रोल्पा लगानी सम्मेलन : ११ बुँदे घोषणा पत्र जारी

रोल्पा लगानी सम्मेलन : ११ बुँदे घोषणा पत्र जारी

रोल्पा : ११ बुँदे घोषणा पत्र जारी गर्दै रोल्पाको सदरमुकाम लिबाङमा लगानी सम्मेलन सम्पन्न भएको छ। रोल्पा नगरपालिकाको आयोजनामा बुधबारबाट भएको लगानी सम्मेलनले रोल्पाको समृद्धिको आधार जलविद्युत, कृषि, पर्यटन, जडिबुटी र खानी भएको निस्कर्ष निकालेको छ। निजी क्षेत्रको लगानीलाई अधिकतम् आकर्षित गर्न लगानीको वातावरण निर्माण गर्न र सुरक्षाको प्रत्याभूति दिने घोषणा पत्रमा उल्लेख गरिएको छ।

सम्मेलनमा रोल्पा नगरपालिकाको अगुवाईमा धाङसीखोला जलविद्युत निर्माण गर्ने र हरियाली नमुना कृषि आयोजना सम्पन्न गर्न सम्झौता गरिएको छ। सम्मेलनले जिल्लामा लगानी गर्ने माहोल बनाउन सफल भएको रोल्पा नगरपालिका मेयर पुरण केसीले बताए। एक मेघावाट बढिको धाङसीखोला जलविद्युत उत्पादनको अगुवाई नगरपालिकाले गर्ने गरि यूनिभर्सल कन्सल्टेन्सी सर्भिस प्रालि, रोल्पा नगरपालिका र रोल्पा उद्योग वाणिज्य संघबीच त्रिपक्षिय सम्झौता गरिएको छ।

२ वर्षे अवधिमा निर्माण सम्पन्न गरिने योजनाको मोडल छिट्टै तयार गरेर निर्माण कार्य अघि बढाइने उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले बताए। धाङसीखोला जलविद्युत निर्माणमा बैंकिङ सहकार्यका लागि नगरपालिका र एनएमबि बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, संघ र प्रदेश सांसदसहितको जिल्लाका जनप्रतिनिधि र लगानीकर्ताको उपस्थितिमा सम्पन्न लगानी सम्मेलनमा आठ वटा सेसन संचालन गरिएका थिए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले म्याग्दीको बेनीमा संचालनमा रहेको हरियाली नमूना कृषि आयोजनाबारे प्रस्तुति गरेका थिए। हरियाली आयोजनाकै मोडलमा रोल्पामा पनि आयोजना संचालनका लागि नगरपालिका, हरियाली आयोजना र उद्योग वाणिज्य संघबीचमा सम्झौता भएको छ।
    
नेपाल बैंकले बिना धितो ऋण प्रवाह गर्ने गरी रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच सम्झौता गरेको छ। जिल्ला समन्वय समितिको समन्वय र रोल्पा उद्योग वाणिज्य संघको सहआयोजनामा सम्पन्न लगानी सम्मेलनमा सुन खानीका अन्वेषण र उत्खननका लागि इजाजत लिएका लगानीकर्ता ल्यारकाल लामासमेत सहभागी थिए। पूर्व सांसदसमेत रहेका उनले रोल्पामा उच्चकोटीको सुन खानी रहेको बताए। उनले छिट्टै यसको अन्वेषण गरी उत्खननमा जोड दिने आश्वासन दिए।

रोल्पा सिमेन्ट प्रालिका अध्यक्ष अरुण कर्णले दैनिक आठ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा अव ४० हजार बोरा उत्पादन गर्ने तयारीमा रहेको जानकारी दिए।
    
कार्यक्रममा उर्जामन्त्री पुनले रोल्पामा लगानी गर्न निजी क्षेत्रलाई विशेष आग्रह गरे। उद्घाटन सत्रका प्रमुख अतिथिसमेत रहेका उर्जामन्त्री पुनले भने, ‘लगानी सम्मेलनले जिल्लामा लगानी गर्ने थुप्रै आधार प्रस्तुत गरेको छ। निजी क्षेत्रलाई लगानीका लागि तीन तहकै सरकारबाट वातावरण बनाउन र सुरक्षा दिन तयार छौं। ढुक्कले लगानी गर्नुस्।’ विभिन्न सेसनमा उर्जामन्त्रीले निजी लगानीकर्तासँग जिज्ञासा र सुझाब पनि राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.