गाउँमा मोटर पुगेपछि स्थानीय दंग
कालिकोट : जिल्लाको पलाँता गाउँपालिका ९ निवासी ४० वर्षीया दुर्गादेवी बमसँग कैलालीको चिसापानी हाट गएर नुन ल्याएको अनुभव छ । नुन लिनकै लागि थाप्लोमा सामलको भारीसहित २६ दिनको यात्रा चिसापानी लाग्दा परिवारले बिदाइ गथ्र्ये ।
हाट जाने बाटो पनि सजिलो थिएन। भीरको बाटो, थाप्लोमा भारी, कतिपय हटेरुले लडेर ज्यान गुमाएको सन्त्रासले उनलाई सधैं पिरोलीरहथ्यो । उनलाई घर पुग्दा खुट्टाभरीका फोकाले जिन्दगी धिक्कर लाग्थ्यो। उनले भनिन,' चिसापानीमा पहिलो पटक ट्याकटर देखेकी थिएँ । गाउँमा गाडी पुग्ला भन्ने कल्पना पनि गरेकी थिएँ।'
उनको त्यो अनुभव करिब २०५५ सालतिरको हो । जतिबेला पलाँताबाट जिल्ला सदरमुकाम मान्म पुग्न दुई दिन लाग्थ्यो । नागरिकता लिन पलाँतावासी दुई दिन पैदल हिँडेर जिल्ला आउथ्ये । तर २०६३ सालभित्रै कालिकोटमा गाडी पुगाउन तत्कालिन राजा ज्ञानेन्द्र शाहाको हुकुमले ०६३ चैत ३० गते जिल्ला सदरमुकाममा गाडी आयो ।
चिसापानी बजार पनि कालिकोटको जितेमा आयो । जितेमा हाट आएपछि पलाँतालाई पनि ठूलो राहत भयो । दुई दिन पैदल यात्रा गरेर हाट पुगिने भयो । २६ दिनलाग्ने हाट दुई दिनमा झर्यो। त्यति बेला पनि पलाँतावासीको थाप्लोको भारी पर गएन् ।
तर, जिते आउने डोरेटो बाटो मात्र सहज बनेको थियो । उत्तर दक्षिण जोड्ने कर्णाली करिडोरको काम सुरु नै भएको थिएन् । २०६५ सालबाट कर्णाली करिडोरको काम सुरु भयो । ठेकेदारबाट सुरु भएको कामले गति लिन नसकेपछि जिल्लावासी आन्दोलित भए । जुन आन्दोलनमा पलाँताबाट पनि उल्लेख्य सहभागीता भयो ।
कर्णाली करिडोरको निर्माणको जिम्मा सेनालाई दिनुपर्ने माग भयो ।जिल्लावासीको चर्को मागअनुसार २०६८ साल चैत ५ गते तत्कालिन प्रधानमन्त्री शुशील कोइराको सरकारले कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो । सेनाले २०६९ साल बैशाखबाट निर्माणको काम सुरुवात गर्यो ।
भौगोलिक विकटतासँग कडा चट्टान छिचोल्दै २०७४ साल फागुन ६ गते पलाँता र पचालझरना गाउँपालिकाको सिमाना घाटचौरमा गाडी पुग्यो।पलाँताको सिमानामा पहिलो पटक गाडी पुग्दा पलाँतावासीले खुसीयाली मनाए ।
तर, पनि पलाँतामा थाप्लाको भारी थाप्लोमै थियो ।२०७४ बैशाख ३१ गते भएको स्थानीय निर्वाचनपछि गठन भएको स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दियो । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले गाउँपालिकाले पहिलो वर्ष बजेटलाई सडक केन्द्रीत बिनियोजन गरेको बताए ।
उनका अनुसार स्थानीय सरकार संचालनको २ वर्षभित्र पलाँतामा गाडी गुडाउने घोषणा गरिएको हो । तर यही फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले दुईवटा गाडी कर्णालीमा प्लाष्टिक ड्रमको सहयोगमा पारी तार्यो । पलाँतामा पहिलो पटक गाडी गुडायो ।
अहिले चिसापानी हाट जाने दुर्गाको दैनिकी फेरिएको छ । घर आँगनमा गाडीबाट सामान ल्याउ थालेको छ। थाप्लोमा भारी बोक्नुपर्ने बाध्यता पनि टरेको छ ।उनले भनिन्, 'हामी पलाँतीका बल्ल दिन फेरिए । गधाको जुनी पार गरेको अनुभूति गरेका छौँ।'
पलाँता गाउँपालिकाले हालसम्म करीब १५ करोड बराबरको बजेट सडक निर्माणमा खर्च गरेको छ । जसबाट हालसम्म ३२ किलोमिटर सडक गाडी गुडेको छ । पलाँता गाउँपालिका अध्यक्ष बमका अनुसार पलाँताका १, २, ४, ५, ६, ८ र ९ वडाहरु सडक संजालले जोडिसकेका छन् ।
अब २ वडामा मात्र सडक पर्याउनुपर्ने छ । ती वडालाई सडक संजालले जोड्न तीव्ररुपमा काम अगाडि बढाइएको छ । गाउँपालिकास्थित बेल्के ढुंगा, मोहर, सैन, पुलाहाहुँदै राडुनेटा जोड्न सडकको १४ किलोमिटर, थिर्पु बेरसैनकोट सडक खण्डको ५ किलोमिटर, ओदी काँध छलाँहा सडक खण्डको ११ किलोमिटर र सैन हुँदै गाउँपालिकाको केन्द्र लोहोडे सडक खण्डको २ किलोमिटर सडकमा गाडी गुडाइनेछ ।
यसले पलाँताका ८० प्रतिशत घरधुरीलाई यातायात सेवा उपलब्ध हुनेछ । पलाँताले सुरुवातमा चारवटा गाडी खरीद गरी २ वटा जुम्लाको ओदीदेखि पलाँताको खीनको जाँफ्यासम्म र २ वटा गाडी पलाँता गाउँपालिका थिर्पुदेखि साविकको धौलागोहसम्म संचालनमा आएका छन्।