ठडिए भूकम्पले ढलेका विद्यालय
सिन्धुपाल्चोक : भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय भवन पुनर्निर्माण सकिएको छ। झन्डै शतप्रतिशत विद्यालयमा क्षति पुगेको यस जिल्लामा दाता र सरकारको सहयोगमा पाँच वर्षको अवधिमा ८० प्रतिशत भवन निर्माण सम्पन्न भएर अध्यापन सुरु गरिएको छ।
भूकम्प गएको डेढ वर्ष पछिबाट सुरु भएको पुनर्निर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जनाएको छ। इकाइको तथ्यांकअनुसार भूकम्पले चार सय ९६ विद्यालयका चार हजार एक सय भन्दा बढी कक्षा कोठामा क्षति पुगेको थियो। पुनर्निर्माण सुरु भए यता तीन हजार ६ सय ६५ कक्षा कोठा निर्माण भइसकेको जिल्ला आयोजना प्रमुख यमबहादुर खड्काले बताए।
तीन सय ६० विद्यालय भवन पूर्ण रूपमा सम्पन्न भएर विद्यार्थी अस्थायी शिक्षण केन्द्रबाट सुविधा सम्पन्न भवनमा अध्ययन गर्न थालेका छन्। ७सय १२ कक्षा कोठा निर्माणधीन अवस्थामा रहेको इकाइका इन्जिनियर शेरबहादुर पुजाराले जानकारी दिए।
‘यही रफ्तारमा काम भयो भने आगामी असार मसान्तसम्म सबै कक्षा कोठा बनिसक्नेछन्,’ पुजाराले भने, ‘आगामी आर्थिक वर्षदेखि विद्यार्थीले अस्थायी शिक्षण केन्द्रमा पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाउने छन्। पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, शिक्षाको अगुवाइमा एसियाली विकास बैंक, कारितास, चिनियाँ तथा भारतीय राजदूतावासलगायत १४ दातृ निकाय सक्रिय छन्।
सबैभन्दा बढी एडीबीले ३८ विद्यालय भवन निर्माण गरेको छ भने कारितासले ३६ विद्यालयका दुई सय ७२ कक्षा कोठा निर्माण सम्पन्न गरिसकेको छ। हेल्प नेपालले १० तथा प्लान र सिप्रदीयन सहायता संस्थाले ६÷६ वटा विद्यालय निर्माण सम्पन्न गरेका छन्।
भूकम्पअघि जस्ताका टहरामा पढाइ हुने गरेकोमा पछिल्लो समय बनेका विद्यालय भवन भूकम्प प्रतिरोधी मात्र नभएर भव्य र आकर्षक रहेको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी बताउँछन्। ‘सबै विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन्’, सुवेदीले भने, ‘पूर्वाधारमा कुनै कमी छैन।’ चिनियाँ राजदूतावासको सहयोगमा भवन बनेको रत्नराज्य मावि चनौटेका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाअध्यक्ष सनत अधिकारीले बनेको भव्य भवनको साख जोगाउनु चुनौती रहेको बताए।
‘भवन पाँच तारे होटल जस्तो भव्य र सुविधा बनेको छन्’, अधिकारीले भने, ‘अब भवन अनुसारको शैक्षिक उपलब्धि प्राप्त गर्नु विद्यालयको चुनौती हो।’ भूकम्पपछि बनेका विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता पूर्वाधार र फर्निचरसमेत दाताले नै उपलब्ध गराएको इकाइ प्रमुख सुवेदीले बताए। अधिकांश विद्यालयमा खेल मैदान पनि निर्माण गरिएका छन्।