आधुनिक युगमा आएर मानवविरुद्धका शोषणका तौरतरिका र तत्पेसाको नामाकरणसम्म फरक भएका हुन् । जस्तो कि वैदेशिक रोजगार, धर्मपुत्र र धर्मपुत्री यी सब आवरण मात्र हुन् । कतिपय अवस्थामा तर व्यवहार भने यी दासप्रथा र बँधुवा मजदुर, बाँधा बँधिनीको अवस्थाभन्दा अन्तर छैन । नेपालबाट विदेशमा जजसलाई धर्मपुत्र र धर्मपुत्री बनाई पठाइएको छ, तिनको अवस्था के छ ? ती तत्काल कहाँ छन् ? कुन–कुन अवस्थामा छन् भन्ने कुरा राज्यले कहिल्यै बुझ्ने कोसिस गरेजस्तो लाग्दैन ? यसरी यी गरिबका सन्तति ओसारपसार भएर गएकोमा कसलाई बुझ्ने फुर्सद हुन्छ ? के चासो पनि ?

यथार्थमा आफ्नै आमाको मैलोधैलो काख किन नहोस्, त्यो प्राकृतिक जन्मदाताको काख हो । अरूले चाटेको र आमाले मुसारेकोमा आमाका मायामा बल हुन्छ । मानव तस्कर र दलालहरूले के कुरा बुझेका छन् भने गरिबले आफन्त गुमाउनुपरेकोमा सधैं सम्झेर आँसु झारिरहने तिनलाई फुर्सद पनि कहाँ हुन्छ र ? तिनले पेट पाल्नै पर्‍यो । गुमेका मानिस सम्झेर पनि दिन बित्दैन । नेपालमा द्वन्द्वकालमा १७ हजार मानिसले अकालमा ज्यान गुमाए । विस्तारै–विस्तारै पीडितहरूले बिर्संदै पनि गए, ती घाउ, चोट सम्झनु पनि कति दिनसम्म ?

माथिका जति पनि नकारात्मक घटना हुन्, चेलीबेटी ओसारपसारदेखि बालबालिका र मिर्गौला बेच्नेसम्मका कुकर्म, यी कुराले मुलुकको प्रतिष्ठाको ह्रास गराउँछ । सिंगो राष्ट्र र जनताप्रति संसारमा जहाँ गए पनि सम्मानको दृष्टिकोणले हेरिने छैन । मुलुकभित्र शारीरिक र मानसिक अस्वस्थ जनसंख्याको वृद्धि भएर जानेछ । वैदेशिक रोजगारका कारण ग्रामीण क्षेत्रमा वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । फेरि वैदेशिक रोजगारले दिएको अर्को नकारात्मक पक्ष भनेको त्यहाँबाट फर्केका प्रताडित र पीडितहरूमा दुर्घटनामा परेका, अपांगता भएका र मानसिक अस्वस्थ भएका युवायुवती नै बढी छन् ।

त्यस्तै चेलीबेटी बेचबिखनबाट रोगी भएका, एड्स लागेका ती सबै फर्केर मुलुकमा रहने नै भए र बलिया–बांगाजति बिदेसिने भए । यसरी मुलुकले आफ्ना जनताबाट केही योगदान पाउनुको विपरीत बरु उल्टै भोकानांगा र रोगीहरूको ठूलो जमातको व्ययभार बोक्नुपर्ने नकारात्मक परिस्थिति उत्पन्न हुन आउँछ । जहाँसम्म गरिब परिवारका बालबालिकाको शिक्षादीक्षाको सवाल छ, राज्यले संस्था स्थापना गरी भ्रष्ट र मानव तस्करलाई काम गर्न सरल पारिदिनुभन्दा आफ्ना बाबुआमाको संरक्षणमा बसी पढ्न मासिक तौरमा केही रकम तिनका नाममा बैंक खातामा जम्मा गरिदिने गरी सहयोग गरे उत्तम हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.