सुदूरपश्‍चिम खाना महोत्सव : दैनिक १ हजार लिटर 'फाडो' पाक्दै

सुदूरपश्‍चिम खाना महोत्सव : दैनिक १ हजार लिटर 'फाडो' पाक्दै

धनगढी : धनगढीको खुल्लामञ्‍चमा (पुरोना एयरपोर्ट) सञ्‍चालन भइरहेको खाना महोत्सव धेरैको आकर्षण बनेको छ। होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकार पाक्ने गरेका छन् । आफ्नै मौलिक खानाका परिकारको स्वाद चाख्न नपाएकाहरु महोत्सवमा रमाएका छन्।

साहित्य महोत्सवमा सहभागी हुन धनगढी आएका पाहुनाहरुले पनि खाना महोत्सव विशेष चासोका रुपमा लिएका छन्।
विश्व नेपाली साहित्य महोत्सवमा आएका साहित्यकार र अन्य व्यक्तिले स्थानीय परिकार फाडो (मासबाट बनाइने एक प्रकारको दाल) विशेष स्वादका रुपमा लिइरहेका छन् । 

महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण जिल्लाका परम्परागत खानाका परिकार पाकिरहेका छन्। दैनिकरुपमा एक हजार लिटर फाडो पाकिरहेको छ । फाडो सुदूरपश्चिमको मौलिक खानाको परिकार हो ।

ग्लोबल नेप्लिज सेफ फेडरेसनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारीलगायतको टोलीले फाडोलाई व्यवसायिकरण गर्नका लागि  काम गरिरहेका छन् ।

'फाडोलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर लागिरहेका छौं । त्यसकै लागि फाडो खाएर त्यसमा फिडब्याक आओस् भनेर दैनिक रुपमा ग्राहकलाई खुवाइरहेका छौं,' अध्यक्ष भण्डारीले भने,'ढिडो महँगो मुल्यमा बिक्री हुन्छ भने फाडो किन हुदैंन।'

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टल राखिएका छन् । रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरुका लागि महोत्सवमा व्यवस्था रहेको आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए । 

प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरेलगायतका परिकारको स्वाद महोत्सव पाइने गरेको छ ।

महोत्सवमा २५ प्रदर्शनी स्टलमा स्थानीय परिकार राखिएका छन् । खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारको विविध सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगिता पनि संचालनमा छन्।

महोत्सवमा परम्परागत खानपान, भेषभूषा, संस्कार र संस्कृतिसहित सबै स्टल निःशुल्क प्रदान गरिएको छ। प्रदूषणलाई न्यूनीकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरिएको  छ।सम्पूर्ण खानाका परिकारलाई दुना, टपरी र बोहतामा दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.