प्रहरीमा घट्दो आकर्षण
काठमाडौं : पछिल्लो समय प्रहरी भर्नामा आकर्षण घट्दै गएको छ। प्रहरी संगठनमा नयाँ भर्नाका लागि मागेको संख्याभन्दा बढी आवेदन परे पनि पहिलेको तुलनामा आवेदनको संख्या घट्दै गएको छ। ०७३ देखि ०७६ सम्म इन्स्पेक्टरमा चारपल्ट भर्ना खुल्यो तर अपेक्षाअनुसार आवेदन परेनन्। ०७३ जेठ ५ मा ८६ इन्स्पेक्टर पदका लागि भर्ना खुल्यो। २८ सय ७४ जनाले आवेदन दिए। ०७४ साउन ३१ मा ९१ इन्स्पेक्टरका लागि भर्ना खुल्दा जम्मा २५ सय ३९ जनाले आवेदन दिए।
०७५ असोज १५ गते १ सय ८ इन्स्पेक्टर पदमा भर्ना खुले पनि २६ सय १ जनाको मात्र आवेदन पर्यो। यो वर्ष माघ ५ गते १ सय ४९ इन्स्पेक्टरका लागि भर्ना खुलेको थियो। आवेदन भने २७ सय ६७ जनाले मात्र दिए। ०७३ को तुलनामा यो आवेदन थोरै हो।
इन्स्पेक्टरमा मात्र नभएर असईलगायतमा पनि आकर्षण घटेको छ। ०७३ साउन ३० मा ५ सय ५१ असईका लागि भर्ना खुल्दा १९ सय ६५ जनाले आवेदन दिए। लगत्तै ०७४ साउन ३१ मा ३ सय १४ असईका लागि खोलेको भर्नामा १६ सय ६३ ले मात्र आवेदन दिए। ०७५ असोज १५ मा ५ सय २४ असईका लागि मागेको आवेदनमा १४ हजार ३ सय २ ले आवेदन दिए। ०७६ माघ ५ मा ५ सय ८४ जना असई माग्दा १२ हजार २ सय ४८ को आवेदन परेको थियो।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले प्रहरीमा सेवासुविधा अभाव र वृत्ति विकार ओरालो लाग्दै गएकाले आकर्षण पनि घट्दै गएको बताए। उनले भने, ‘अझै पनि प्रहरीले २४ घण्टा काम गर्नुपर्छ। बरु विदेश गएर काम गरे मासिक राम्रो आम्दानी हुन्छ भन्ने सोचले पनि सर्वसाधारणको आकर्षण कम देखिन्छ।’ पछिल्ला दिन प्रहरीमा राजनीतिक हस्तक्षेप बढ्नु र सर्वसाधारणले हेर्ने दृष्टिकोण अझै सकारात्मक नहुँदा पनि आकर्षण घटेको बुझाइ उनको छ। उनले प्रविधि उपयोग गरी प्रहरीको काम गर्ने अवधि घटाएर र सेवासुविधा बढाए आकर्षण फेरि बढ्ने बताए।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले प्रहरी सेवामा आकर्षण घटेको स्विकारे। ‘प्रहरीमा कामको लोड धेरै छ। त्यति नै ऊर्जा अन्यत्र खटिँदा धेरै सेवासुविधा प्राप्त हुने बुझाइ सर्वसाधारणमा छ,’ उनले भने, ‘बढुवा हुँदा आफूसँगै जागिर खाएको साथी उपल्लो तहमा पुग्दा हुने ह्युमिलिएसनले पनि साथीहरूले जागिर नखान सल्लाह दिने भएकाले आकर्षण घटेको देखिन्छ।’ अन्य सेवाको तुलनामा प्रहरी सेवामा जोखिम पनि बढी रहेकाले समेत सर्वसाधारणको रुची प्रहरी सेवामा घटेको बुझाइ प्रहरी मुख्यालयको छ।
पद- भर्ना मिति- माग संख्या- आवेदन संख्या
प्रहरी निरिक्षक- २०७३/०२/०५- ८६- २८५४
प्रहरी निरिक्षक- २०७४/०४/३१- ९१- २५३९
प्रहरी निरिक्षक- २०७५/०६/१५- १०८- २६८१
प्रहरी निरिक्षक- २०७६/१०/०५- १४९- २७६७
असई- २०७३/०४/३०- ५५१- १८९६५
असई- २०७४/०४/३१- ३१४- १६६६३
असई- २०७५/०६/१५- ५२४- १४३८२
असई- २०७६/१०/०५- ५८४- १२२४८